शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खोटाङ अस्पतालमा डिजिटल एक्स–रे

बिहीबार, १८ असार २०७७, १४ : ३९
बिहीबार, १८ असार २०७७

खोटाङ । जिल्ला अस्पताल खोटाङमा डिजिटल एक्स–रे (कम्प्युटराइज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ । वर्षौंदेखि मेनुअल एक्स–रे मेशिनबाट सेवा प्रवाह गर्दै आएको अस्पतालले रु १६ लाख मूल्य पर्ने डिजिटल एक्स–रे मेशिन जडान गरेर सेवा दिन थालेको छ । 

डिजिटल एक्स–रे मेशिन चलेपछि रिपोर्टका लागि सेवाग्राहीले घण्टौँ कुर्नुपर्ने बाध्यता हटेको छ । सो मेशिन चलेपछि एक्स–रे जुनसुकै समयमा पनि गर्न सकिने अस्पतालका रेडियोग्राफर कल्याण बस्नेतले बताए । ‘डिजिटल एक्स–रे ले बढीमा पाँच मिनेटमा रिपोर्ट दिन्छ’ उनले भने– ‘यसको रिपोर्ट कम्प्युटरमा आवश्यकताअनुसार जुम गरेर हेर्न सकिने र मेनुअल एक्स–रे रिपोर्टभन्दा धेरै राम्रो र छिटो हुनेछ ।’

यसलाई चौबीसै घण्टा सञ्चालनमा ल्याउन विद्युत्को विकल्पमा ब्याकअपसमेत जडान गरिएको जिल्ला अस्पतालका निमित्त प्रमुख रविनकुमार फुयाँलले बताए । अस्पतालबाट प्रवाह हुने सेवालाई छिटो र भरपर्दो बनाउने लक्ष्यले प्रविधि स्तरोन्नति गर्दै लगिने निमित्त प्रमुख फुयाँलको भनाइ छ । अब एक्स–रे गर्न निजी क्लिनिक धाउनुपर्ने बाध्यता पनि हटेको छ । विद्युत् नभएको समयमा एक्स–रे गर्दा निजी क्लिनिक सञ्चालकले सेवाग्राहीबाट दोब्बर मूल्य लिने गरेका थिए । 

सो १५ श्याको जिल्लाको एकमात्र अस्पतलालाई ५० श्याको बनाउने तयारीसाथ विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम भइरहेको छ । विसं २०४८ मा स्थापना भएको जिल्ला अस्पतालमा श्यया अभाव हुँदा कतिपय बिरामीलाई भुइँमा राखेर उपचार गराउनुपर्ने बाध्यता छ। 

यहाँका जटिल किसिमका बिरामीलाई थप उपचारका लागि राजधानी काठमाडौँ तथा तराईका जिल्ला लानुपर्ने बाध्यता छ । दुई नगरपालिका र आठ गाउँपालिकाको जिल्लाको उत्तरी क्षेत्र ऐंसेलुखर्क र दक्षिणी क्षेत्र चिसापानीमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । 

पञ्च माविमा ‘होल्डिङ’ सेन्टर 
जिल्ला भित्रिने स्थानीय बासिन्दालाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको छ । स्वदेश तथा विदेशबाट भित्रिने स्थानीय बासिन्दालाई पिसिआर परीक्षणको रिपोर्ट नआएसम्मका लागि राख्ने व्यवस्था मिलाउन दिक्तेलको पञ्च माविमा दश श्ययाको ‘होल्डिङ’ सेन्टर बनाउने तयारी गरिएको हो ।

बाहिरबाट आउनेलाई सरासर घर पठाउँदा कोरोना सङ्क्रमणको खतरा बढेकाले उनीहरुको पिसिआर परीक्षण गरेर मात्र घर पठाउने र त्यतिञ्जेलसम्म सुरक्षित तरिकाले राख्न पञ्च माविमा ‘होल्डिङ’ सेन्टर बनाउने निर्णय गरिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।

‘क्वारेन्टिनकैरुपमा प्रयोग गरिने ‘होल्डिङ’ सेन्टर निर्माणका लागि आवश्यक सामग्री नेपाल रेडक्रस सोसाइटीले उपलब्ध गराउनेछ’ उनले भने– ‘रेडक्रसले आवश्यक सामग्री उपलब्ध गराएपछि नेपाली सेनाको गोरखनाथ गणले सेन्टर व्यवस्थित निर्माण गर्नेछ ।’ सेन्टरमा मध्यपहाडी लोकमार्गमा पर्ने जयरामघाट नाकाबाट भित्रिएर दिक्तेल हुँदै घर जाने स्थानीय बासिन्दालाई मात्र राखिने छ । पिसिआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई घर पठाइनेछ भने पोजेटिभ रिपोर्ट आएका स्थानीय बासिन्दालाई उपचारमा पठाइने छ ।

होल्डिङ’ सेन्टर निर्माणका लागि पञ्च माविका व्यवस्थापन समिति, प्रधानाध्यापक लगायतसँग समन्वय गरिसकिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमित देखिएका सबै जना विदेशबाट आएका व्यक्ति भएकाले उनीहरुलाई अनिवार्यरुपमा पिसिआर परीक्षण गरेर मात्र घर पठाउने व्यवस्था मिलाउने तयारी गरिएको हो । 

दश स्थानीय तह रहेको खोटाङमा हालसम्म ४७७ जनाको पिसिआर परीक्षण गरिएको छ । कोभिड–१९ को सङ्क्रमण भए÷नभएको यकिन गर्नेक्रममा दुई नगरपालिका र आठ गाउँपालिमामा ४७७ जनाको पिसिआर परीक्षण गरिएको हो । पिसिआर परीक्षणका क्रममा जिल्लामा नौ जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले बताए ।

हालसम्म हलेसी तुवाचुङ नगरपालिकामा चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चार र ऐंसेलुखर्क गाउँपालिकामा एक जनामा सङ्क्रमण देखिएको हो । हलेसी तुवाचुङ नगरपालिकाका चार जना सङ्क्रमित उपचारपछि घर फर्किसकेका छन् भने अन्य पाँच सङ्क्रमित उपचारमा छन् । जिल्लामा हालसम्म एक हजार ५०३ जनाको आरडिटी परीक्षण गर्दा २७ जनाको पोजेटिभ रिपोर्ट देखिएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप