केन्द्रीय संस्करण
लकडाउन

लकडाउन र आत्महत्या

आत्महत्याको दर ह्वात्तै बढ्नुको प्रमुख कारण मनोसामाजिक : डा. रविन्द्र पाण्डे

person explore access_timeअसार १८, २०७७ chat_bubble_outline0

पछिल्लो समय आत्महत्या दर ह्वात्तै बढेको छ । विगत केही दिनलाई मात्र हेर्ने हो भने पनि हरेक दिनजसो १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ ।

आर्थिक वर्ष ०७५/०७६ मा पाँच हजार सात सय ५४ वटा आत्महत्याका घटना भएको प्रहरी तथ्याङ्कमा छ भने चालु आर्थिक वर्षका सुरुवाती दिनमा आत्महत्याका घटना औसत भए पनि कोरोना महामारीपछिको लकडाउनका बेलामा यो संख्या ह्वात्तै बढेको छ ।

गत वर्ष अथवा लकडाउन हुनुपूर्वको अवधिमा ३ हजार ५ सय २४ जनाले आत्महत्या गरेको पाइएको छ भने लकडाउनको अवधिमा मात्रै १५ सय भन्दा बढीले आत्महत्या गरिसकेका छन् । यसले सामान्य अवस्थामा भन्दा लकडाउन अवधिमा आत्महत्या गर्नेको संख्या बढेको देखाउँछ ।

महामारीको त्रास, लकडाउन, आर्थिक संकटदेखि महामारीले सिर्जना गरेका अन्य यावत संकट नै आत्महत्याका कारण भए पनि मुख्यगरी आर्थिक कारण नै मानिसले आत्महत्या गर्ने गरेको जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् ।

प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक समितिको असार १७ गतेको बैठकले लकडाउनको समयमा आत्महत्या रोकथाम गर्न सरकारलाई चार बुँदे निर्देशन नै दिएको छ । नेपालमा औसतमा दैनिक १६ जनाका दरले आत्महत्या गर्ने गरेको तथा आत्महत्या गर्नेमा बालबालिका र आर्थिक रुपमा सक्रिय उमेरसमूहका मानिस भएको हुँदा रोकथामका लागि अल्पकालीन र दीर्घकालीन रणनीति बनाई कार्यान्वयन गर्न समितिले गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो ।

संक्रमणले भन्दा अन्य कारणले धेरैको ज्यान गइरहेको अवस्थामा पनि सरकार गम्भीर नबनिदिँदा समस्या झनै थपिएको छ । डा. पाण्डे सरकारले कोरोनाभाइरसको महामारी रोकथाम, नियन्त्रण तथा उपचारका लागि चालेको कदम प्रभावकारी नहुँदा जनतामा निराशा छाउँदा पनि आत्महत्याको दर बढेको बताउँछन् ।

डा. पाण्डे आत्महत्या बढ्नुका कारणहरु यसरी केलाउँछन्– 

आत्महत्याका कारणहरु

गतवर्ष भएका आत्महत्याका तथ्याङ्क हेर्ने हो भने यही समय र यही अवधिको तुलनामा अहिले आत्महत्याका घटना ३० प्रतिशत बढेको छ । यसरी बढ्नुको प्रमुख कारण भनेको आर्थिक नै हो । यतिवेला मानिसहरु आर्थिक समस्याले जेलिएका छन् । कतिको जागिर गएको छ भने कति न्यून पारिश्रमिक लिन बाध्य छन् । कतिको उद्योग व्यवसाय बन्द छ त कतिको व्यापार व्यवसायमा ह्रास आएको छ ।

यस्तो अवस्थामा कसरी घर परिवार चलाउने ? कसरी बालबच्चा पढाउने ? बिरामी भए कसरी उपचार गर्ने ? कोरोना संक्रमण हुने पो हो किजस्ता कुराले तनावमा आउने र धान्न सक्दिन कि भन्ने डरले आत्महत्यालाई रोज्ने गरेको पाइन्छ । ऋण लिएर व्यापार व्यवसाय सञ्चालन गर्दै आएकाहरु व्यापार व्यवसाय ठप्प हुँदा कसरी ऋण तिर्ने ? भन्ने तनावमा आउँदा आत्महत्या गर्ने गरेको पाइन्छ । अहिले आत्महत्या गर्नेमा युवा वर्ग नै धेरै देखिएको छ ।

युवा पुस्तामा करियरको चिन्ता हुने र यसमा समस्या आउनासाथै आत्महत्याको बाटो रोज्ने गरेको पाइन्छ । लामो समयको लकडाउन र संक्रमणको डरले युवा पुस्तामा मनोवैज्ञानिक असर देखिएको छ । युवा पुस्ताका लागि राज्यले विशेष योजनासहितको प्याकेज दिन जरुरी छ । अन्य देशले आफ्ना नागरिकलाई कोरोना महामारी सुरु भएलगत्तै राहत प्याकेज ल्यायो तर नेपालमा पुरै बेवास्ता गरियो, यसले पनि फ्रस्ट्रेसन बढेको पाइन्छ ।

त्यसैगरी, अर्को वर्ग जो पहिलेनै मानसिक रोगी छन् । मानसिक रोगको नियमित औषधि सेवन गर्ने तर यतिबेला शहरबाट गाउँ गएर बसेकाहरु जसले, नियमित सेवन गर्नुपर्ने औषधि पाएका छैनन् । फेरि, मानसिक रोगको औषधि बिना प्रेस्क्रिप्सन खरिद गर्न पनि पाइँदैन । उनीहरु काठमाडौँ आउन पाएका छैनन् । एकातिर कोरोनाको त्रास, अर्कोतिर आर्थिक, त्यसमाथि मानसिक समस्याले आत्महत्या गर्ने बढेको पाइएको छ । डिप्रेसनमा रहेका व्यक्तिहरुमा औषधि छुट्यो भने अवस्था जटिल बनिदिन्छ । आत्महत्याको प्रमुख कारण डिप्रेसन हो ।

अर्को भनेको क्वारेन्टिनमा बसेका तथा क्वारेन्टिनबाट घर फर्किएका व्यक्तिले आत्महत्या गरेका छन् । हाम्रो देशको क्वारेन्टिनको अवस्थाले झनै मानिसहरुलाई आत्महत्यातर्फ प्रेरित गरेको छ । क्वारेन्टिनमा बसेकामध्ये कसैलाई संक्रमण भएमा अपराधीलाई जस्तो समाउने र आइसोलेशनमा लिएर राख्ने कार्य भयो । अव्यबस्थित क्वारेन्टिन, रिपोर्ट आउन १०/१२ दिन लाग्ने अवस्था, क्वारेन्टिन तथा आइसोलेसनमा हुने असुविधा एवम् कोरोना संक्रमण लागेपछि मृत्यु हुन्छ वा घर फर्किएपछि परिवारजनमा रोग सर्छ भन्ने तनावले पनि आत्महत्या बढ्न प्रेरित गरेको छ ।

अस्पताल, स्वास्थ्यकर्मी तथा राज्य नै कोरोना संक्रमणमा केन्द्रित हुँदा मानसिक रोग लगायत दीर्घरोग भएका व्यक्तिलाई अन्याय भएको छ । उनीहरुमध्ये औषधि किन्न नसक्ने, चिकित्सक भेट्न नसक्ने, अस्पतालले पनि कोरोनाको आँखाले हेर्ने, अस्पतालमा संक्रमण भएको समाचारले अस्पताल जान डर मान्ने, आयस्रोत घटेको हुँदा उपचार बहन गर्न नसक्ने जस्ता कारणले दीर्घरोगी, गर्भवती, सुत्केरी लगायतलाई मनोसामाजिक असर देखा परेको छ ।

आत्महत्या गर्ने अर्को वर्ग हो किशोर–किशोरी । प्रेम सम्बन्धमा रहेका किशोर किशोरीहरु एक अर्कालाई भेट्न नपाउँदा, कुराहरु शेयर गर्न नपाउँदा तथा डेटिङ गर्न नपाउँदा फ्रस्ट्रेसनमा गएको पाइएको छ । यस्तो अवस्थामा भावाबेगमा आएर आत्महत्यासम्म पुगेको पनि पाइएको छ ।

कतिपय अविवाहित अनि विवाहइतर सम्वन्धमा रहेकाहरुमा अनिच्छित गर्भधारणका कारण आत्महत्या गर्ने गरेको पाइएको छ । त्यसैगरी परिवार नियोजनको साधनको उचित उपलब्धता नहुँदा पनि समस्या बढेको छ ।

बालबालिकाहरुले पनि आत्महत्या गरेको तथ्याङ्क छ । अहिले नेपालमा बालबालिकामा कोरोना संक्रमण बढेको छ । उनीहरुमा जता पनि कोरोना कोरोना भनेको सुन्दा अनि संक्रमण भइहालेमा परिवारभन्दा पर एक्लै बस्नुपर्छ भन्ने बुझाइले मनोसमस्या उत्पन्न हुने सम्भावना बढी छ । त्यसैले बालबालिकाप्रति बेलैमा अभिभावकले सही जानकारी दिनु तथा घरमै बस्न प्रेरित गर्नु जरुरी छ ।

कोरोना परीक्षण गर्दा आरडीटी पोजेटिभ देखिएका मानिसले पनि आत्महत्या गरेको पाइएको छ । यो हुनुमा कोरोना लाग्यो, अब परिवारमा पनि सर्छ, समाजले एक्लो बनाउँछ तथा घृणा गर्दछ भन्ने डरले पनि आत्महत्या गरेको पाइन्छ । नेपालमा मात्रै होइन, अन्य देशमा पनि कोरोना संक्रमण भएका व्यक्तिहरुले आत्महत्या गरेको पाइएको छ । त्यसैले कोरोना संक्रमण भएका व्यक्तिहरुलाई मनोपरामर्शको आवश्यकता पर्छ । आम नागरिकलाई, क्वारेन्टिन तथा आइसोलेसनमा रहेका व्यक्तिलाई मनोपरामर्शको जरुरत छ ।

वास्तवमा कोरोना यो हो, कोरोना लाग्दैमा मरिहाल्ने होइन र अरुलाई नसार्न यसो गर्ने भन्ने खालको चेतना नहुँदा पनि समस्या देखिएको छ ।

आत्महत्याको दर घटाउन र मनोवैज्ञानिक असरबाट बचाउने तरिका

–व्यापार व्यवसाय गर्नेहरुमा मनोसामाजिक असर बढी देखिएको छ र यो अझै बढ्ने खतरा छ । व्यवसाय गर्नेको घरभाडा महँगो छ, स्टाफ छन्, बैंकको लोन छ तर व्यवसाय चलेको छैन । यस्तो अवस्थामा पनि सरकारले उद्योगी व्यवसायीलाई छिटो कर तिर्न अल्टिमेटम दिन्छ तर उनीहरुका लागि कुनै राहत प्याकेज ल्याउँदैन । सरकारले व्याजमा सहुलियत दिने, करमा छुट दिने, अवस्था सामान्य भएपछि कर तिर्न सक्ने व्यवस्था गरिदिने हो भने व्यवसायीलाई हौसला मिल्ने थियो । यस्तो संकटको अवस्थामा सरकारले जनताका लागि दिन सक्नेसम्मको सहुलियत कसरी दिन सकिन्छ भनेर अन्तर्राष्ट्रिय अभ्यास हेर्नुपर्दछ । ब्यबसायमा बिस्थापित भएका तथा बेरोजगारको लागि उत्पादन र वितरणको क्षेत्रमा पुनर्स्थापना गर्नुपर्दछ ।

–युवा पुस्तालाई प्रोत्साहनका लागि राज्यले विशेष योजनासहितको प्याकेज दिन जरुरी छ ।

–क्वारेन्टिनमा राखिएकाहरुको विगतको अवस्थाबारे बुझ्ने कोसिसै गरिएको पाइएन । क्वारेन्टिनमा लैजानु अगाडि उसको पारिवारिक अनि व्यक्तिगत स्वास्थ्य विवरण जानकारी लिनुपर्छ । कसलाई के रोग छ, कस्ता औषधिको प्रयोग गरिरहेको छ, सवै जानकारी राखेर त्यही अनुसारको व्यवस्था हुने हो भने खाइरहेको औषधि छुटेर हुने हार्ट एट्याक तथा डिप्रेसनमा आएर हुने आत्महत्या न्यूनीकरण गर्न सकिन्छ । साथै क्वारेन्टिनमा बस्नेहरुको मृत्यु कोरोनाले भन्दा अन्य कारणले भएकोतर्फ राज्य सचेत हुनुपर्दछ ।

–क्वारेन्टिनमा बसेकाहरुलाई कोरोना संक्रमणको बारे सहि जानकारी दिने, मनोसामाजिक परामर्शको व्यवस्था गर्ने, मोटिभेशनल कक्षा संचालन गर्ने, उनीहरुलाई ध्यान, योग तथा शारीरिक व्यायम गराउने साथै मनोरञ्जनका लागि विभिन्न खेलकुद तथा अन्य सांगितिक वातावरणको व्यवस्था गरिदिने हो भने रोग लाग्नबाट पनि उनीहरु बच्नेछन् र मनौवैज्ञानिक रुपमा पनि उनीहरु बलियो बन्नेछन् ।

–क्वारेन्टिनको १४ दिनको अवधिमा कोरोनाबाट डराउने होइन बरु कसरी सतर्क हुने भन्नेबारे जानकारी दिने, उनीहरुलाई त्यो अवधिमा कोरोनाकै बारेमा ज्ञान दिने हो भने पनि उनीहरु निस्किएर अरुलाई आफूले पाएको ज्ञान बाँड्ने थिए जसले गर्दा स्थानिय स्तरमा जनचेतना बढ्ने थियो ।

–त्यसैगरी, गाउँ गाउँमा बसोबास गर्ने मानसिक रोगीहरुलाई शहरबाट छोराछोरी तथा आफन्तले औषधि पठाउने गरे पनि लकडाउनका कारण पठाउन नपाउँदा नियमित सेवन गर्नुपर्ने औषधि छुट्दा समस्या देखिएको छ । यसका लागि हरेक स्थानीय तहमा दीर्घरोगका औषधि राख्ने व्यवस्था हुन अत्यन्त जरुरी छ, साथै मानसिक रोग र दीर्घ रोगका औषधिहरु निःशुल्क वितरण गर्नु अत्यन्त आवश्यक छ । यो भएमा मानसिक रोग तथा दीर्घरोगजन्य कारणबाट हुने मृत्यु तथा आत्महत्याको दर घट्ने थियो । त्यसैगरी धेरै व्यक्तिको आयआर्जनको बाटो बन्द भइदिँदा दैनिक सेवन गर्नुपर्ने औषधि पनि खरिद गर्न नसकेर समस्या थपिएको पाइएको छ । यसबारे सम्वन्धित निकायले ध्यान दिनुपर्छ ।

–आत्महत्या गर्नेमा किशोरावस्था र बालबालिकाहरु पनि देखिएका छन् । यसलाई न्यूनीकरण गर्न बालबालिकाहरुलाई कोरोनाको बास्तविकता बताउने, कोरोना के हो, यसबाट बच्न के गर्ने अनि कोरोना लागेमा के गर्नेबारे बेला बेलामा उनीहरुले बुझ्ने भाषामा सचेत गराइरहने ।

–बालबालिकालाई समाचारहरुमा देखिएका दृश्यहरु जस्तोः चिकित्सक नर्सहरुले पीपीई लगाएको, विरामीलाई भेन्टिलेटरमा राखेको, विरामीको मृत्युभएको अनि अन्तिम संस्कार गर्दै गरेका जस्ता सनसनीपूर्ण दृश्यहरु हेर्न नदिने ।

–बालबालिकालाई सामाजिक संजालको पहुँच भन्दा टाढै राख्ने । यूट्यूव टेलिभिजनमा आउने सनसनीपूर्ण समाचारहरुबाट बालबालिकालाई टाढा राख्ने । सकारात्मक सोचको विकास गर्न विभिन्न क्रियाकलापहरु गराउने ।

–बालबालिकालाई घरभित्र गराउन सकिने विभिन्न क्रियाकलापहरु जस्तोः सेल्फ स्टडीमा प्रेरित गर्ने, खेल खेलाउने, विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप गर्न लगाउने, रचनात्मक क्रियाकलाप गर्न लगाउने तथा अभिभावकले गुणस्तरीय समय दिने गर्नुपर्दछ ।

– बालबालिकामा कहिले स्कूल खुल्छ, अव एक वर्ष ढिला हुने पो हो कि भन्ने छ । अभिभावक तथा स्कूल कलेजले आफ्ना विद्यार्थीहरुलाई कसरी स्तरीय शिक्षा प्रदान गर्न सकिन्छ भनेर मेहेनत गर्नुपर्दछ । साथै बालबालिकालाई यति समय स्कूल कलेज खुल्दैन भन्ने जानकारी दिएमा उनीहरु मानसिक रुपमा तयार भएर बस्छन् । वा त्यो समयसम्म आफूहरुले गर्नुपर्ने क्रियाकलाप वा पढ्नुपर्ने पाठ्यक्रममा केन्द्रित हुन पाउँछन् । अनिश्चितताले बालबालिकामा मानसिक असर परेको देखिन्छ ।

कोरोना संक्रमणको कारण कृषि, पशुपंक्षी पालन तथा औषधिको बाहेक अन्य पेशा तथा ब्यबसाय संकटमा परेका छन् । सरकारले बेरोजगार युवालाई उत्पादन, वितरण तथा डिजिटल ब्यबसायबारे सहजीकरण गर्नु जरुरी छ । व्यक्तिले जब बिकल्प देख्दैन, उसले आत्महत्याको बाटो रोज्दछ । ब्यबसाय तथा रोजगारी संकटमा परेमा सरकारले सहयोग गर्छ भन्ने आत्मविश्वास आम नागरिकका स्थापित गर्नु अभिभावकरुपी सरकारको दायित्व हो । कोरोना संक्रमण अनिश्चितकालसम्म रहने अवस्था भएकोले प्रत्येक स्वास्थ्य संस्थामा मनोपरामर्शदाताको ब्यबस्था गर्ने, जनतालाई आत्मबल बढाउने कार्यक्रम ल्याउने, भ्रष्टाचार र ढिलासुस्ती तथा गैह्रजिम्मेवारीपनलाई निरुत्साहित गर्ने, सरकार र जनताबीच सम्बाद र सम्बन्ध बढाउने, तीनै तहका जनप्रतिनिधि जनताको घरदैलोमा गएर समस्या सुन्ने तथा सम्बोधन गर्ने, गैह्रसरकारी संस्था तथा स्कुललाई मनोसामाजिक क्षेत्रमा खटाउने लगायतका काम गर्न ढिलो गर्नु हुँदैन ।

– जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेसँगको कुराकानीमा आधारित

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.