बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिंगै मुलुक केपी ओलीको 'क्वारेन्टिन'मा कहिलेसम्म ?

आइतबार, २१ असार २०७७, ११ : ३८
आइतबार, २१ असार २०७७

आफैं सबैभन्दा ठूलो दलको अध्यक्ष, आफैं प्रधानमन्त्री, आफ्नै निर्देशनमा चल्ने राष्ट्रपति र मन्त्रीहरू लिएर साढे दुई वर्षदेखि सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओली मुलुकको अधोगति र नेकपाको आन्तरिक समस्याका जड हुन्। तर, ओलीले आफ्नो कमजोरी लुकाउन दोष जति सबै आफ्नै दलका अन्य नेता र भारतमाथि थोपरिरहेका छन्।

गत वैशाखमा दल फुटाउन पाउने अध्यायदेश ल्याएको विवादमा पार्टीले ओलीलाई कार्वाही गर्न खोजेको काण्ड सेलाइसकेको थियो। तर, हालै मदन भण्डारी जयन्तीका दिन भारतले आफूलाई हटाउनलागेको भनेर बिना आधार बोलेर ओली आफैंले सेलाइसकेको विवादलाई पुनर्जीवित गराएका हुन्। 

प्रधानमन्त्री जस्तो पदमा बसेको व्यक्तिले के भन्न हुन्छ, के भन्न हुन्न, के तथ्य हो, के अफवाह हो भन्ने भेउ नपाउनु नै ओलीका अधोगतिको कारणहरूमध्ये एक हो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको भनाइलाई लिएर नेकपा स्थायी समितिको हालैको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ओलीलाई राजीनामा गर्नुस् भनेर भारतले होइन, मैले भनेको हुँ भनेका थिए। प्रचण्डको सो भनाइलाई बंग्याएर अहिले ओली र उनका समर्थकहरू भारतको इशारामा प्रचण्डले ओलीलाई हटाउन खोज्दै छन् भनेर प्रचार गरिरहेका छन्। यति तल गिरेर बंग्याइटिंग्याइ गरेको कूप्रचारले उनी कुन स्तरका व्यक्ति हुन् भन्ने छर्लंग भएको छ।

ओली आफूलाई ठूलो राष्ट्रवादी, गणतन्त्रवादी र लोकतन्त्रवादी अर्थात् नेपालको राजनीतिमा मै सबैथोक हुँ भन्ठान्छन् तर उनी यीमध्ये केही पनि रहेन छन् भन्ने आफ्नै व्यवहारबाट साबित गरेका छन्। जगजाहेर छ, २०६२/६३ को जनआन्दोलन ताका लोकतान्त्रिक गणतन्त्रका लागि लडिरहेका नेता कार्यकर्ताहरुलाई ओलीले गाडा चढेर अमेरिका जान खोज्ने भनेर खिस्सी गरेको ।

नेकपाको हालैको स्थायी समितिको बैठकमा पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले नेपालको कालापानीसहितको नयाँ नक्सा प्रकाशित गर्ने पक्षमा ओली थिएनन्, तर पार्टीको दबाबका कारण नक्सा निकाल्न बाध्य भएका हुन् भनेर ओलीकै अगाडि भनिदिएका थिए। भारतसँग गरिएको राष्ट्रघाती महाकाली सन्धीको पक्षमा चर्को वकालत गर्ने पनि ओली नै थिए। 

ओली वास्तवमा लोकतन्त्रवादी पनि होइनन्, बरू लोकतन्त्रलाई आक्रमण गर्ने महेन्द्रवादी हुन् भन्ने साबित भएको छ, चलिरहेको संसदलाई अचानक बन्द गरेको घटनाबाट। यी दृष्टान्तहरुले प्रमाणित गर्छ, ओली न गणतन्त्रवादी, न राष्ट्रवादी, न त लोकतन्त्रवादी नै हुन्। 

प्रधानमन्त्री ओलीले विवादभन्दा माथी रहनु पर्ने गरिमामय राष्ट्रपति संस्था पनि विवादित तुल्याएका छन् । संसदको गरिमा र महत्व हुने कार्यमा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मुछेका छन् । गत वैशाख ८ गते केपी ओलि सरकारले संसदलाई छलेर ४० प्रतिशत सांसदले दल फुटाउन पाउने अध्यादेश ल्याएको थियो। त्यसलाई द्रूत गतिमा स्वीकृत गरेर राष्ट्रपति भण्डारीले आफूलाई राष्ट्रका लागि राष्ट्रपति नभएर ओलीको कारिन्दा साबित गरेकी थिइन्। 

सो घटना सेलाउन नपाउँदै चलिरहेको संसदलाई ओली सरकारको सिफारीसमा उही द्रूत गतिमा बन्द गरेर भण्डारीले आफूलाई संसदीय व्यवस्थाको अवरोधक पनि साबित गरेकी छन्। लोकतन्त्रको राम्रो अभ्यास भएको मुलुकमा भएको भए दल फुटाउने विधायक पारित गरेको काण्डबाटै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी दुबैलाई महाअभियोग लगाएर हटाइने थियो। गणतन्त्र, लोकतन्त्र र संसदीय व्यवस्थाको गरिमा जोगाउन ओली र भण्डारी दुबै पदमुक्त हुनु आवश्यक छ।

अहिले ओली लोकतन्त्र र गणतन्त्र दुबैलाई धरापमा पार्ने षड्यन्त्रमा लागेका छन्। नेकपामा आन्तरिक विवाद छ, त्यसमा शंका छैन। नेकपाभित्र आन्तरिक लोकतन्त्रक छैन, त्यो पनि प्रष्ट छ। नेकपा एमाले र माओवादीवीच एकता सफल भएको छैन भन्ने पनि प्रष्ट छ। तर, ओलीको हातमा सम्पूर्ण शक्ति र अवसर हुँदाहुँदै उनले आफ्नो दल र सरकार दुबै किन चलाउन सकिरहेका छैनन् ? राजनीतिको आधारभूत सिद्धान्त भनेको जसको हातमा सत्ता हुन्छ उसले जिम्मेवारी वहन गर्न सक्नुपर्छ, नसके परिणाम भोग्नुपर्छ।

भारतले नेपालको आन्तरिक राजनीतिमा सुक्ष्म नियन्त्रण गर्छ भन्ने राजनीतिको कखरा मात्र बुझेका नेपालीलाई पनि स्पष्ट थाहा छ। भारत ओलीलाई सरकारबाट हटाउन चाहन्छ र नेकपालाई पनि फुटाउन चाहन्छ भन्ने पनि स्पष्ट छ। ठीक त्यसैबेला ओली स्वयं नेकपालाई फुटाउन कस्सिएर लागेका छन्। यहाँनेर ओली र भारतको स्वार्थ मिलेको छ। त्यसबाट ओलीले मुलुक र नेकपाको लागि होइन, भारतको लागि पार्टी फुटाउन लागिपरेका छन् भन्ने प्रष्ट हुँदैन र ? नत्र ओलीकै निर्देशनमा नेकपा एमाले किन दर्ता गरियो ? नेकपा फुटाउने धम्की किन अध्यक्ष ओली स्वयमले दिइरहेका छन् ?

ओलीको प्रधानमन्त्रीत्वकालमा पञ्‍चायतकालको मण्डले प्रवत्ति पुनर्जन्म भएको छ। उनका नजिकका नेता कार्यकर्तहरू पञ्‍चायतकालका मण्डले जस्तै व्यवहार गरिरहेका छन्। मुलुक कोरोना महामारीग्रस्त छ, जनता बेरोजगारी र गरिबीले थला परिरहेका छन्।
 यस्तो बेलामा नेकपाकै नेताहरू नेकपाको सरकारले भ्रष्टाचारमा पञ्‍चायत र कांग्रसी काललाई उछिनिसक्यो भनिरहेका छन्। तर कमी कमजोरीलाई स्वीकार गरेर सुध्रिनुको सट्टा ओलीले स्वयम् त्यस्तालाई सुनपानी छर्केर चोख्याउन उद्दत हुन्छन्।

विपक्षीहरूले सरकारविरुद्ध प्रदर्शन गर्नु लोकतन्त्रको विशेषता हो। तर, यहाँ प्रधानमन्त्रीको बचाउ गर्न प्रायोजित झुण्ड सडकमा ओर्लिएका छन् । आफै अध्यक्ष भएर पार्टीका बैठकहरु छल्ने तर सरकारलाई बचाउनुपर्‍यो भनेर पंचायती शैलीको झल्को दिने गरी कार्यकर्तालाई सडकमा उतार्नु  के उचित र शोभनीय हुन्छ ? बेतुके उखानतुक्‍का र आधारहीन बोलीका पर्याय ओलीले प्रधानमन्त्री पदमात्र होइनन्, नेकपासमेत सम्हाल्न सक्दैनन् भन्ने प्रमाणित भइसकेको छ।

आफ्नो अक्षमताका बीच पनि पार्टीको साथ र  विज्ञहरूको सहयोग लिएर सरकार चलाउन सक्ने मौका नभएको होइन ओलीलाई। तर, उनी हेवी मेटल गीतले सलह भगाउने, संसदलाई रत्यौली खेल्ने ठाउँको संज्ञा दिने, नेपाललाई कोरोनामुक्त घोषणा गरेर भ्रमण वर्ष चालु राख्‍न चाहने जस्ता 'अरिंगाल'हरूलाई मन्त्री बनाएर जग हँसाएका छन्।

 नेपालको नयाँ नक्शा प्रकाशित गरिसकेपछि ओलीले उनकै स्तरका विज्ञहरूको सल्लाहमा नेपालको भूभाग पत्ता लगाउने समिति बनाएका छन्। यो उल्टो प्रक्रियाबाट ओलीले नेपालको कदम फितलो साबित गर्दै भारतलाई सहयोग पु-याई रहेका छन्। नेपालको दाबी कमजोर पार्ने यो समिति आफ्ना पिछलग्गुहरुलाई तलब भत्ता खुवाउने मेलो मात्र हो ।  

नेपाल अहिले ठूलो संकटको घडीबाट गुज्रिरहेको छ। सत्तासिन नेकपा पनि संकटमा फसेको छ। यस्तो बेलामा पहिला माओवादीसँगै जनयुद्ध लडेका विप्लवलाई आममाफी दिई राष्ट्रिय राजनीतिमा ल्याएर राष्ट्रिय एकतालाई अझ मजबूत पार्नु अत्यावश्यक छ। तर, सो गर्नुको सट्टा ओली आफ्नै पार्टी फुटाउन लागिपरेका छन् ! ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजिनामा नदिने स्पष्ट पारिसकेका छन्। उनकै शब्दमा हिसाब किताब मिलेन भने पार्टी फुटाई दिने, नभए अध्यादेश ल्याएर संसद भंग गरेर मध्यावधी चुनाव गराउने। ओलीले बुझेको यो कस्तो लोकतन्त्र हो ? उनी कस्ता प्रधानमन्त्री हुन् ?  यस्तो नेताबाट मुलुक र पार्टी कसरी चल्छ ?

ओली नेकपा एमालेको पालामै आफूलाई गूटमा रमाउने नेताका रुपमा स्थापित गरेका थिए। त्यस्तो नेता नेकपाको नेतृत्वमा छउञ्‍जेल पार्टी भावनात्मकरुपले एक हुनु सम्भव छैन। न त उनको नेतृत्वको सरकारबाट मुलुकको सम्बृद्धि सम्भव छ। ओलीले आफूलाई मुलुक र पार्टी दुबैका लागि ऐंजेरू साबित गरेका छन्। ओलीले आफ्नो अक्षमता र षडयन्त्रले देश नै क्वारेन्टिनमा पुर्‍याएका छन्। त्यसैले राष्ट्रलाई बन्धकमुक्त तुल्याउन नेकपाका नेताहरुले हिम्मत देखाउने बेला आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उही कुमार लामा
उही कुमार लामा
लेखकबाट थप