के अगस्त १५ सम्म तयार होला कोरोनाभाइरसविरुद्ध भारतमा बनिरहेको खोप ?
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले भारतमा बनिरहेको कोरोनाभाइरसविरुद्धको खोप अगस्त १५ सम्म तयार हुने आशा व्यक्त गरेको छ । परिषद्ले यस खोपको परीक्षणसँग जोडिएका संस्थानलाई चिठ्ठी लेखेर सो कुराको जानकारी दिएको हो । यो खोपलाई आईसीएमआर र हैदराबादस्थित भारत बायोटेक कम्पनीले मिलेर बनाउँदैछ ।
आईसीएमआरका अनुसार एक पटक क्लिनिकल परीक्षण पूरा भए अगस्त १५ अर्थात् भारतको स्वतन्त्रता दिवसका दिन यो खोप सर्वसाधारणका लागि लञ्च गर्न सकिनेछ । क्लिनिकल ट्रायलका लागि भारतका १२ संस्थानहरुलाई चुनिएको छ । आईसीएमआरका निर्देशक डा. बलराम भार्गवले गत जुलाई २ मा यी १२ संस्थानहरुलाई पत्र लेखेर उनीहरुलाई ७ जुलाईसम्म क्लिनिकल ट्रायलका लागि इजाजत लिन भनेका थिए ।
पत्रमा डा. भार्गवले लेखेका छन्, ‘कोरोनालाई रोक्नका लागि आईसीएमआरले बनाउँदै गरेको खोपको फास्ट ट्रयाक परीक्षणका लागि भारत बायोटेक कम्पनीसँग एउटा सम्झौता गरिएको छ । कोरोनाभाइरसबाट एक स्ट्रेनलाई निकालेर यो खोप तयार गरिएको हो ।’
‘क्लिनकल ट्रायलपछि आईसीएमआर १५ अगस्तसम्म सर्वसाधारणलाई यो खोप उपलब्ध गराउन चाहन्छ । भारत बायोटिक पनि युद्ध स्तरमा काम गरिरहेको छ । तर, यो खोपको सफलता ती संस्थानहरुको सहयोगमा निर्भर हुनेछ जो क्लिनिकल परीक्षणका लागि चुनिएका छन् ।’
जहाँ परीक्षण हुनेछ
भारतमा कोरोनाको खोप बनाउनका लागि क्लिनिकल परीक्षणका लागि चुनिएका १२ संस्थान यस प्रकार रहेका छन्ः
–किंग जर्ज अस्पताल, विशाखापटनम
–बीडी शर्मा पीजीआईएमएस, युनिभर्सिटी अफ हेल्थ साइन्सेज, रोहतक
– एम्स, नयाँ दिल्ली
– एम्स, पटना
–जीवन रेखा अस्पता, बेलगांव, कर्नाटक
–गिल्लुर्कर मल्टी स्पेशिएलिटी अस्पताल नागपुर, महाराष्ट्र
–राना अस्पताल, गोरखपुर
–एसआरए मेडिकल कलेज हस्पिटल एन्ड रिसर्च सेन्टर, तमिलनाडु
–निजाम इन्सिटिट्युट अफ मेडिकल साइन्सेस हैदराबाद
–डाक्टर गंगाधर साहू, ओडिशा
–प्रखर हस्पिटल, उत्तर प्रदेश
–डाक्टर सागर रेडकर, गोवा
के भन्छन् विशेषज्ञ ?
महाराष्ट्र सरकारको कोरोना टास्क फोर्सका सदस्य डा. शशांक जोशी भन्छन्, ‘यति कम समयमा खोप बनाउन लगभग असम्भव छ । सामान्य अवस्थामा खोप बनाउन कम्तिमा दुई वर्ष लाग्छ । यदी फास्ट ट्रयाकमा बनाउने प्रयास गरियो भने पनि कम्तिमा १२ देखि १८ महिना लाग्छ । त्यसअघि खोप बनाउन असम्भव छ ।’
उनी भन्छन्, ‘खोप बनाउनका लागि केही नियम पालना गर्नु अनिवार्य हुन्छ । मानिसमा गरिने परीक्षणमा केही महत्त्वपूर्ण कुरालाई हामी नजरअन्दाज गर्न सक्दैनौँ । यसलाई नजरअन्दाज गरेर कुने पनि खोप तयार गर्न सकिदैन । त्यही भएर आईसीएमआरले एक बाहिरी संस्थाबाट अडिट गराउनुपर्छ ।’
जोशी आईसीएमआरको पत्रबाट आश्चर्यचकित छन् । उनी भन्छन्, ‘आईसीएमआरको १५ अगस्तसम्म आम मानिसका लागि कोरोनाको खोप बनाउने फैसला आश्चर्यजनक छ । खोप तयार गर्दा मानिसको सुरक्षा र खोपको क्षमताको बारेमा गहिरो अध्ययन हुन जररुी छ । मलाई आशा छ खोपको घोषणा गर्नअघि आईसीएमआरले आवश्यक सुरक्षा मानकको पूर्ण ख्याल गर्नेछ ।’
स्वास्थ्य विशेषज्ञ तथा इन्टरनेशल एसोसिएशन अफ बायोएटिक्सका पूर्वअध्यक्ष डा. अनन्त भान पनि आईसीएमआरको योजनाप्रति आश्चर्य जनाउँछन् । उनी भन्छन्, ‘खोपको क्लिनिकल परीक्षणका लागि ७ जुलाईसम्म रजिस्टर गर्न सकिन्छ । यदी यसले प्री–क्लिनकल ट्रायल डेभलम्पेन्ट स्टेज पनि पुरा गरेको छैन भने कसरी अगस्त १५ सम्म बजारमा खोप ल्याउन सक्छ ? के एक महिनाभन्दा पनि कम समयमा खोपको परीक्षण गर्न सकिन्छ ?’
हैदराबादस्थित भारत बायोटेक कम्पनीद्वारा बनाइदै गरिएको कोरोना खोपको नाम ‘कोभाक्सिन’ नाम दिइएको छ । कम्पनीले ट्वीटरको माध्यमबाट गत जुन २९ मा मानिसमाथिको परीक्षणबारे जानकारी दिएको थियो । भारत बायोटेक कम्पनीका अनुसार खोप निर्माणमा नेशनल इन्सटीट्युट अफ भायरोलोजी र आईसीएमआरको संयुक्त प्रयासमा यो खोप निर्माण गरिएको हो ।
स्रोतः बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत