शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

झम्सीखेल बैठकमा वामदेवले भने- ‘यस्तो व्यक्तिवाद त संसारमै छैन, म दायाँबायाँ हुन्न’, बादल भन्छन्- ‘म यहीँ छु’

बुधबार, १७ असार २०७७, २२ : ४५
बुधबार, १७ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक झगडा उत्कर्षमा पुगेको छ  । भोली बस्ने स्थायी कमिटी बैठकमा वारपार गर्ने रणनीतिमा दुवै पक्ष लागेका छन् । स्थायी समिति बैठकमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने फायर खोलेपछि उत्कर्षतर्फ अघि बढेको नेकपाभित्रको राजनीति एकले अर्कोलाई नगलाए र नथकाएसम्म पछि नहट्ने स्थितिमा पुगेको छ । 

ओली पक्ष कुनै हालतमा राजीनामा नदिने र प्रचण्ड–नेपाल समूह ओलीको राजीनामा नआएसम्म अघि बढ्नै नदिने अडानमा छन् । त्यसका लागि दुवै पक्षले आ–आफ्नो शक्ति प्रदर्शन गर्ने तयारीमा जुटेका छन् ।  बुधबार दिउँसो दिनभर केपी शर्माओली पक्ष र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहका नेताहरु छुट्टाछुट्टै बैठक बसे । ती बैठक ललितपुरको झम्सीखेलदेखि, बालुवाटार, सिंहदरवार र नयाँ बानेश्वरसम्म भए । तर ती बैठकमा आ–आफ्नो अडान नछोड्ने अडानमा दुवै पक्ष दृढ देखिए ।  बैठकमा दुवै पक्षले बिहीबार बस्ने स्थायी समितिमा प्रस्तुत हुने रणनीतिबारे छलफल गरे । 

ललितपुरको झम्सीखेलमा बसेका प्रचण्ड नेपाल समूहका ३० भन्दा बढी नेताहरुले यसअघि कतैपनि नखुलेका रामबहादुर थापा ‘बादल’ र वामदेव गौतमको सातो बोलाइयो ।  उक्त बैठकमा नेताहरुले खुलेरै भने– ‘तपाईहरु (गौतम र थापा)ले कित्ता क्लियर गर्नुस् । अब यस्तो लिंगरिङले हुँदैन’, नेताहरुको केरकारमा दुवै नेताहरुले यही समूहमै रहने आश्वसन दिएका थिए । 

‘तपाईहरुको स्ट्याण्ड के हो ? खुलेर भन्नुुस्’, बैठकमा सहभागी गौतमको भनाई उदृत गर्दै एक नेताले  रातोपाटीसँग भने- ‘तपाइहरुले मेरो विश्वास नै गर्नुभएन । म राष्ट्रको एकता र पार्टी एकताको पक्षमा सँधै रहन्छु ।’  करिब तीन घण्टा चलेको बैठकमा यसअघि उठेका प्रश्न, नेताहरुको प्रस्तुति र गुट परिवर्तनका बारेमा छलफल भएको थियो । बैठकमा गौतमलाई यसअघि ओलीको आश्वसनमा फसेको भन्दै अबको लाइन के हो ? भनेर सोधिएको थियो । 

नेताहरुको केरकारपछि गौतमले ओलीको नामै नलिई उनीप्रति इंगित गर्दै पार्टीको मातहतमा व्यक्ति हुनुपर्ने तर व्यक्तिको मातहतमा पार्टी चलेको भन्दै यस्तो व्यक्तिवाद संसारमा कही नभएकाले यस्तो प्रवृतिले कसैलाई फाइदा नगर्ने बताएका थिए । 

‘यस्तो घमण्ड गर्ने संसारमा कोही नेता देखेको छैन । ओलीबाट केही हुँदैन । देश र कम्युनिस्ट पार्टी पनि उँभो लाग्दैन’, गौतमको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘म यता लाग्यो, उता लाग्यो, पेण्डुलम भयो भन्ने साथीहरुलाई लाग्छ तर म कतै त्यसरी लागेको होइन । म चट्टानी अडानमा छु र ओलीबाट देश र पार्टी चल्दैन भन्नेमा ढुक्क छु ।’ गौतमले पटक–पटक दोहोर्याएका थिए, ‘म दृढ रुपमा उभिएको छु । पहिला मलाई धोका र षड्यन्त्र गरियो । तर मैले पार्टीकै लागि भनेर यो प्रयास र पहल गरेको थिएँ ।’ उनले एउटा निर्णयमा पुग्नुपर्ने र पार्टी मिलाउने भनेरै लागेको भन्दै प्रचण्ड र माधव नेपाललाई विश्वास दिलाउने पटक–पटक प्रयास गरेका थिए । 

गौतमको भनाईअनुसार आफुले ओलीलाई विश्वास गरेपनि उनले सँधैं छल गरेको तथा धोखा दिएको बताएका थिए ।  गौतमपछि रामबहादुर थापा ‘बादल’लाई नेताहरुले तपाईको स्ट्याण्ड के हो भनेर सोधेका थिए । थापाले आफु धेरै नबोल्ने र तर राष्ट्रको हितमा उभिन तयार हरेको भन्दै शंका नगर्न आग्रह गरेका थिए । उनले आफु मन्त्री पदमा बसेकाले खुल्न असहज भएको भन्दै संगठनको हितमा नै अगाडि बढ्ने विश्वास दिलाएका थिए । दुबै नेताको केरकारपछि ओली सहमतिमा नआए स्थायी समितिबाट निर्णय गरेर उक्त निर्णय मान्न बाध्य तुल्याउने रणनीति तय गरेर नेताहरु झम्सीखेलबाट हिँडेका थिए ।

उता, प्रचण्ड–नेपालको रणनीतिक कसरत चलिरहेका बेला केपी ओलीले पनि आफु निकटका नेताहरुसँग बालुवाटारमा दिनभरजसो छलफल गरे । बिहान दिउँसो र बेलुका गरी ओलीले आफु अप्ठेरोमा परेको र सहयोग गर्न नेताहरुलाई आग्रह गरेका थिए । ओली निकट एक सदस्यकाअनुसार गृहकार्य भइरहेपनि कुनै निश्कर्षमा नपुगेको बताए । उनले भने, ‘बिहान ओली कमरेडले बालुवाटारमै बोलाएर छलफल गर्नुभयो, त्यसपछि स्थायी कमिटी बस्यो । बाक्लो ढंगले कुराहरु त भैरहेको छ । साँझ पनि कुरा भयो । भोलि बिहान अध्यक्ष कमरेडले बोलाउनुभएको छ ।’ 

ती सदस्यकाअनुसार जतिसुकै छलफल र बहस भएपनि निकासको बिन्दु पहिल्याउने भनेको दुई अध्यक्ष बसेरै निस्कने बताए । ‘दुई अध्यक्ष बसेर छलफल गर्नुपर्छ, कुरा गर्नुपर्छ र निश्कर्षमा पुग्नुपर्छ’, उनले भने, ‘उहाँहरु दुई जनाले स्थायी समिति र सचिवालयका साथीहरुका कुरा सुन्नुहुन्छ । पार्टी विघटन हुँदैन । पार्टी चाँही फुट्दैन । त्यसका लागि हामी लागिरहेका छौ । यसमा दुवै अध्यक्ष सचेत हुनुहुन्छ ।’

यो पनि....

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप