शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको १०० दिन पूरा, कोरोना संक्रमित बढेको बढ्यै

बुधबार, १७ असार २०७७, १६ : ४७
बुधबार, १७ असार २०७७

काठमाडौं । सरकारले लागू गरेको लकडाउनको आज १०० दिन पूरा भएको छ । कोरोनाभाइरसको संक्रमण र जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । 

त्यसयता विभिन्न चरणमा सरकारले लकडाउनको समय लम्ब्याएपनि संक्रमित बढेको बढ्यै छन् । लकडाउनको प्रभावकारी कार्यान्वयन नहुनु, भारतबाट विना परीक्षण नेपाली नागरिकलाई प्रवेश दिनुलगायतका कारण कारण संक्रमण बढ्दै गएको बताइन्छ ।

बितेको २४ घण्टामा मात्रै नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । 

संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको छ । 

उनका अनुसार बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् । 

यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेको छ । 

यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामका ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो । मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन भएकोमा मंगलबार कोरोनाको रिपोर्ट पोजेटिभ आएको गौतमले जानकारी दिए  । 

खुकुलो लकडाउन, थप जोखिम बढ्यो
सरकारले गत जेठ २८ गते लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो । 

सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ  । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । 
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ । 

यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला छन् । 

तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न रोक लगाइएको छ । 

यस्तै यात्रुबाहक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै संक्रमणको थप जोखिम बढेको छ भने सर्वसाधारणले समेत पर्याप्त सावधानी अपनाएको पाइएको छैन । 

जोखिमकै बीच मन्त्रिपरिषद्को गत सोमबारको बैठकले खुकुलो बनाइएको लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ भनेहवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप