शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भीआईपी र भीभीआईपीको आलोचना गर्ने मात्रै कारवाहीको दायरामा, सर्वसाधारणको उजुरी छानबिनमै पुग्दैन

शनिबार, २० असार २०७७, १० : ३८
शनिबार, २० असार २०७७

सामाजिक सञ्जालमार्फत सरकारलाई गाली गरेको अभियोगमा पूर्व सचिव भीम उपाध्याय पक्राउ परे । उपाध्याय ५ दिन प्रहरी हिरासतमा बसे र २५ हजार धरौटी रकम बुझाएर उनी रिहा भए । अहिले पनि उपाध्यायले मुद्दा खेपिरहेका छन् ।

फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा लेखेकै कारण वा सरकार र भीआइपीहरुको विरोध गरेकै कारण साइबर अपराधको मुद्दा झेल्नेहरु धेरै छन् । उजुरी परेर प्रहरी कार्यालय धाउनेको सङ्ख्या त हजारौँ छन् । यसमध्ये राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु तथा विशिष्ट व्यक्तिको अपमान र मानमर्दन हुने गरी गरिएको गाली बेइज्जतीका कारण पक्राउ पर्ने र मुद्दा खेप्नेको सङ्ख्या धेरै छ ।

पछिल्लो समय मुख्यत सत्तामा रहेका राजनीतिक दलका नेता, राज्यको विभिन्न निकायमा रहेका उच्चपदस्थ व्यक्तित्व आदिको मानमर्दन गर्दै आक्रोश पोख्ने क्रम अझै बढेको छ । सामाजिक सञ्जालमार्फत सरकारका कामकारवाहीको विरोध गर्दै व्यक्तिमाथि समेत केन्द्रीत भई आक्रोश पोखिनुका साथै गालीगलौज बढ्न थालेपछि प्रहरीले पनि त्यस्ता व्यक्तिमाथि निगरानी बढाउन थालेको छ ।

अहिले सामाजिक सञ्जालमा सबैभन्दा बढी गालीगलौज हुने व्यक्तिहरुमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड’ आदि छन् । त्यसबाहेक सरकारका मन्त्रीहरुको बारेमा पनि सामाजिक सञ्जालमा आलोचना गर्दै लेखिएको हुन्छ ।

सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि गालीगलौज र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भावुक हुँदै भने, ‘राष्ट्रपति जस्तो संस्था विभत्स हत्याकाण्डका आकस्मिक उपज होइनन् ।’ राष्ट्रपतिको आलोचना गर्नेहरुलाई प्रधानमन्त्री ओलीले सभ्यताहीन र उच्छृङ्खलको संज्ञा समेत दिएका थिए ।

गत सोमबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमार्फत अश्लिल शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा एक जना पक्राउ परे । पोखरा महानगरपालिका–१९ पुरञ्चौरका दुर्गादत्त बास्तोलालाई कास्की प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई अश्लिल शब्द प्रयोग गरी फेसबुकमा स्टाटस लेखेको भन्दै बास्तोलाविरुद्ध पोखराका शिवप्रसाद अधिकारी, सम्पन्न श्रेष्ठ र सुष्मी श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए । उनीहरु नेकपामा आवद्ध संगठित सदस्यहरु हुन् । सोही उजुरीको आधारमा बास्तोलालाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख जीवन श्रेष्ठले बताएका छन् ।

केही कारागार चलान, केही अझै फरार

भीआईपी र भीभीआईपीलाई गालीगलौज गरेको आरोपमा पक्राउ परी मुद्दा चलेकामध्ये केही कारागार चलान पनि भएका छन् । त्यस्तै पक्राउ परेका अधिकांश धरौटीमा रिहा भएका छन् भने केही साधारण तारेखमा पनि छुटेका छन् ।

त्यतिमात्र होइन २०७६ भदौमा प्रधानमन्त्री ओलीको निधन भएको भन्दै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने दुई व्यक्ति अझै पनि फरार छन् । प्रधानमन्त्री ओलीको मृत्यु भएको भन्दै भ्रम फैलाउने रन्जन सापकोटा र प्रकाश ढकाल अहिले पनि फरारको सूचीमा रहेका छन् ।

त्यस्तै प्रधानमन्त्री ओली र डा. सिके राउतको फोटो जोडी अफवाह फैलाएको आरोपमा गत फागुनमा पक्राउ परेका शिव नारायण महतो पुर्पक्षका लागि थुनामा रहेका छन्  ।

पूर्वसचिवसमेत साइबर क्राइमको अभियुक्त !

सरकारले पछिल्लो समय सामाजिक सञ्जालमा लेखेकै आधारमा नागरिकमाथि धरपकड गर्दै कारवाही गर्ने नीति लिएको देखिन्छ । त्यसैको एक उदाहरण केही समयअघि साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय पनि हुन् ।

उपाध्यायले सरकारका निर्णय र त्यसले पार्ने प्रभावलाई विश्लेषण गरी सरकारको विरुद्ध हुने गरी सामाजिक सञ्जालमा लेख्दै आएका थिए । सरकारको बिरोध गर्दै सरकारविरोधी विचार लेखेकै आधारमा उपाध्यायलाई पक्राउ गरियो, साइबर अपराधमा मुद्धा चलाइयो । अन्ततः ५ दिन हिरासतमा बसेर २५ हजार धरौटीमा उपाध्याय रिहा भए ।

उपाध्याय भन्छन्, ‘न्युज पोर्टल ह्याक गर्ने आइटी विज्ञलाई साइबर क्राइम लाग्दैन ?’ ‘सरकारलाई मनपर्ने कुरा गरेनन् भन्दैमा समात्ने ? गाली गर्ने, मनपरी बोल्ने अधिकार चाहिँ प्रधानमन्त्री ओली र उनका कार्यकर्तालाई मात्रै छ त ?’ उपाध्यायले प्रश्न गरे, ‘अर्काको न्युज पोर्टल ह्याक गर्ने प्रधानमन्त्रीका आइटी विज्ञलाई चाहिँ साइबर क्राइम लाग्दैन ?’

०७६ चैत २७ गते प्रधानमन्त्री र मन्त्रीहरुको फोटो जोडेर जथाभावी लेखेको आरोपमा खोटाङ ऐसेलुखर्क–१ घर भई बुढानिलकण्ठ चुनिखेल बस्ने ३६ वर्षीय तारा नाछिरिङ र काभ्रे पनौती ५ का ४६ वर्षीय रामकुमार रघु श्रेष्ठ पक्राउ परे ।

उनीहरुले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको फोटो जोडेर फेसबुकमा फोटो जोडेर मान मर्दन हुने गरी स्टाटस लेखेको प्रहरीको भनाइ छ । नाछिरिङ २५ हजार र श्रेष्ठ १ लाख १० हजार धरौटीमा रिहा भइसकेका छन् ।

प्रहरीकोे साइबर ब्यूरोको तथ्यांकअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको आलोचना गरेको आधारमा २० जनाभन्दा बढी कारबाहीमा परेका छन् । गत साउनयता साइबर अपराध गरेको आरोपमा ९३ जना प्रक्राउ परेका छन्, जसमध्ये १५ जना कारागार चलान भएको प्रहरी तथ्याङ्कले देखाउँछ ।

साइबर क्राइम लगाएर जर्मनीबाट डिपोर्टसम्म गरियो

२०७४ असोजमा सामाजिक सञ्जाल फेसबुकमार्फत उपराष्ट्रपति नन्दबहादुर पुन, र तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरेर मनपरी लेखेको र जातिगत विवाद उठाएर विभिन्न जातिलाई विभाजित तुल्याउन खोजेको आरोपमा धादिङ त्रिपुरासुन्दरीका आत्माराम थपलियालाई नेपाल प्रहरीले जर्मनीबाट समेत झिकाएको थियो ।

जर्मनीमा रहेका थपलियाले उपराष्ट्रपति पुन, प्रचण्डलगायतका व्यक्तिलाई अपशब्द प्रयोग गर्दै सामाजिक सञ्जाल फेसबुकमा गालीगलौज गरेको आरोप लागेको थियो । थपलियाले विभिन्न जनजातिलाई पनि मनपरी गालीगलौज गरेको प्रहरीको दाबी छ ।

प्रहरीमा साइबर अपराधका ३ हजार उजुरी

साइबर अपराधका घटनामा व्यापक वृद्धि भइरहेको तथ्याङ्क प्रहरीमा परेको उजुरीले प्रष्ट पारिरहेको छ । यस आर्थिक वर्षमा साइबर क्राइमका करिब ३ हजार वटा उजुरी परेको देखिन्छ ।

आर्थिक वर्ष २०७६–०७७ नेपाल प्रहरीको साइबर ब्यूरोमा २ हजार ९० थान उजुरी परेको छ । त्यसैगरी अपराध महाशाखामा ८ सय ९० वटा उजुरी परेको देखिन्छ । आर्थिक वर्ष सकिन अझै केही दिन बाँकी रहेकाले साइबर क्राइमको उजुरीमा थप हुनसक्ने प्रहरीको अनुमान छ ।

अपराध माहाशाखामा परेको उजुरीमध्ये ६ सय ६७ जनाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस अथवा फोटो राखेर गालीगलौज गर्ने काम गरेका छन् । साइबर अपराधका अधिकांश घटनाको सम्बन्ध फेसबुकसँग जोडिएको छ ।

फेसबुकपछि साइबर क्राइमका घटनामा म्यासेन्जर, ईमो, इन्स्टाग्राम, अनलाइन ठगी, इमेल ह्याक, एटिएम, भाइबर, ह्वाट्सएप, ट्वीटर र युट्युब अपलोडमार्फत साइबर अपराध हुने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रातोपाटीलाई बताए ।

लकडाउनको अवधिमा अपराध माहाशाखामा साइबर अपराधका १ सय ४ वटा उजुरी परेका छन् । जसमध्ये चार वटा मुद्धा दर्ता भएको एसएसपी थापाले बताए । उनले भने, ‘चैत, वैशाख र जेठभन्दा असारमा साइबर अपराधका उजुरी बढेका छन् ।’

त्यसैगरी साइबर ब्यूरोमा परेको २ हजार ९० उजुरीमध्ये धेरै उजुरी नक्कली फेसबुक आइडी बनाई मानमर्दन तथा बेइज्जती गरेको आदि छन् र नक्कली फेसबुक आइडी बनाएको मध्ये १ हजार ४ सय ४८ वटा त्यस्ता आइडीहरु बन्द गराइएको प्रहरीले जनाएको छ ।

भीआईपीलाई गालीगलौज गर्नेलाई मात्रै कानुन लाग्ने हो ?

कानुन सबैका लागि समान नै हुन्, चाहे ती व्यक्ति भीभीआइपी हुन् वा सामान्य नागरिक । तर पनि साइबर क्राइमका उजुरी र कारवाहीलाई हेर्ने हो भने भीआइपी वा भीभीआइपीमाथि भएका साइबर क्राइम वा गालीगलौजका घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गरिएको भए तापनि सामान्य नागरिकमाथि हुने गालीगलौज लगायत साइबर क्राइमका घटनाका आरोपितलाई प्रहरीले खासै पक्राउ गरेको देखिँदैन ।

त्यसो त सामान्य नागरिकमाथि हुने साइबर अपराधको उजुरी नै प्रहरीमा पुग्दैन भने उजुरी परेको भए पनि त्यस्ता व्यक्तिलाई समात्न प्रहरीले तत्परता देखाएको हुँदैन । सामान्य नागरिकमाथि सामाजिक सञ्जालमार्फत् गालीगलौज हुँदा प्रहरीले पक्राउ गर्न वा मुद्दा चलाउन आनाकानी गर्छ, तर भीआईपी र भीभीआईपीलाई गालीगलौज गर्नेमाथि प्रहरीले तत्कालै एक्सन लिने गरेको देखिन्छ ।

पूर्वसचिव उपाध्याय प्रश्न गर्छन्, ‘के भीआईपी र भीभीआईपीलाई गालीगलौज गर्नेलाई मात्रै कानुन लाग्ने हो ? कानुनका बाह्र सिङ हुन्छन रे, ठूलाहरू तिनै सिङ समातेर ऐनभन्दा माथि बसेर चैन गर्छन्, साना र गरिबले ती सिङको छेउटुप्पो फेला पार्दैनन् र ऐनको दलदलमा फस्न पुग्छन् ।’

प्रहरीमा दर्ता भएको साइबर क्राइमको उजुरी हेर्दा गम्भीर प्रकृतिको बेइज्जती वा मानसिक तनाब दिएको घटनामा प्रहरीले कारवाहीका लागि तत्परता देखाएको भए तापनि सामान्य नागरिकमाथि भएको सामान्य गालीगलौजका घटनामा प्रहरीले अभियुक्तलाई झिकाउने वा कारवाही गर्ने गरेको देखिँदैन ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता निरज शाहीले सर्वसाधारणलाई गालीगलौज गर्नेहरुमाथि मुद्दा चलाउन प्रहरीले आनाकानी नगरेको दाबी गर्छन् । सर्वसाधारणको हकमा मुद्दा चलाउन प्रहरीले चासो नदेखाएको हो भन्ने प्रश्नमा प्रवक्ता शाही भन्छन्, ‘कानुन सबैको हकमा बराबर छ । सामान्य नागरिकलाई मात्र मुद्दा दायर हुन्छ भन्ने गलत हो । प्रहरीले उजुरी परेको र छानबिनमा दोषी देखिएका सबैलाई कानुनी कारवाहीको दायरामा ल्याउने गरी काम गरिरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप