केन्द्रीय संस्करण

धनी देशहरुको दौड : अरु देशभन्दा अमेरिका किन पछि परिरहेको छ ?

person explore access_timeअसार २१, २०७७ chat_bubble_outline0

संयुक्त राज्य अमेरिका फरक छ । पछिल्ला तीन दशकमा विश्वका सबैजसो उच्च आय भएका देशहरुमा जनताहरु थप धनी बन्दै गएका छन् । उनीहरुले लामो हुँदै गएका औसत आयुको आनन्द समेत  लिइरहेका छन् ।

तर, संयुक्त राज्य अमेरिकामा त्यस्तो छैन । औसत आम्दानी बढेको छ । तर, ती आम्दानीको अधिकांश हिस्सा र लाभहरु सम्पन्नकहाँ मात्रै पुगेको छ । र, सन् १९९० पछि औसत आयु ३ वर्षले मात्रै बढेको छ । विश्वका अरु कुनैपनि विकसित देशले जीवनचक्रमा त्यति ठूलो सुस्तताको सामना गर्नुपरेको छैन ।

किन यस्तो भएको छ ? यसका विविध कारणहरु छन् । तर, एउटा प्रमुख कारण चाहिँ बहुसंख्यक जनसंख्यासँग राजनीतिक शक्तिको अभाव हुनु हो ।

सरकारको नीति तथा अन्य आर्थिक शक्तिहरु समेत कर्पोरेट क्षेत्र र धनी नागरिकलाई अझै धनी र शक्तिशाली बनाउन एकीकृत भएका छन् । ती नीति र शक्तिहरुले कामदार र उनीहरुका परिवारलाई कमजोर बनाउँदै गएका छन् । त्यस्ता व्यक्ति र परिवारको सामाजिक स्रोतमाथिको पहुँच पहिले उनीहरुले पाउँदै आएका भन्दा पनि सानो र सीमित छ । कतिसम्म भने कहिलेकाहीँ उनीहरुको आफ्नै जीवनमाथिको निइन्त्रण पनि पहिलेभन्दा कम हुँदै आएको छ । प्रदुषण र जटील स्वास्थ्य समस्याका कारणले उनीहरुको जीवन छोटो हुँदै गएको छ ।

यहाँ हामी तपाइँहरुलाई फरकफरक देशको शक्ति, जीवनस्तर र अन्य सूचकहरुको श्रृंखला देखाउँदैछौं । र, तिनले समग्रमा नयाँ स्वरुपका अमेरिकी अपवादवादको तस्विरलाई समेत चित्रित गर्नेछन् ।

हामी युनियनको सदस्यताबाट सुरु गरौं ।

शैंक्षिक अनुसन्धानहरुले श्रमिक संगठनमा आवद्ध नरहेका श्रमिकले भन्दा त्यस्तो संगठनमा रहेका श्रमिकहरुले बढी आम्दानी प्राप्त गर्ने गरेको देखाएका छन् । र, अमेरिकामा पछिल्लो समय त्यस्ता युनियनमा आवद्ध हुनेको संख्या घट्दै गएको छ । सन् १९५० मा कुल श्रमिकको ३५ प्रतिशत जनसंख्या युनियनमा आवद्ध रहेकोमा अहिले त्यो संख्या घटेर १० प्रतिशतमा सीमित भएको छ । अझै निजी क्षेत्रका कामदारमा युनियनको आवद्धता झन् ६.२ प्रतिशत मात्रै छ । 

युनियनमा आवद्ध हुनेको संख्या त्यसरी घट्दै जानुको कारण ट्रेड युनियनप्रति रोजगारदाताहरु बढी आक्रामक हुनु हो । उनीहरुको यो कदमलाई राज्यले पनि साथ दिइरहेको छ । 

युनियनको आवद्धता घटेकै कारण अहिले अमेरिकी कम्पनीबाट कामदारलाई जाने तलबको हिस्सा घटेको छ । यसले गर्दा कर्पोरेट आम्दानीसहित कुल राष्ट्रिय आम्दानीमा कर्पोरेट क्षेत्रको हिस्सा बढ्दै गएको हो । यो अवस्था युरोपियन मुलुकहरुमा भन्दा संयुक्त राज्य अमेरिकामा निकै बढी छ ।

उच्च दरको कर्पोरेट नाफाले कार्यकारीहरुको तलबलाई पनि निश्चित सीमामा राख्न सहयोग गरेको छ । यद्यपि, धेरैजसो देशमा साधारण कामदारको भन्दा त्यस्ता कार्यकारी प्रमुखहरुको तलब धेरैले बढेको छ । यो प्रवृत्ति अमेरिकामा झनै धेरै छ ।

उच्च व्यवस्थापनभन्दा तल्लो तहका कर्मचारीको तलब कम बढ्नुमा पनि सरकारी नीतिले महत्वपूर्ण भूमिका खेल्छ । अमेरिकामा अन्य मुलुकहरुको तुलनामा कम न्यूनतम ज्यालादर तोकिएको छ । केही राज्यहरुले भने संघीय मापदण्डभन्दा माथि गएर पनि न्यूनतम ज्यालादर तोक्दै आएका छन् । तर, काला जातिको जनसंख्याको बाहुल्यता रहेको दक्षिणी राज्यमा त्यस्तो अवस्था छैन ।

न्युनतम ज्यालाको अतिरिक्त अमेरिकाले बढ्दो ‘कर्पोरेट कन्सन्ट्रेसन’ लाई समेत सहयोग गर्दै आएको छ । यस्ता केन्द्रीकरण विरुद्धको कदमलाई राज्यले वेवास्ता गर्दै आएको छ । ठूला कर्पोरेट हाउसहरुले अहिलेसम्म पनि कामदारको ज्याला वृद्धि हुनबाट रोकिरहेका छन् । किनभने ‘कर्पोरेट कन्सन्ट्रेसन’मा कारण बजारमा प्रतिस्पर्धाको वातावरण कम छ । यसले गर्दा कामदारहरुले राम्रो अवसर र विकल्प खोज्न पाइरहेका छैनन् । उता, कम प्रतिस्पर्धाकै कारण कर्पोरेट हाउसहरुले आफ्नो उत्पादनको मूल्य समेत उच्च लिइरहेका छन् । यसले गर्दा कामदारहरुले उच्च खर्च गर्नु परिरहेको छ  । उदाहरणका लागि, अमेरिकनहरुले मोबाइलमा गर्ने खर्च अन्य विकसित देशहरुले गर्ने खर्चभन्दा निकै बढी छ ।

अमेरिकाको स्वास्थ्य क्षेत्र मूलधारबाट बाहिर आम जनताका पहुँचभन्दा टाढाको कुरा बनेको छ । अमेरिकामा औषधि, चिकित्सा र चिकित्सकहरुको शुल्क समेत अन्य विकसित देशको तुलनामा ज्यादै महँगो छ । निजी क्षेत्र, राज्य सरकार र संघीय सरकारबीचको घनचक्करमा पिसिएको जटील स्वास्थ्य प्रणालीका कारण अमेरिका कर्मचारीतन्त्रीय नालायकीपनको शिकार समेत बनेको छ ।

जम्मामा भन्दा, अन्य विकसित देशको तुलनामा अमेरिकी जनताले स्वास्थ्य रक्षाका लागि सामान्यतया दोब्बर रकम खर्च गर्छन् । स्वास्थयको हिसाबले अमेरिकीहरु अरु देशका स्वस्थ नागरिकका तुलनामा निक्कै पछि छन् ।

कारावासको अवस्थाले पनि यहाँनिर महत्वपूर्ण भूमिका खेल्छ । सामान्यतः धनी देशहरुले अमेरिकाले जस्तो गरी कारागारमा खाँदाखाद गरेर बन्दी राख्दैनन् ।  अमेरिकामा कैदीहरुको संख्या धेरै छ । त्यसमा पनि काला जाति र ल्याटिन अमेरिकीहरुको संख्या बढी छ ।

जेलमा विताउने समयले जीवनमा लामो प्रतिछायाँ निम्त्याउँछ । यसले दीर्घकालीन स्वास्थ्य समस्याका साथै राम्रो ज्याला पाउने काम हासिल गर्ने क्षमतालाई समेत स्थायी रुपमा ध्वस्त बनाइदिन्छ ।

यही कारण नै, महामारीले आक्रान्त तुल्याउनुभन्दा पहिले नै, कालाजातीका मध्य उमेरका करिब ३० प्रतिशत व्यक्तिले पूर्ववत् काम नसकेको तथ्यांकले देखाएका छन् । यो महामारीभन्दा अघिको आँकडा हो । उनीहरुमध्ये धेरैजसो बेरोजगारको सूचीमै समावेश नै भएका हुँदैनन् । किनकी उनीहरु जेलमा हुन्छन् वा काम खोज्न बन्द गरेका हुन्छन् ।

र, सरकारी नीतिहरुले कसरी अमेरिकामा विशिष्ट असमानतालाई बढावा दिइरहेको छ भन्ने कुराको एउटा बलियो उदाहरण हो, त्यहाँको कर नीति ।

फ्रान्स र अन्य देशहरुमा उच्च आय भएका परिवारले अहिले पनि औसत रुपमा आधा भन्दा बढी कर तिर्छन् । अमेरिकामा सम्पन्न व्यक्तिहरुमा लाग्दै आएको करको दर कम छ । र, यो पछिल्ला दशकहरुका झनै घट्दै गएको छ ।

यी प्रवृत्तिहरुले असमानता बढाउन संयुक्त रुपमा भूमिका खेल्दै आएका छन् । युरोप र अन्य विकसित देशको तुलनामा अमेरिकी मध्यम वर्गीय जनताले राष्ट्रिय आम्दानीमा कम हिस्सा मात्रै प्राप्त गर्न पाएका छन् ।

केही तथ्यांकहरुले अरु विकसित देशमा प्राप्त गर्ने तलब प्राप्त गर्न अमेरिकामा थप समय काम गर्नुपर्ने अवस्था रहेको समेत देखाएका छन् । यसले समेत अमेरिकी असमानताका अपवादहरुमा थप जोड दिन्छ ।

असमानताको बारेमा सोच्ने सबैभन्दा सजिलो तरिका आर्थिक अवस्थालाई मानिन्छ । त्यो सही पनि हो । तर, राजनीतिक शक्ति, जीवनको गुणस्तर र फरकफरक वर्गका मान्छेले बाँच्ने आयु पनि समानता मापनको आयाम हो ।

द न्यूयोर्क टाइम्समा प्रकाशित डेविड लियोनहार्ड/यारेना सर्केजका लेखको शंकर अर्यालले गरेको भावानुवाद

Title Photo:https://www.occupydc.org

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.