नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ठप्प
-सञ्चिता घिमिरे
काठमाडौँ । नागढुङ्गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन । कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो । सो आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो । निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्तिका अभावमा काम हुन नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ ।
सरकारले ४२ महिनामा निर्माण सक्ने गरी हाज्मा आङ्लो कर्पोरेशनलाई निर्माणको जिम्मेवारी दिएको थियो । जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन सो आयोजनामा लामो समयसम्म काम नहुँदा निर्धारित समयमा निर्माण सम्पन्न नहुने देखिएको महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।
उनका अनुसार निर्माणस्थलमा अहिले १०/१२ स्थानीय कामदार मात्रै छन् । उनले भने– ‘पाँचसात सय जना काम गरिरहेकामा १०/१२ जनाले के गर्नु छ र ?’ सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरे पनि कम्पनीले निर्माणको काम रोकेको थिएन । स्थानीयवासीले विरोध गरेपछि काम रोकेर कामदारलाई उनीहरुको घरघर फर्काइएको प्रमुख थापाले बताए । जापानी संस्थाले सरकारको नियमको पालना गर्दा नेपालीलाई पनि घर फर्काएको थियो भने विदेशी कामदार पनि फर्किएका थिए । बन्दाबन्दी लागू भएको एक महिनापछि विकानिर्माणलाई निरन्तरता दिइने भने पनि निर्माणस्थलमा काम गर्ने वातावरण नबनेको उनले बताए ।
उनले भने– ‘टाढाटाढाका जिल्लामा गएकालाई फर्काएर ल्याउन सक्ने अवस्था थिएन ।’ निर्माण कम्पनीले गत असोजदेखि काम शुरु गरे पनि शुरुको महिनामा कामदार र निर्माण सामग्री व्यवस्थापनको काम गरेको थियो । कतिपय सामग्री नेपाली भए पनि कतिपय जापानबाट ल्याइएको उनले बताए । कम्पनीले विस्फोटक पदार्थका लागि अनुमति पाइसकेको छैन । उनले भने– ‘हामीले मागेभन्दा आधाको मात्रै स्वीकृति पाएका छौँ ।’
निर्माण शुरु भएको पाँच छ महिनाको अवधिमा कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, जनशक्ति ल्याउनेलगायत काम अघि बढाएको सडक विभागले जनाएको छ । कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक निर्माण शुरु गरिसकेको छ । सोही आयोजनाअन्तर्गत काठमाडौँतर्फ बलम्बुसम्म दुई दशमलव पाँच किमी र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ । आयोजना हेर्ने गरी शिविर कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको छ ।
सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुङ्गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । अन्तरराष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुने विभागले जनाएको छ ।
तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् । सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।
सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुने प्रमुख थापाले बताए । माटोलाई भने सिस्ने खोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिने छ । सो स्थानमा बसपार्क, तरकारी सङ्कलन केन्द्रलगायत कक्ष हुने बताइएको छ । निर्माण सम्पन्न हुनासाथ केन्द्र धुनिबेँसी नगरपालिकामा नै हस्तान्तरण हुनेछ । केन्द्रबाट सेवा शुल्क उठाएर नगरपालिकाले आर्थिक उपार्जन गर्ने र त्यसैको व्यवस्थापनमा खर्च गर्ने गरी योजना बनाइएको थियो ।
काठमाडौँ उपत्यका छिर्ने मुख्य नाकाको चाप कम गर्न निर्माण गर्न लागिएको सो सुरुङमार्गले सञ्चालन भएको सात वर्षमा लगानी बराबरको प्रतिफल दिने अध्ययनमा उल्लेख छ । आयोजना सम्पन्न गर्न रु २२ अर्ब लाग्नेमा जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु छ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्ने नागढुङ्गा सुरुङमार्ग निर्माण महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई