बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गायक अनिल सिंहले घरको ठेगाना दिँदै किन भने, ‘पूरा गाउँ नै आऊ, टोले गुण्डासँग डराउने चान्स नै छैन’

बिहीबार, १८ असार २०७७, १५ : १३
बिहीबार, १८ असार २०७७

नेपाली सङ्गीत क्षेत्रका गायक अनिल सिंहले पाँच–६ वर्षअघि आयोजित एक कार्यक्रममा आफ्नो प्रस्तुतीको अहिलेसम्म पनि पारिश्रमिक नपाएको आरोप लगाएका छन् ।

उनले आफ्नो पारिश्रमिक निर्धारण गर्ने जिम्मा नितान्त व्यक्तिगत भएको बताउँदै यसलाई आयोजक, कुनै व्यक्ति विशेषले  निर्धारण गर्ने अधिकारी नभएको पनि प्रस्ट पारेका छन् । तर कार्यक्रमका लागि कतिसम्मको छुट दिनुपर्छ, साथ दिनुपर्छ, त्यसलाई भने ध्यानमा नै राखेर आफू अघि बढिरहेको उनले बताए ।

अनिल बिहिबार आफ्नो आधिकारिक फेसबुकमा लाइभ हुँदै निकै आक्रोशित मुद्रामा पारिश्रमिक माग्दा आफूविरुद्ध कोही उत्रिन्छ भने उनीहरुसँग आफू कुनै पनि स्थितीमा नडराउने बताएका छन् ।

के हो घटना ?

अनिलका अनुसार घटना पाँच–६ वर्ष अघिको हो । उनले बताए अनुसार त्यतिबेला उनको घरमा गाउँका अध्यक्षलगायतका थुप्रै मानिसहरु (पूरा गाउँ) आएर उनलाई कार्यक्रममा प्रस्तुती दिनका लागि आग्रह गरे । उक्त टोलले आयोजना गर्न लागेको कार्यक्रममा संस्कृतिलाई विशेष महत्व दिइएको थियो र त्यसप्रति झुकाव भएकोले आफूले लिइरहने पारिश्रमिकमा ७५ प्रतिशत छुटमा नै कार्यक्रम गर्न राजी भए । कार्यक्रम राम्रै भयो ।

पछि त्यहि समूहको प्रतिनिधित्व गर्दै एक व्यक्तिले उनलाई त्यहि ठाउँमा दोस्रो कार्यक्रमका लागि प्रस्ताव गरे ।  उनी गए । कार्यक्रम सफल भयो तर दोस्रो पटक भने पारिश्रमिकमा किचलो भयो । अनिलका अनुसार आयोजक पक्षले उनको पारिश्रमिक कम भएको भन्दै उनको पारिश्रमिक आफैंले निर्धारण गर्न खोजे ।  त्यतिबेला उनले आफूले पूरा रकम नपाउने हो भने एक पैसा पनि नलिने भन्दै त्यहाँबाट गए ।

फेसबुकको भिडियोमा उनले भने, ‘स्टेजमा १० देखि १२ वटा गीत गाउँदा पेटको आन्द्रादेखि घाँटीसम्म सुक्छ । साँच्चै गाह्रो हुन्छ । तपाईंको पारिश्रमिक यो हो भनेर कसैले पनि मलाई लाद्न पाउनुहुन्नँ । तपाईं झुक्किँदै हुनुहुन्छ वा मलाई झुक्याउँदै हुनुहुन्छ वा मेरा स्रोता दर्शकलाई झक्याउन खोज्दै हुनुहुन्छ कि कानूनलाई झुक्याउन खोज्दै हुनुहुन्छ ? त्यो याद गर्नुहोस् ।’


पारिश्रमिकको कुरा नमिलेपछि आयोजक भनेर दाबी गर्ने ती व्यक्तिले कार्यक्रमको भोलिपल्ट पूरा पैसा दिने बाचा गरे । तर त्यो बाचा आजसम्म पनि पूरा हुन नसकेको अनिलको भनाई छ ।

बाचा गर्ने व्यक्ति त्यसपछिको थुप्रै वर्षसम्म हराएको र अनिलले कार्यक्रमका लागि ती एकजना व्यक्तिसँग मात्रै समन्वय गरेकोले आयोजकका अन्य सदस्यलाई नचिनेको बताए ।

काम गर्दै जाँदा ती व्यक्ति पुनः सम्पर्कमा आउन थालेको र सामान्य कुराकानी हुँदै उनीहरुबीच लेनदेनसम्मका कुरा भएको अनिलले जानकारी दिए ।

‘मैले उसलाई मेरो पारिश्रमिक चाहिँ तिमीले नै दिनुपर्छ, अरु कुरा थाहा छैन भनेको थिएँ । त्यतिबेला मैले उबाहेक अरु कसैलाई चिनेको पनि थिइनँ । ती व्यक्ति ‘म नै हुँ आयोजक’ भनेर आएका थिए,’ उनले भने ।

कहाँ बिग्रियो कुरा ?

यो एक वर्ष अघिको कुरा हो । उनले एउटा रेष्टुरेन्टमा कार्यक्रम गरेका थिए । उक्त रेष्टुरेन्टमा उनले त्यहि व्यक्तिका कारण करिब एक लाख तिर्नुपरेको बताए ।

त्यतिबेला रेष्टुरेन्टमा खाएको पैसा नतिरेका कारण ती व्यक्तिको बाइक रेष्टुरेन्टले राखेको रहेछ । उनले अनिललाई फोन गरेर ‘ दाइ मलाई ८–१० हजार कति छ, त्यो म भोलि आएर तिरिदिन्छु, अहिलेलाई भनिदिनुस्’ भनेका थिए । अनिलका अनुसार रेष्टुरेन्टलाई भनेर उनले त्यो बाइक छुटाइदिएको तर बिल भने ३८ हजारको रहेछ ।

अर्का एक कलाकार साथी र ब्यान्डका सदस्यको गरी बिल करिब एक लाख पुगेको रहेछ । रेष्टुरेन्टले आफूलाई भने जत्ति पारिश्रमिक दिएकोले उनलाई त्यो बिल तिर्न कुनै गाह्रो नभएको र आफ्नो सिद्धान्त र इज्जतका खातिर एक लाख तिरिदिएको उनले बताए ।

If I' m Right support me. If I'm wrong ! I dont deserve music feild.

Posted by Anil Singh on Thursday, 2 July 2020

यतिमात्रै होइन, अनिलले ती व्यक्तिले उनको नजिकका एकजना भाइको पसलमा गएर उनको नाममा दुईवटा मोबाइल उठाएको उनले आरोप लगाए । उनले भने, ‘यी दुईवटा कान्ड गरेपछि ती भाइले मलाई आफ्नो फेसबुक, नम्बर, रेष्टुरेन्टका मानिसहरु, मोबाइल पसलको भाइको नम्बर ब्लक गरेछन् । यतिसम्म पनि ठिकै हो । मैले आफ्ना नजिक भएकाहरुलाई ती भाइलाई चाहिँ बहिष्कार नै गर भनिसकेको थिएँ ।’

अनिलका अनुसार उनले मोबाइलको केही पैसा पनि तिरिदिएका छन् । तर अब समस्या के भयो भने ती व्यक्तिले अनिलले उनीसँग लिएको १ लाख रुपैयाँ फिर्ता मागिरहेका छन् । उनले भने, ‘उसको पैसा चाहिँ मैलै दिनैपर्ने तर मैले उसको नाममा तिरिदिएको पैसा चाहिँ वास्ता छैन । के यो सही हो ?’

उनले अब यसका लागि आफूले प्रहरीमा उजुरी दिन लागेको जानकारी दिए । यसलाई उनले ठगी बताएका छन् । उनले आफूले लगाएको आरोपको खण्डन गर्नेहरुलाई प्रमाण लिएर आउन आह्वान गरेका छन् नभए आरोप लाग्ने चेतावनी पनि दिएका छन् । अनिल पनि रेष्टुरेन्ट र मोबाइल पसलको सबै प्रमाणसहित तम्तयार भएको बताउँछन् ।  

उनले आफूलाई फेसबुकमा तनाव दिइएको र आफूमाथि हमला गर्न खोजिएको पनि बताए । उनले अहिले पुरानो कार्यक्रमका ती आयोजकसँग पारिश्रमिकको पनि माग गरेका छन् । उनले भनेका छन्, ‘यदि म गलत छु भन्ने लाग्छ भने, म एकजना मात्रै होइन, पूरा गाउँ नै मेरो घरमा आउन् भन्ने चाहन्छु । मेरो घर चारखाल अड्डा डिल्लीबजारमा हो, आउनुहोस् । म प्रतिक्षा गरिरहेको छु ।  किन तपाईंहरुले मेरो नाममा ठग्न पठाउनुभयो  ? तपाईंहरुले यस्तो गर्नुभएको होइन भने किन कारवाही गर्नुहुन्नँ ? र मेरो दोस्रो कार्यक्रमको पारिश्रमिक पठाउनुहोस् ।’

आफ्नो पारिश्रमिकबारे स्पष्टिकरण दिँदै उनले भने, ‘मैले ८–९ वर्ष अगाडि नेपालमा कार्यक्रम नै गर्दिनथेँ किनभने नेपालका कर्पोरेट हाउसलाई विदेशी कलाकार सस्तो लाग्छ, नेपाली कलाकार त्यति महँगो लाग्छ । मेरो केसमा झन् उनीहरुले तिर्नै सक्दैनन् ।’

आयोजकले निर्धारण गरिदिएको उनको पारिश्रमिकबारे कटाक्ष गर्दै उनले भने, ‘ तपाईंहरुले भनेको पैसामा मैले काम गर्ने हो भने मैले कुनै पनि महोत्सव चाहिँ छुटाउँदैनथेँ होला । ६०–७० हजारमा मैले काम गरेको भए हरेक महोत्सवमा मेरो नाम देख्नुहुन्थ्यो होला । मेरो पारिश्रमिक तपाईंहरुले निर्धारण गर्ने होइन । मैले एकचोटि छुट गर्न सक्छु होला तर सधैं म यस्तो गर्न सक्दिनँ ।’

उनले आफूविरुद्ध गाउँ नै उर्लिएर आए पनि नडराउने बताएका छन् । उनले भनेका छन्, ‘पाँचसय जना नै आउ, पूरा गाउँ नै आउ ।  कोही पनि टोले गुण्डासँग डराउने चान्स नै छैन ।’

तर हरेकको नागरिकता र सिसिटीभी क्यामरामा फोटो लिएर मात्रै कुरा गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप