शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तेलको मूल्यमा मनोमानी वृद्धि : स्वचालित मूल्यप्रणाली खारेज भएको हो ?

बिहीबार, १८ असार २०७७, ११ : ०२
बिहीबार, १८ असार २०७७

काठमाडौं । स्वचालित मूल्य प्रणालीलाई लत्याउँदै पेट्रोलियम पदार्थको मूल्य मनोमानी ढंगले निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको र भारतीय आयल कर्पोरेसनबाट प्राप्त भएको मूल्यसूचीअनुसार तेलको मूल्य बढेर आएको भन्दै निगमले बुधबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २/२ रुपैयाँको दरले मूल्य वृद्धि गरेको छ । पछिल्लो निर्धारित मूल्य अनुसार काठमाडौंमा पेट्रोलको मूल्य १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ८७/८७ रुपैंया कायम भएको छ । 

स्वचालित मूल्यप्रणाली एक महिनामा २ पटक भन्दा बढी मूल्य वृद्धि गर्न पाइँदैन । त्यस्तै एकपटकमा २ प्रतिशत भन्दा बढी मूल्यवृद्धि गर्न मिल्दैन । यो हिसाबले पेट्रोलमा २ रुपैंया मात्रै मूल्य बढाउन सक्थ्यो । तर निगमले पेट्रोलको मूल्यमा एकैपटक ५ रुपैयाँ मूल्य बढाएको हो ।

के हो स्वचालित मूल्यप्रणाली ?

स्वचालित मूल्य प्रणाली पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने प्रक्रिया हो । पेट्रोलियम पदार्थको मूल्य बढ्दा हुने हरेक दिन हुने आन्दोलनलाई चिर्न ६ वर्षअघि निगमले उक्त मूल्यप्रणाली कार्यान्वयनमा ल्याएको थियो । 

उक्त प्रणालीअनुसार हरेक अंग्रेजी महिनाको १ र १६ तारिखका दिन मूल्य समायोजन हुने व्यवस्था गरिएको थियो । त्यस्तो मूल्य भारतीय आयल कर्पोरेसनले निगमलाई पठाएको मूल्यसूचीका आधारमा निर्धारण हुने गथ्र्यो । तर, मूल्य घटबढ भए पनि दुई सातामा २ प्रतिशत भन्दा बढी मूल्य घटबढ भने नहुने व्यवस्था गरिएको थियो । 

एकैपटक उच्च मूल्यवृद्धि हुँदा कुनैबेला तेलको अवैध कारोबार र स्टक राख्ने प्रवृत्ति मौलाउने र कुनैबेला बजारमा तेल नै नपाइने खतरा आउनसक्ने भएकोले मूल्यमा धेरै उतारचढाव गर्न नसक्ने व्यवस्था गरिएको हो ।

 अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेपछि मूल्य घट्ने डरले पम्पहरुले तेलको माग नै नगर्ने तथा मूल्य अत्यधिक बढेको अवस्थामा अनावश्यक स्टक राखेर वस्ने प्रवृत्ति देखिएपछि निगमले त्यस्तो व्यवस्था गरेको थियो । तर, घाटामा गएको निगमलाई नाफामा पुर्याउने सूत्रको रुपमा रहेको स्वचालित मूल्यप्रणालीलाई निगम आफैंले लत्याएको छ । 

गल्तीलाई टेकेर अर्को गल्ती

गत चैत १९ गते निगमले पेट्रोल, डिजेल र मट्टतेलको मूल्य १०÷१० रुपैयाँले घटाएको थियो । त्यतिबेला काठमाडौंमा १०६ रुपैयाँ पर्ने पेट्रोलको मूल्यलाई घटाएर ९६ रुपैंयामा झारेको थियो । त्यतिबेला ९५रुपैंया रहेको डिजेल र मट्टितेलको मूल्यलाई ८५ रुपैंयामा झारेको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको भन्दै निगमको सञ्चालक समिति बैठकले विशेष निर्णय गर्दै मूल्य घटाएको निगमले जनाएको थियो । 

जबकी त्यतिबेला देश कठोर लकडाउनको अवस्थामा थियो । देशमा पेट्रोलियम पदार्थको खपत नै ज्यादै न्यून थियो । त्यस्तो अवस्थामा प्रचलित समायोजन प्रणालीलाई लत्याएर उपभोक्ताको लागि भन्दै विशेष निर्णय गर्नुको अर्थ थिएन । 
तर निगमले पेट्रोलियम पदार्थको मूल्य १० रुपैंयाले घटाएपछि पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य गिरावट हुन रोकिएन । तर, त्यसको करिब साढे २ महिनासम्म निगमले मूल्य समायोजन गरेन । 
करिब ५ पटकको समायोजन समयलाई निगमले लकडाउनको समय भन्दै टार्यो । 

असार १ गतेदेखि लकडाउन केही खुकुलो भएसँगै अहिले पेट्रोलियम पदार्थको माग बढ्दै गएको छ । तर नेपालमा पेट्रोलियम पदार्थको माग हुन सुरु भएसँगै निगमले मूल्य एकैपटक बढाएको छ । अहिलेको मूल्य समायोजन भने सञ्चालक समितिबाट नभएर व्यवस्थापकीय तहबाटै भएको हो । पर्याप्त रुपमा मूल्य नघट्नु र घटेको मूल्यसँग पनि उपभोक्ताले ‘इन्टरटेन’ गर्न नपाउँदै फेरि उच्च रुपमा मूल्य बढ्दा उपभोक्ताहरु आहत भएका छन् । समयमा मूल्य नघटाइदिँदा सरकारले निगमको उच्च नाफा देखाउँदै कर बढाइदिएको छ ।

स्वचालित मूल्यप्रणाली अब के हुन्छ ? 

निगमको व्यवस्थापन तहबाटै स्वचालित मूल्यप्रणाली विपरित पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएपछि स्वचालित मूल्यप्रणाली नै खारेज भएको आशंका समेत गरिएको छ ।

 नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमले यसअघि मूल्य घटाइएजस्तै यसपटक ५ रुपैंया मूल्य बढाइएको बताउँछन् । तर, अर्को पटकदेखि कुन प्रणाली लागु हुन्छ भन्ने प्रश्नमा उनको प्रष्ट जवाफ छैन । यसको अर्थ निगमले अर्कोपटक पनि आईओसीबाट धेरै मूल्य बढेर आयो भने एकैपटक २ प्रतिशत भन्दा बढी मूल्य बढाउँछ । 

अहिले एकैपटक ५ रुपैयाँ मूल्य बढाउँदा धेरै पेट्रोलियम स्टक हुने पम्पहरुले उच्च लाभ प्राप्त गरेका छन् । तर, भविष्यमा मूल्य घटेर आएको अवस्थामा निगमले यसैगरी उच्च दरमा मूल्य घटाइदिने हो भने त्योबेला हुने नोक्सान उनीहरुले व्यहोर्छन् कि व्यहोर्दैनन् भन्ने प्रश्न उब्जिएको छ । यदि त्यस्तो अवस्थामा मूल्य घट्ने डरले पेट्रोलियम पदार्थको माग नै गरेनन् भने त्योबेला हुने अभावलाई निगमले कसरी धान्छ भन्ने प्रश्न उब्जिएको छ ।  

अहिले अन्तराष्ट्रिय बजारमा तेलको भाऊ पुरानै अवस्थातर्फ उन्मुख भएको छ । बिहीबार बेलायती तेल बजार ब्रेन्टमा कच्चा तेलको मूल्य ४२ डलर प्रतिब्यारेलको हाराहारीमा कारोबार भइरहेको छ । 

लागत मूल्य बढेपछि निगमले पनि मूल्य बढाउनु स्वभाविक हो । तर, प्रचलित मान्यता अनुरुप मूल्य समायोजन नगरेर निगमले आफैलाई जोखिममा लगेको उपभोक्ताकर्मीहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप