शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस नेता पौडेलको प्रमलाई प्रश्न : भारतलाई किन चिढ्याउनुभयो ?

बुधबार, १७ असार २०७७, १७ : ५८
बुधबार, १७ असार २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको शैली र कार्यशैली नै नराम्रो भएको भन्दै मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । 

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले नेकपाले प्राप्त गरेको जनमत ऐतिहासिक भएको भन्दै सो जनमतअनुसार सरकारले काम गर्न नसकेको टिप्पणी गरेका हुन् ।

 उनले भने,‘नेकपाले प्राप्त गरेको यो जनमत  सायद अरुले प्राप्त गरेको छ । प्रदेश सरकारको कुरा गर्दापनि ७ वटामध्ये ६ वटामा नेकपाको सरकार छ । जनताले यो भन्दा बढि समर्थन कसैलाई दिन सक्दैनन् । म प्रश्न गर्न चाहन्छु जनताले कतिसम्म समर्थन गर्यो भने यो सरकारले काम गर्ने हो ?’

पौडेलले वर्तमान प्रधानमन्त्री ओलीले नक्सा पारित गरेको पर्दाभित्र आफूले गरेका सबै कुकृत्य लुकाउन खोजिएको आरोप लगाएका छन् । वर्तमान सरकारले जनताको जनजीवन उकास्न केहीपनि काम नगरेको उनको भनाइ छ ।

उनले भने,‘कोभिड नियन्त्रणको लागि केहीपनि नगर्ने, अनि सबै कुरा नक्सा जारीमा देखाउन खोज्ने । यसकै पर्दाभित्र धेरै नराम्रा काम भए । यो सरकारले कोभिड–१९ नियन्त्रण गर्न सकेन् । मैले पूर्वाग्रही भनेर भनेको होईन् । कोभिडको जोखिमका बावजुदपनि सरकारको विरोधमा सडकमा विरोध तथा प्रदर्शन भैरहेका छन् । प्रतिपक्षको पनि सरकारले धेरै सहयोग प्राप्त गरेको स्थिति हो । यति धेरै सहयोग प्राप्त हुँदापनि यो सरकारले केहीपनि गर्न सकेन ।’
उनले प्रधानमन्त्री ओलीले भारतबाट नेपाल आउने नेपालीहरुलाई नआउ भनेर दिएको अभिव्यक्ति उल्लेख गर्दै भने–‘बरु उहाँले के भन्नुपर्दथ्यो भने म तपाइँहरुलाई बोलाउँछु । धैर्यतासहित अहिले त्यहीँ बस्नुहोस् । म घर पुर्याउँछु भन्नुपर्दथ्यो । प्रधानमन्त्रीले यति भनिदिएको भए कोरोना नियन्त्रणमा सहयोग पुग्दथ्यो । तर, उहाँको अभिव्यक्तिका कारण आज कोरोना नियन्त्रण हुन सकेन ।’

उनले सरकारले राम्रो व्यवस्थापन गर्न नसक्दा देशभरिका क्वारेन्टिन भेडाबाख्राको खोरजस्तै भएको पनि टिप्पणी गरे ।

सरकारले प्रकाशित गरेको निर्देशिकाअनुसार लक्षण नभएकालाई अब क्वारेन्टिनमा बसेकाहरुलाई कोरोना नै परीक्षण नगरी घर पठाउने भनिएको पनि उनले आक्रोश पोखे । 

नेपालका नयाँ नक्सा पारित गर्दा त्यसको नेतृत्व प्रधानमन्त्री ओलीले गरेको कुरामा आफूहरुले प्रशंसा गरेको पनि उनले सुनाए । तर, प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने क्रममा ‘सिंह मयते जयते’ किन भन्नुभयो र भारतलाई किन चिढ्याउनुभयो ? भन्ने पौडेलको प्रश्न छ । भारतबाट कडा कोरोना आयो भनेर प्रधानमन्त्रीले बोलेको पनि उनले आपत्ति जनाए । 

उनले अघि थपे,‘के नेकपाभित्र भएका सबै मान्छे भारतका दलाल हुन् ? त्यसैले प्रधानमन्त्रीले आफ्नो मर्यादा कायम गर्न सक्नुभएन ’

आफ्नो पार्टीले प्रधानमन्त्री ओलीले राम्रोसँग नेतृत्व गर्न नसकेको भनेर यसअघि नै निश्कर्ष निकालेको पनि उनले स्मरण गराए । 

पौडेलले नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीको कार्यशैली र योग्यताको बारेमा प्रश्न पहिल्यै उठाइसकेको सुनाए । उनले थपे,‘कांग्रेस ५ वर्षको लागि सरकारमा जाँदैन । हामीलाई यो म्याण्डेट प्राप्त छैन । नेकपाले नै हो सरकार चलाउने । देउवाले सत्तामा जाने चेष्टा गर्नुभयो भने उहाँले पार्टीबाट समर्थन पाउनुहुुन्न ।’

उनले सरकारको कार्यशैलीका कारण आफूहरु सडकमा जानुपर्ने पनि सुनाए । यस्तो अवस्थमा पनि कांग्रेसले प्रतिपक्षी नै नभएकोजस्तो गरि समर्थन गरेको उनले स्पष्ट पारे । 

भारत र चीन नेपालका मित्रराष्ट्र भएको उल्लेख गर्दै द्धिपक्षीय सम्बन्धमा देखिएका समस्या आपसमा बसेर मिलाउन जरुरी रहेको पनि उनले स्पष्ट पारे । उनले केपी ओली प्रधानमन्त्री रहेसम्म सिमा विवाद समाधानको लागि भारतसँग वार्ता नै नहुने ठोकुवा गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप