शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी बैठक छल्दै ओली, परामर्शबिनै संसद अधिवेशन अन्त्य

बिहीबार, १८ असार २०७७, १५ : २९
बिहीबार, १८ असार २०७७

काठमाडौं । राजीनामाको दवाव बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बैठक छल्न थालेको भन्दै नेताहरुले आक्रोश पोखेका छन् । 

बिहीबार बिहान प्रचण्ड निवास खुमालटारमा बसेको बैठकले ओलीले प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद छाड्नुपर्ने निष्कर्ष निकालेपछि आफ्नो राजीनामा टार्ने प्रयासस्वरुप पार्टी बैठक छाडेको नेताहरुको आक्रोश छ । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमै बसेको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । त्यस्तै सचिवालय बैठक समेत सोही बीचमा बसेपनि ओलीले बस्ने अनिच्छा नजाएको स्थायी समिति सदस्य एनके प्रयाईँले जानकारी दिए । आजको बैठकमा ओलीलाई राखेर गम्भीर सवाल जवाफको प्रयास भएपनि ओलीले एकपछि अर्को बैठक छल्ने प्रयास गरेको नेताहरुको भनाइ छ । 

बरु ओलीले पार्टी बैठक छल्दै संघीय संसदको चालू अधिवेशन अन्त्य गर्ने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । ओलीले स्थायी समिति बैठककै बीचमा एकाएक मन्त्रिपरिषद् बैठक बोलाउँदा आधा मन्त्री स्थायी समिति र अधाजसो मन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए । 

संसदको बिजनेस रहेकै अवस्थामा ओलीले एकाएक अधिवेशन अन्त्यको निर्णय गरेका हुन् । जुन निर्णय अनुमोदनका लागि राष्ट्रपतिकहाँ सिफारिस भएकोमा स्वीकृत भइसकेको छ । 

सरकारले अधिवेशन अन्त्यका लागि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग  समेत कुनै छलफल नगरेको बताइएको छ । यस्तै प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसले पनि आफूहरुसँग परामर्श नभएको जनाएको छ । 

संसद सचिवालयले पनि चालु अधिवेशन कम्तीमा असार महिनासम्म लम्बिने बताउँदै आएको थियो । नागरिकता विधेयक, निजामती कर्मचारीको सेवा शर्त सम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने तयारी रहेको सन्दर्भमा ओलीले हतारमा निर्णय लिएको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । 

यही विषयमा प्रचण्डले बालुवाटारमै ओलीसँग छलफल गरेको भएपनि स्पष्ट जवाफ नदिएपछि शीतल निवासमा भेटका लागि पुगेको बताइएको छ ।

 हुन क्याबिनेट बैठकमा समेत पर्याप्त छलफल बिनै संसद अधिवेशन अन्त्य गर्न लागिएको भन्दै केहीमन्त्रीले विरोध गरेपनि ओलीले निर्णय गराएर स्वीकृतिका लागि राष्ट्रपतिकहाँ पठाएका थिए । 

यसैबीच नेकपा स्थायी कमिटी सदस्य केशव बडालले नेताहरुबीचको इगोका कारण पार्टीमा विवाद बढेको बताए । 

स्थायी समिति बैठकमा अध्यक्ष र प्रधानमन्त्री जस्तो व्यक्तिमाथि सदस्यहरुले प्रयोग गर्नै नहुने अनावश्यक शब्द प्रयोग गरेर राजीनामा मागेको बताए । यही कारण ओली अहिले बैठकमै नबसेको उनले तर्क गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप