शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपामा तीनथरी धारणा : कस्तो बन्दैछ राजीनामाको ‘चक्र’मा ओलीको रणनीति ?

बुधबार, १७ असार २०७७, १७ : ०४
बुधबार, १७ असार २०७७

काठमाडौं । मंगलबार र बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठकमा अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताले नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेपछि सो पाटीभित्रको आन्तरिक राजनीति थप जटिल मोडमा पुगेको छ । 

यसक्रममा तीनथरी धारणाहरु सार्वजनिक भैसकेका छन् । पहिलो, ओलीको राजीनामा बाहेकको विकल्प नदेख्ने, दोस्रो, आत्मालोचनासहित सच्चिने प्रतिबद्धता जनाए विकल्प नखोज्ने र तेस्रो, ओलीले कुनै हालतमा दुवै पदबाट राजीनामा गर्न नहुने । 

यी तीन कोणबाट उठेका र उठाइएका धारणामध्ये कुन चाहिँ कार्यान्वयनमा आउँछ त्यो भने हेर्न बाँकी नै छ । कतिपयले पार्टी नै विभाजनको संघारमा पुगेको बताइरहेका बेला ओली पक्षका नेताहरुको अभिव्यक्ति र स्वयं ओलीको प्रस्तुतिमा नेकपाको भावी दिशा र भविश्य निर्भर रहने अड्कलवाजी र अनुमानहरु हुन थालेका छन् । 

बुधबारसम्मको अवस्था र अभिव्यक्ति हेर्दा स्थायी कमिटीका बहुमत सदस्यहरु ओलीको बहिगर्मनको पक्षमा देखिन्छन् । उनीहरुको दलिल छ– ‘सरकार र पार्टी सञ्चालनमा ओली असफल भैसकेकाले निकासका लागि राजीनामा दिनुको विकल्प छैन । यस्तो मत हावी भइरहेका बेला मध्यमार्गी बाटोबाट जानुपर्छ भन्ने मत पनि सक्रय नै देखिन्छ । 


दुई दिनको बैठकमा बोल्ने २२ जनामध्ये प्रायः सबैले ओलीको आलोचना गरेका छन्, राजीनामा मागेका छन् भने केहीले नेतृत्व सच्चिएर अघि बढ्नुपर्ने सुझाव पनि दिएका छन् ।  सुरुमा तय भएका एजेण्डा छाडेर मंगलबारबाट थालिएको नयाँ एजेण्डाको बहसमा ४५ सदस्यीय स्थायी समितिमा आधाजसो सदस्यहरुले ओलीको राजीनामा बाहेक अन्य विकल्प नभएको बताइरहेका बेला बिहीबारदेखि ओली पक्षका सदस्यहरुले धारणा राख्दैछन् । 

उनीहरुले ओलीको राजीनामा माग्नेहरुलाई ‘काउन्टर’ जवाफ दिने निश्चित नै छ । त्यसका लागि उनीहरुले आन्तरिक तयारी समेत गरेका छन् । जसको एक उदाहरण हो– बुधबार बिहान स्थायी समिति बैठक बस्नु अघि ओली र उनी निकटकाहरुको भेटघाट र छलफल ।  

ओली निकट भनेर चिनिएका एक स्थायी समिति सदस्य सत्यनाराण मण्डलले अहिलेसम्म आफ्नो पक्षका सदस्यहरुले धारणा राखिनसकेको भन्दै बिहीबारबाट पालो आउँने बताए । त्यसअघि विभिन्न कोणबाट छलफल र परामर्श भइरहेको भन्दै उनले यस्तो अवस्थामा पार्टीलाई दुर्घटनाबाट बचाउन सक्ने उपायका बारेमा प्रत्यक्ष अप्रत्यक्ष सम्बाद हुनु अनौँठो नभएको मण्डलले बताए ।

यसअघि बोल्ने नेताहरुका धारणा सुनेर यस्तो भैहाल्छ भन्ने अनुमान लगाउनु गलत र हतार हुने भन्दै आफूहरु उत्तेजित र आवेगमा आएर बैठकमा धारणा नराख्ने बताए । ‘हामी कसैसँग आग्रह र पूर्वाग्रहका आधारमा धारणा राख्दैनौँ । सभ्य र सुसंस्कृत ढंगले यथार्थ कुरा राख्छौ । त्यसलाई काउन्टर भन्नुस् वा जवाफी ?’, मण्डलले रातोपाटीसँग भने, ‘गल्ती भएका होलान् । गल्ती क–कसले गरेका छन्, त्यसको पनि मूल्याँकन गर्नुपर्छ र गल्ती गरेको भए आत्मालोचनासहित सच्चिनुपर्छ भन्ने हाम्रोे भनाई हो ।’

उनले पार्टी एकता र नेपालको कम्युनिस्ट आन्दोलन नै भत्काउने दिशामा स्थितिलाई जान नदिने दावी समेत गरे । पार्टीभित्र बढ्दै गएको विवादले पार्टी नै फुट्ने वा प्रस्ताव ल्याएर केपी ओलीलाई हटाउने सम्भावना नरहेको भन्दै उनले यदि त्यसो गरिए भयानक दुर्घटना निम्तिन सक्ने चेतावनी दिए । 

‘त्यसबेला कम्युनिस्ट पार्टी पनि रहँदैन । अहिलेका नेताहरु पनि रहन्छन् भन्ने ग्यारेन्टी छैन । त्यसकारण समिक्षा र छलफल अनि आत्मालोचना गर्ने प्रशस्त ठाउँ छन् । त्यहीँ माध्यमबाट अघि बढ्न सकिन्छ’, मण्डलको भनाइ छ ।
बुधबारको बालुवाटार छलफलपछि पार्टी नफुट्ने निश्चित भएको दावी समेत गरे । ‘अब पार्टी फुट्दैन । राम्रो भयो । धेरै दिनदेखि गुम्सिएर रहेका पीडाहरु पोखिइसकेका छन् । यसबाट सबैले शिक्षा लिनुपर्छ र अगाडि बढ्नुपर्छ’, मण्डलको दावी छ । 


उनले कसैले नेकपा फुट्छ वा सरकार परिवर्तन हुन्छ भनेर सपना देखेको छ भने त्यो सपनामै सीमित हुने ठोकुवा समेत गरे । उनकाअनुसार तीन–चार जना नेताले राजीनामा माग्दैमा कुनै पनि पदबाट पनि ओलीले राजीनामा नदिने भन्दै महाधिवेशन र संसदले ओलीलाई निर्वाचित गरेको बताए ।

मण्डलको यो भनाइबाट के बुझ्न सकिन्छ भने ओली प्रचण्ड नेपाल पक्षले भनेजस्तो राजीनामा गर्ने र छोड्ने पक्षमा छैनन । उनले प्रचण्ड र नेपालको सबै नाडी छामिसकेका छन् । त्यही भएर यसअघि नै ओलीले प्रचण्डलाई बोलाएरै मन्त्रिपरिषद् सदस्यहरु हेरफेरदेखि मुख्यमन्त्री समेत परिवर्तन गर्नुपरे गर्न तयार रहेको संकेत गरिसकेका छन् । त्यसो त ओलीले नेपाल र प्रचण्ड पक्षका नेताहरुलाई समेत आफ्नो पक्षमा पारेको आशंका उनीहरुले गरिसकेका छन् । 

प्रचण्ड–नेपाल र खनाल समूहका नेताहरुले साढे २ वर्षको अवधिमा ओलीको कार्यशैली चित्तबुझ्दो नभएको तथा पार्टी निर्णय कार्यान्वयन नगरेको र आफूखुसी निर्णय लाद्ने गरेको भन्दै आक्रोश पोखेपनि त्यो आक्रोश पानीको फोका बन्ने विश्वासमा ओली पक्ष विश्वस्त देखिन्छ । त्यसका लागि ओलीले आफ्ना निकटका नेताहरुलाई परिचालन गरेर नेताहरु मनाउने प्रयास पनि कायमै राखेका छन् । 


यता मध्यमार्गी बाटोको पक्षमा देखिएका मन्त्री योगेश भट्टराईले त बुधबार पार्टी विभाजनबाट जोगिन्छ भने आफु मन्त्री पदनै छाड्न तयार रहेको बताइसकेका छन् । उनले आफूमात्रै होइन, अहिलेको मन्त्रिमण्डलमा रहेका आधाजसो मन्त्रीहरुनै छोड्न तयार रहेको सार्वजनिक गरिसकेका छन् ।  यसअघि स्थायी समितिको बैठक बोलाउन माग गर्नेमध्यका २० भाइमध्ये एक देव गुरुङ सवै विषय छलफलकै क्रममा रहेकाले यसै हुन्छ भन्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘पार्टी विधि, विधान र पद्धतिको कुरा गरिएको हो । त्यसमा छलफल पनि भइरहेको छ । निश्कर्षमा पुग्नुअघि नै यस्तै हुन्छ भन्न सकिन्न,’ गुरुङले रातोपाटीसँग भने । 

अर्का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पनि पार्टी फुट्नुहुुँदैन भन्ने नै धेरै नेताको आशय व्यक्त भइरहेको भन्दै मिलन बिन्दु खोज्न र फुटबाट जोगाउन सकिने बताए । ‘बहस र छलफल हुनु सामान्य हो । कम्युनिस्ट पार्टी जीवन्त पार्टी हो त्यस्तो पार्टीमा संघर्ष, एकता र रुपान्तरणका श्रृङ्खला चलिरहन्छन् । तर त्यसैका आधारमा पार्टी फुट्छ भन्ने होइन, फुट्न पनि दिनुहुँदैन’, पौडेलको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप