शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कता ? कता ? ए कता ? विचरो एकता !

शनिबार, २० असार २०७७, १० : ३७
शनिबार, २० असार २०७७

नेपालका राजनीतिक  दलहरु सत्ता आरोहण गर्दा होस् वा अवरोहण पर्दा होस् सधैँ दलभित्र ‘एकता’ खोज्न कौलास्दै हिँडेका हुन्छन् । ‘एकता’ यो शब्दै भाववचक नाम हो । भावपरक वा अनुभूतिमय छनक दिने भएकोले स्थूल शरीर मात्र देख्ने कोरा भौतिकवादका अनुयायी भैखाएका चार्वाक् चेला एकताको मेला भर्न जति हिँडे नि निरञ्जन निराकार ‘एकता’ नपाएर हदैसम्म बरालिएका छन् ।

वास्तवमा एकता भनेको एक हुनाको भाव वा अवस्था, विचार, उद्देश्य र कार्यक्रममा सबै परस्पर मिलेर बस्ने काम, ऐक्य, समता, बराबरी भन्ने यो शब्दको मर्म हो । एक हातले छर्नु दुई हातले सोहर्नु, एक हातले ताली बज्दैन, एकले थुके सुक्छ हजारले थुके ताल बन्छ । यी उखानका मर्म बोध गर्ने कसरतै भएन दलका हाँडीघोप्टे जमातलाई । हुन त यी मनुवाहरुले कमिलाको एकताले हात्ती ढलेको कथा पढेका र नसुनेका भने छैनन् । तर पढे सुनेका असल कुरा प्रयोगमा ल्याउँदा आफ्नो भाग खोसिने डरले थरथर काँपेर ती यथार्थवादी आदर्शलाई कोरा आदर्श र खोक्रो ढोँग भनेर हाकाहाकी टिकाको जलप लगाइदिन्छन् बा ? उटुङ्ग्याहरु । दलका शीर्षस्थदेखि पादस्थसम्मका सबैको गलत वृत्ति यही रहँदै आएकाले दलको ओजन नै मात्र भोजनमा गएर टुङ्गिन पुग्यो । 

अहिले सत्ताधारी दल नेकपा (पूर्व एमाले र भूतपूर्व माओवादी अर्थात् माके) गठबन्धनमार्फत विगतको चुनावमा तीनै तहका सरकार दोतिहाइको अत्यधिक बहुमत बनाएर  पार्टी एकीकरण सिरानदेखि पुछारसम्म गर्न कसरतमा लाग्दा लाग्दै अनेकताको उर्वर माहोल खडा गर्न पुगेका छन् ।

कोभिडजस्तो महामारीको समयमा पनि पदीय आसनलाई रासन लुट्ने र कमाउने गोल्डेन चान्स सम्झिएर डान्स गर्ने नव सम्भ्रान्तले सत्ताको अपव्यय पराकाष्टामा नै गरेका छन् । सचिवालय सभा, स्थायी कमिटी जतिसुकै छलफलको अग्निकुण्डमा होमिए पनि नानीदेखिको लुब्धक बानी टसको मस हुँदैन बा ?  बाह्र वर्ष रामायण पढ्यो सीता कसकी जोई भनेझैँ बनेको छ एकताको दुन्दुभि !  

  टाउको मात्र तयार गरेर अरु अङ्ग निर्माणै पूर्ण गर्न नभ्याउँदै दम्भ, अभिमान, घमण्डको सुरा पिएर बेसुरा बनेकाहरुले छलाङ मार्ने नाममा नाम्चे बजारको फेदीतिर खुर्मुरिन पुग्छन् पर्वतारोहणको यात्रा नसक्दै । भनिएको पनि छ— ‘अभिमानंं सुरापानं गौरवं रौरवं यथा । प्रतिष्ठा सुकरी बिष्ठा त्रयं त्यक्त्वा हरिँ भजेत् ।।’ भन्ने वाणीलाई हरि नभएकाले जहिले पनि राँडी बनाउने गर्छन् । यो धुन्धुकारी वृत्तिले अनेकता मात्र फैलने हुँदा हातमा शून्य मात्र प्राप्ति हुनु स्वाभाविकै हो ।

यतिखेरका दिनमा नेकपा दलको जरासन्ध शरीर ठडिएला कि भन्ने हामीजस्ता एकताप्रेमीहरु बिलखबन्दमा  परिने निश्चित भएको छ ।  ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने नारा सार्थक हुन सत्ताधारी पार्टीमा एकता, प्रमुख प्रतिपक्षी एवं प्रतिपक्षी दलहरुमा सत्ताधारी दलले गर्ने समझदारी, सहकार्य सौहाद्र्रतामा स्वार्थी फुटले चरम उष्णता वा परम शीतलता दिएर थलै पार्दछ । राष्ट्रिय एकता, देशको सम्प्रभुता, नयाँ जारी गरिएको नक्सा, देशमा लगानीमैत्री वातावरण, आयातमा कटौती तथा निर्यातमा जोड, उत्पादनमा वृद्धि, सुशासन, छिमेकी र दाता देशहरुसित सुमधुर सम्बन्धजस्ता धेरै पक्ष अनुकूल हुनुपर्नेमा  यतिखेर प्रायः सबै कुरा प्रतिकूल तथा झन् कमजोर हुँदै गएका छन् । 
नेकपाको एकताको जिम्मा कहिले दुई जना, कहिले नौ जना, कहिले स्थायी समितितिर रिङ्याएर हात्ती आयो हात्ती आयो फुस्सा त हुँदैन ? गुटकै नियति झेलेर फुटमा त टुङ्गिने हैन ? प्रश्नहरु अम्मलीका जिब्रोजस्तो पो भएका छन् ।

लाखौँ लाख कार्यकर्ता उत्तरदायित्व नपाएर व्यक्ति व्यक्तिको खुराफातमा चिया, नास्ता, डिनर, लञ्च र रात्रिकालीन रङरस भर्नतिर त लागे भने नेकपा नै स्वाहा स्वधा बन्दैन ? समर्थकमा कुण्ठा, गुनासो, पीर, आक्रोश मजैले भरिँदै गएको छ । खास दर्शनको चुरोभित्र धुरो लागेर विचार, सिद्धान्त र कार्यक्रमहरुमार्फत उद्देश्य एवं लक्ष्य प्राप्तिमा सोझिनु नै  एकता हो । प्रायः नेपालका दलहरुमा एकता  जहिले पनि मात्र ओठे बाजा, बनेर समयको अपव्यय चरम रूपमा भएको कुरा हामी सबै साक्षी छौँ । बाह्र हात कुदेर बित्तामा हार्ने हाम्रो वितण्डावादी सोचमा कहिले परिवर्तन आउने ? विचारले बानी बसाउँछ बानीले स्वभाव बसाउँछ भन्ने अभेदकारी टुक्कालाई पाएसम्म मुक्का हान्ने प्रतिगामी चिन्तनले एकताको डोरी कसरी बाटिन सक्छ र ? त्यसैले त ‘एकता’ सधैँ प्रश्नवाचक भएर ‘ए कता ? ए  कता ?’ भन्दा भन्दै रौँहरु फुलिसके ।

सधैँ परीक्षित भइसकेका बासी विचारका ढुसी गनाएका कुपात्रहरुलाई माला पहिरिएर तरुण र कलकलाउँदा छातीमा भाला हान्ने अवसर दिने भृत्य वृत्तिले तरुणहरुको अरुण बन्ने तागतमा हुक्के, बैठके र चिलिमेको दुर्गन्ध डुङडुङति भएर नाकै झर्लाझैँ पा¥यो बा ? जिउको सार घाँटी, कुराको सार गाँठी भन्ने कहावतलाई उखानपुका सम्राट्हरु किन बिर्सन्छन् ? शेख सादीले उहिल्यै शङ्खघोष गरेका— यदि चरा एक हुन्छन् भने बाघको छाला काढ्न सक्छन् । जबसम्म एकता महसुस गर्न सकिन्न तबसम्म प्रार्थना, उपवास, जप सबै बेकारका ढ्वाङ हुन्, भन्ने गान्धीवाणी किन राँडी बनाइरहेका छौँ ।

तृणैर्गुणत्वमापन्नैर्बध्यन्ते मत्त दन्तिनः, भन्ने हितोपदेश होली वाइनले किन क्वाइन बनाउन सकेन ? प्रश्नहरु मजैले चटारिएका छन् ।  जय एकता– मात्र मय, भय, स्वार्थ तय र आपूm मात्र अभिजन बन्ने लय, नबनोस् ।
       
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बद्रीप्रसाद दाहाल
बद्रीप्रसाद दाहाल
लेखकबाट थप