शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई एआईजीको लागि तीन डीआईजीको कडा प्रतिस्पर्धा

सरकारले एउटै व्यक्तिको लागि दरबन्दी थप गर्ला ?
शनिबार, २० असार २०७७, १४ : ४६
शनिबार, २० असार २०७७

सरकारले २०७६ माघ २८ गते नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)मा ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गर्यो । ३० वर्षे सेवा अवधिका कारण तत्कालिन आईजीपी सर्वेन्द्र खनालले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा तत्कालिन नायब महानिरीक्षक (डीआईजी) ज्ञवाली नियुक्त भएका हुन् ।

खनालसँगै जनपथतर्फका सबै तीन अतिरिक्त महानिरीक्षक (एआईजी) र १८ डीआईजीले एक साथ अवकाश पाएका थिए ।  ज्येष्ठता र वरिष्ठता दुवैमा ज्ञवाली पहिलो नम्बरमा थिए ।

ज्ञवालीले २४ असारबाट ३० वर्षे सेवा अवधीका कारण आईजीपीबाट अवकाश पाउँदैछन् । ज्ञवालीसँगै उनका ब्याची अतिरिक्त महानिरीक्षक (एआईजी) तारिणी लम्साल र डीआईजी सूर्य उपाध्याय पनि अवकाशमा जान्छन् ।

ज्ञवाली र लम्सालले अवकाश पाएपछि एआईजी रहेका शैलेश थापा क्षत्री र हरि पालमध्ये एकजनाले नेपाल प्रहरीको नेतृत्व गर्छन् । अब हुने आईजीपीको सेवा अवधि २०७९ वैशाख १९ गतेसम्म हुनेछ । थापा र पाल दुवै ०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् ।


उनीहरूसँगै निरज शाही र प्रद्युम्न कार्की ०७५ असोजमा प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका थिए भने वरिष्ठताको आधारमा थापा र पाल गत ०७६ फागुन १५ गते क्रमशः दोस्रो र तेस्रो नम्बरमा एआईजीमा बढुवा भएका हुन् ।

हाल तीन डीआईजीहरु दुई एआईजी पदका आकांक्षी छन् । २०७६ वैशाख १९ गते डीआईजीमा बढुवा भएका विश्वराज पोखरेल पनि एआईजीको दौडमा छन् ।

आईजीपी ज्ञवाली र एआईजी लम्सालले अवकाश पाएपछि एआईजीको रिक्त दुई पदमा डीआईजीहरु शाही, कार्की र पोखरेलमध्ये दुई जनाले मात्रै योपटक एआईजी हुने अवसर पाउनेछन् । 

डीआईजीको बढुवाले आगामी नयाँ आईजीपीको अुनमानसमेत सहज बनाउनेछ । शाही नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता हुन् भने कार्की विशेष ब्यूरो प्रमुख र पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) प्रमुख हुन् ।

आईजीको दौडमा रहेका दुई एआईजी मौन रहेको बेला एआईजीको लागि चर्को प्रतिस्पर्धा हुने देखिएको हो । पोखरेललाई एआईजी बनाउन नहुने पक्षमा डीआईजीद्धय शाही र कार्की लागेका छन् ।

आफूभन्दा जागिरमा दुई बर्ष सिनियर तथा डीआईजीमा ८ महिना सिनियरलाई पछि पार्दै पोखरेल एआईजी बन्ने दौडमा छन् । एआईजीका लागि मात्र नभएर आगामी आईजीपीका लागि पोखरेल अहिले बढुवाका लागि बलियो कसरत गरिरहेका छन् । २०७९ साल वैशाख १७ पछि एआईजी भएको खण्डमा पोखरेल स्वतः आईजीपीको बलियो दाबेदार हुन्छन् ।

तर, पोखरेल एआईजी नभएको अवस्थामा पनि आईजीपी बन्ने सम्भावना बाँकी रहन्छ । किनभने उनी जुनियर ब्याचबाट आएका डीआईजी हुन् । उनको ब्याचमा उनी एकल प्रतिस्पर्धी हुन् ।

तीन एआईजीले अपराध अनुसन्धान विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मानवस्रोत तथा प्रशासन विभाग सम्हाल्छन् । डीआईजीबाट एआईजी हुने प्रत्येकको आ–आफ्नै शक्तिकेन्द्र छन् । घोषित अघोषित रुपमा कसैलाई प्रधानमन्त्री, गृहमन्त्री त कसैलाई नेकपा अध्यक्ष प्रचण्डको साथ समर्थन प्राप्त छ ।

प्रहरी नियमावलीको व्यवस्थालाई उल्लेख गर्दै तीनैजना डीआईजीले आफूलाई एआईजीको बलियो उमेद्धवार रहेको बताउने गरेका छन्, अनौपचारिक भेटघाटमा ।

२०७९ साल वैशाख १७ पछि नेपाल प्रहरीको नेतृत्वमा पुग्नेले नै आगामी २०७९ सालमा सम्पन्न हुने स्थानीय र आम निर्वाचनमा शान्ति सुरक्षाको नेतृत्व गर्नेछन् ।

दरबन्दी थप गर्ला ?

‘आफ्ना’ मान्छे छुट्ने भएपछि गृह मन्त्रालयले एआईजीको दरबन्दी थप गर्ने तयारी गरेको स्रोतले बताएको छ । एआईजीको एक दरबन्दी थप्न गृहलाई दबाब परेको छ ।

आफ्नो मान्छे एआईजीमा बढुवा नभए मन्त्रिपरिषद बैठकले औपचारिक निर्णय गरेर गृहमन्त्रालयले थप एक जनाको बढुवा सूची निकाल्ने तयारी गरेको छ । स्रोतका अनुसार बढुवा सिफारिसमा छुटेकालाई बढुवा गर्न एआईजी पद थप गर्न लागिएको हो ।

एआईजी र आईजीपी नियुक्ती मन्त्रिपरिषद्ले गर्छ । एआईजीले प्रहरीको विभागीय नेतृत्व गर्छन् । प्रहरी नियमावली ०७१ अनुसार एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव अध्यक्ष, गृह मन्त्रालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।

‘ज्येष्ठता र वरिष्ठता बापत अंक दिइसकेपछि फेरि यही आधारमा आफू सबैभन्दा अगाडि  हुनुपर्ने भन्नेतर्क गलत हो । सरकारले त सबैभन्दा बलियो र सक्षम जसलाई देख्छ, उसैलाई पहिलो प्राथमिकता दिने हो,’ नेपाल प्रहरीका एक पूर्वआईजीपी भन्छन् ।

प्रहरीमा नेतृत्व फेरबदल हुने समयमा एआईजी र डीआईजीसँगै अन्य पदहरु पनि रिक्त हुन्छ । अर्थात अब आईजीपी को बन्ने भन्ने रस्साकस्सी मात्र छैन । २५ असारपछि रिक्त हुने डीआईजीको पदमा बढुवा हुन लागि पनि प्रहरीभित्र चलखेल शुरू भइसकेको छ । त्यसपछिका एसएसपी र एसपीसहितका पदमा पनि आ–आफूलाई दाबेदार बनाउने लविङ शुरू भएको छ ।

आईजीपीका दाबेदार दुई एआईजी भन्छन्, ‘जसलाई बनाए पनि आपत्ति छैन’

संगठन प्रमुखको प्रमुख दाबेदारका रूपमा रहेका थापा र पाल दुवैजना केही समय अघिदेखि सार्वजनिक कार्यक्रममा जाँदा एउटै गाडीमा जाने आउने समेत गर्छन् ।

प्रहरी प्रमुख छान्ने बेला संगठन प्रमुखकको दाबेरदारका रूपमा रहेका प्रहरी अधिकारीहरू एकले अर्कोको खुट्टा तान्ने प्रवृत्ति थियो । आईजीपी बन्नका लागि बोलचाल समेत हुँदैनथ्यो । 

त्यही प्रहरीभित्र मौलाएको परम्परा निर्मूल पार्नका लागि क्षेत्री र पाल अहिले भद्र सहमति गरेर अगाडि बढिरहेका छन् । उनीहरु भन्छन्, ‘हामी दुईमध्ये जसलाई बनाए पनि आपत्ति छैन् ।’

एकैदिन प्रहरी सेवामा प्रवेश गरेका उनीहरूले सरकारले जसलाई आईजीपी बनाए पनि कुनै फरक नपर्ने बताउँदै आएका छन् । सङ्गठनको नेतृत्व पावर र पैसाबाट भन्दा पनि आफ्नो पेशागत क्षमता–योग्यतालाई प्रस्तुत गर्दै अगाडि बढेमा यसको गरिमा चुलिँदै जाने उनीहरुको भनाइ छ ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप