शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोभिड–१९ जनसुरक्षा कोषको रकम पारदर्शी ढङ्गले खर्च भएको छ’

शुक्रबार, १९ असार २०७७, २२ : ३८
शुक्रबार, १९ असार २०७७

मोरङ । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले कोभिड–१९ जनसुरक्षा कोषको रकम पारदर्शीढङ्गले खर्च भएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित प्रदेश सरकारबाट कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी हालसम्म भएका कार्यहरुको सार्वजनिकीकरण तथा पत्रकार सम्मेलनमा उनले कोषको रकम खबरदारी, निगरानी र जवाफदेहीताका साथ कोभिड रोकथाम, नियन्त्रणमा र उपचारमा खर्च भएको जानकारी दिए ।

मुख्यमन्त्री राईले कोषको रकम खर्चका सम्बन्धमा आगामी हप्तादेखि प्रत्येक हप्ता एक पटक सार्वजनिकीकरण गर्ने जानकारीसमेत दिए । उनले प्रदेशका जनतालाई एकद्वार प्रणालीमार्फत स्थानीय तहबाट रु नौ करोड ५० राहत वितरणका बजेट निकासा गरेको बताए ।

उनले प्रदेशमा कोभिड–१९ का सम्बन्धमा आत्तिनुपर्ने अवस्था नभएको बताउँदै यसको रोकथाम तथा नियन्त्रणमा सरकारले व्यवस्थित रुपमा काम गरिरहेको जानकारी दिए । मुख्यमन्त्री राईले अहिलेसम्मको अवस्थामा आत्तिनुपर्ने वा विचलित हुनुपर्ने अवस्था नभएको चर्चा गर्दै प्रदेश सरकारले व्यवस्थित ढङ्गले कार्य अघि बढाइरहेको प्रष्ट पारे । उनले सीमामा सुरक्षा फौजलाई बन्दाबन्दी लगत्तैदेखि केन्द्रित गरिएका कारण समुदायमा कोभिड–१९ सङ्क्रमण हुनबाट अहिले रोक्न सकिएको बताए ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले निजी क्षेत्रलाई पीसीआर र आरडीटी टेष्ट गर्ने अनुमति कसैलाई नदिइएको बताए । प्रदेशका प्रमुख सचिव दिनेश भट्टराईले सरकारले पारदर्शी ढङ्ले कोभिड–१९ जनसुरक्षा कोषको रकम खर्च गरेको जानकारी दिए ।

कोरोना कोषमा रु ३३ करोड ५४ लाख

प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सञ्चालन गरेको जनसुरक्षा कोषमा रु ३३ करोड ५४ लाख जम्मा भएको छ । कोषमा जम्मा भएको रकममध्ये रु २५ करोड प्रदेश सरकारबाट र अन्य विभिन्न क्षेत्रबाट सङ्कलन भएको प्रदेश सरकारले जनाएको छ । कोषमा जम्मा भएको रकममध्ये रु २७ करोड ३३ लाख ८९ हजार खर्च भएको प्रदेशका प्रमुख सचिव दिनेश भट्टराईले जानकारी दिए ।

२५ हजारको नमूना सङ्कलन

प्रदेशमा २५ हजार बढीको थ्रोट स्वाब सङ्कलन गरिएको छ । प्रदेशमा बिहीबारसम्म २५ हजार ३४० जनाको स्वाब सङ्कलन गरिएकामध्ये ६१६ को कोरोना भाइरस रिपोर्ट पोजेटिभ र २३ हजार ९७० को नेगेटिभ रिपोर्ट आएको छ । स्वाब सङ्कलन गरिएकामध्ये ७५५ को रिपोर्ट आउन बाँकी रहेको पत्रकार सम्मेलनमा बताइयो । प्रदेशमा पीसीआर परीक्षणका लागि ६०० क्षमताका तीनवटा ल्याब सञ्चालनमा छन् ।

होल्डिङ एरियामा ५११ जना

भारतलगायतका विभिन्न देशबाट आउने व्यक्तिलाई राख्नका लागि प्रदेश सरकारले २४ स्थानमा होल्डिङ एरिया निर्माण गरेको छ । यसरी निर्माण गरिएकामध्ये झापामा १९, सुनसरी र इलाममा दुई÷दुई तथा मोरङमा एक रहेका छन् । उक्त होल्डिङ एरियामा दुई हजार ९७२ बेड तयार रहेकामा अहिलेसम्म १६० महिलासहित ५११ रहेका छन् । प्रदेशमा निर्माण गरिएका क्वारेन्टिनमा दुई हजार ३४९ र होम क्वारेन्टिनमा तीन हजार १७२ जना रहेका छन् ।

सङ्क्रमितको उपचार चार स्थानबाट

प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेशन अस्पताल गोठगाउँ मोरङ र कोभिड–१९ आइसोलेशन केन्द्र चौदण्डीगढी उदयपुरबाट गर्ने गरेको आज यहाँ सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । सङ्क्रमितको उपचारका लागि ३५३ बेड क्षमता रहेको छ भने अहिले २१५ जना उपचार गराइरहेका छन् ।

२४ हजार भारत गए, १५ हजार आए

प्रदेशबाट बन्दाबन्दीको अवधिमा २४ हजार व्यक्ति भारत गएका छन् । प्रदेशअन्तर्गतका चार जिल्लाबाट बिहीबारसम्म २४ हजार ८१४ जना भारत गएका छन् । यसरी भारत जानेमा  झापाबाट १९ हजार ९८१, मोरङबाट चार हजार ७२१, सुनसरीबाट ११० र इलामबाट दुई जना रहेका छन् ।

यसैगरी सो अवधिमा भारतबाट १५ हजार ७०० व्यक्ति नेपाल प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा झापाबाट नौ हजार २१७, मोरङबाट चार हजार २२३, सुनसरीबाट एक हजार ८५४ र इलामबाट ४५३ गरी जम्मा १५ हजार ७४७ रहेका छन् । नेपाल प्रवेश गर्नेमध्ये ११ हजार ७४६ जना प्रदेश नं १ का रहेका छन् भने चार हजार एक अन्य प्रदेशका रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप