बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संसद अधिवेशन अन्त्य गरिएकोमा विपक्षी दलको आपत्ति, संसद बन्द गर्दैमा सरकार जोगिँदैन

बिहीबार, १८ असार २०७७, १६ : २०
बिहीबार, १८ असार २०७७

काठमाडौं । सरकारले आकस्मिक रुपमा संघीय संसद्का दुवै सदनको चालु वर्षे अधिवेशन अन्त्य गरेकोप्रति विपक्षी दलहरुले आपत्ति जनाएका छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार अपरान्ह ५ बजेदेखि लागू हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गरिनुलाई दुःखद् भनेको छ ।

काँग्रेस सांसद मिनेन्द्र रिजालले भने, ‘नेपाल कम्युनिस्ट पार्टीले आफ्नो आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसकेर संसदको अधिवेशन अन्त्य गरेको छ । यो दुःखद् छ हो ।’

असार १० गतेदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्री केपी ओली राजीनामा दिन माग्दै आएका छन् । 

त्यही अनुसार दुबै पक्षमा आफ्नो आन्तरिक रणनीतिमा जुटेपछि प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेको उनको बुझाइ छ ।

संसद अधिवेशनबारे सरकार पक्षले आफूहरुलाई कुनै जानकारी नदिएको उनले बताए ।

रिजालले भने, ‘यस विषयमा थप हामीलाई जानकारी छैन । हामीसँग छलफल पनि भएको होइन । विस्तृत जानकारी बेगर यसमा थप टिप्पणी गर्नु उपयुक्त हुँदैन । थप जाकारी पाएपछि विस्तृत रुपमा टिप्पणी गर्छु ।’

यस्तै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृण खाँणले पनि संसद अधिवेशनको अन्त्यको सिफारिस गर्दा आफूहरुलाई सामान्य जानकारीसम्म नआएको बताए । 

पार्टीको आन्तरिक कलह र दम्भमा संसद अधिवेशन अन्त्य गरेर सरकार जनताको समस्या सुन्नबाट भाग्न खोजेको भन्दै उनले आपत्ति जनाए ।

यस्तै विपक्षी दल जनता समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र महताले यसलाई अधिकारको दुरुपयोग भनेका छन् ।

उनले भने, ‘यो अधिकारको दुरुपयोग हो । जनताको आवाज उठाउने मुलुकको सर्वोच्च संस्था स्थगन गरेर जनताको आवाज बन्द गर्न खोजिएको हो ।’

सरकार निरंकुशतातर्फ गइरहेको महतोको बुझाइ छ । उनले भने, ‘संसदको समाना गर्न नसकेर प्रधानमन्त्रीमा संसद अधिवेशन अन्त्य गराउनु भयो । अब जे गरे पनि भैगो । कानुनका लागि अध्यादेश ल्याउन पाइउने भयो । यो निरंकुशतातर्पmको बाटो हो । जनताको आवाज दबाउने र जे मन लाग्यो त्यही गर्नु खोज्ने कुरा स्वीकार्य हुँदैन ।’

निरंकुश शासकसँग लोकतन्त्र र नियम कानुनको आशा गर्नु बेकार भएको उनले बताए ।

संसद अधिवेशन गरेपनि सरकार नजोगिने महतोको जिकिर छ । उनले भने, ‘संसद अधिवेशन अन्त्य गरेर सरकार जोगिँदैन । किनभने संसदको अधिवेशन बोलाउने अधिकार संसदलाई हुन्छ । साथै जनताको आवाज दबाउन अधिकारको दुरुपयोग गर्ने काम भएको छ ।’

जस्तोसुकै निरंकुश शासकलाई जनताले फालेको भन्दै यस्तो निरंकुश शासन नचल्ने महतोले बताए । काँग्रेस सांसद गगन थापाले संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य गरिनुलाई विनासकाले विपरित वुद्धिको संज्ञा दिए ।
 
उनले भने, 'संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड(१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन। पार्टीभित्रको किचलोको अचानोमा संसद ?' संसदलाई छलेर अब कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नगर्न पनि थापाले आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप