मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी पदका लागि थापा र पालबीच ‘भद्र सहमति’ : एउटै गाडी चढेर कार्यक्रममा !

बुधबार, १७ असार २०७७, १२ : ४५
बुधबार, १७ असार २०७७

काठमाडौँ । नेपाल प्रहरीले एक सातापछि नयाँ नेतृत्व पाउनेछ । जसका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय शैलेश थापा क्षत्री र हरि पाल प्रहरी महानिरीक्षक (आईजीपी) का दाबेदार हुन् । स्रोतका अनुसार थापा र पालबीच एकखालको भद्र सहमति भएको छ । हाल थापाले मानवश्रोत एवम् प्रशासन विभाग र पालले कार्य एवम् अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका छन् ।

बुधबार बिहान महानगरीय प्रहरी परिसर, ललितपुरको भवन उदघाटन समारोह कार्यक्रम थियो । जसमा आईजीपी ठाकुर ज्ञवाली प्रमुख अतिथि, एआईजीहरु विशेष अतिथि, डीआईजीहरु र एसएसपीहरुलाई अतिथिको रुपमा बोलाइएको थियो ।

अतिथिहरुलाई स्वागत गर्न गेटमा परिसरका प्रहरी कर्मचारी हातमा फुलगुच्छा लिएर बसेका थिए । करिब ८ः५५ बजे बा २ झ ३३९२ नम्बरको २ तारे गाडी आयो । जुन गाडी एआईजी पालले चढ्दै आएका छन् । गाडीको अलग–अलग ढोकाबाट निस्किए, एआईजीद्वय थापा र पाल ।

यसरी एउटै गाडीमा आएको देखेपछि स्वागत गर्न बसेका प्रहरी नै अचम्मित भए । किनकि थापा र पाल नै भावी आईजीपीका दाबेदार हुन् । स्वागत गर्न बसेका एक प्रहरी भन्छन्, ‘उहाँ दुईबीच विगतका प्रतिस्पर्धीजस्तो अस्वथ्य लडाइँ देखिएन । दुवैले एक–अर्कालाई स्वीकार्ने अवस्था बनेको रहेछ । यसले संगठनको हित पनि गर्छ ।’

आईजीपीको दाबेदार थापा र पाल एउटै गाडी चढेर ललितपुर परिसरको भवन उदघाटन समारोह कार्यक्रममा पुगेपछि धेरैको ध्यान उनीहरुमाथि केन्द्रीत थियो ।

कार्यक्रममा समेत एउटै सोफामा बसेका उनीहरु एकआपसमा बेला–बेला मोबाइल देखाउँदै गफिन्थे । एक अर्कासँग गफ गर्दै हाँसिरहेका थिए । उनीहरुको गतिविधिले ललितपुर महानगरका प्रमुखदेखि ललितपुर सिडिओ नै अचम्ममा परे ।

कार्यक्रममा उपस्थित एक उच्च प्रहरीले विगतमा आईजीपी बनाउन प्रहरी सङ्गठनभित्र नै पक्ष–विपक्षमा खुलेर लागेका अस्वस्थ खेल यो पटक प्रहरीमा नदेखिएको बताए ।

‘सङ्गठनका अधिकांश प्रहरी अधिकृत अहिले मौन छन् । कसैको पक्षमा बोलेका छैनन् । किनभने, विगतमा विभाजित प्रहरी सङ्गठनका अधिकृत आफूअनुकुल नेतृत्व नआएपछि पेलानमा परेको नजिरका कारण पनि यो पटक सङ्गठन मौन देखिन्छ । प्रहरी सङ्गठनभित्र यस्तो मौनता देखिनुलाई सकारात्मक रुपमा हेरिनुपर्दछ,’ उनले भने ।

थापा योजना बनाउन सिपालु मानिन्छन् भने मिजासिला स्वभावमा पाल ‘एक्सन’मा दरिला छन् । आईजीपी जो बने तापनि स्वस्थ प्रतिष्पर्धाबाट बन्नुपर्ने दुवैजनाको एउटै आवाज छ ।

सङ्गठनको नेतृत्व पावर र पैसाबाट भन्दा पनि आफ्नो पेशागत क्षमता–योग्यतालाई प्रस्तुत गर्दै अगाडि बढेमा यसको गरिमा चुलिँदै जाने शैलेश थापाले रातोपाटीलाई बताए ।

उनीहरुले ‘हामी दुईमा जो आईजीपी भएपनि आपत्ति नहुने’ बताएका छन् । विगतमा जस्तै उनीहरु एक अर्काविरुद्ध दोषारोपणमा समेत उत्रिएका छैनन् । जो आईजीपी भएपनि एआईजीले सहयोग गर्ने उनीहरुको भनाइ छ ।

आईजीपीको बढुवाका लागि गृहमन्त्रालयले मन्त्रिपरिषदमा ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर आईजीपी बनाउनका लागि योग्य उम्मेदवारको नाम सिफारिस गर्छ । मन्त्रिपरिषदको निर्णयले प्रहरी महानिरीक्षक तोक्ने कानूनी प्रावधान छ ।

विगतका दिनमा प्रहरीको नेतृत्व सम्हाल्न एक अर्काविरुद्धमा दोषारोपण हुने गरेको थियो । आफ्नो–आफ्नो गुटको मिडियालाई जथाभावी प्रचारबाजी समेत गर्न लगाइन्थ्यो ।

भावी आईजीपी कसलाई बनाउने भन्नेमा सरकार, सत्तापक्ष, प्रतिपक्ष, उद्योगी–व्यापारी र अवैध कारोबारीहरूका लागि समेत विशेष चासो रहने विगतको अनुभवले देखाउँछ ।

विगतमा उच्च राजनैतिक व्यक्तिहरूलाई आर्थिक प्रलोभन दिई आइजीपी बन्ने परिपाटी थियो । मैदानमा उत्रिएकाहरूले आर्थिक चलखेल गर्ने, राजनैतिक नेतृत्वलाई जथाभावी आश्वासन दिने गरिन्थ्यो ।

आईजीपी ज्ञवाली २४ असारमा सेवानिवृत्त हुँदै

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको सेवा निवृत्त हुन अब एक साता बाँकी छ । ज्ञवाली सेवा निवृत्त हुने दिन जति–जति नजिकिँदै छ, भावी आइजीपीको जिम्मेवारी कसलाई दिइएला ? भन्ने विषयले प्रहरी संगठनभित्र र सचेत नागरिक तप्कामा चासो अनि चर्चा हुन थालेको छ ।

यही असार २४ मा आईजीपी ज्ञवाली र पहिलो नम्बरमा एआईजी बढुवा भएका तारिणी लम्साल पनि सेवा हदका कारण सेवानिवृत्त हुँदैछन् । त्यसपछि थापा र पाल मध्येबाट एक जना प्रहरी महानिरीक्षक बन्नेछन् ।

अब हुने आईजीपीको सेवावधि करिव २२ महिनाको हुनेछ । थापा र पाल दुवै ०४९ साल वैशाख १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनीहरूसँगै निरज शाही र प्रद्युम्न कार्की गत असोजमा डीआईजीमा बढुवा भएका थिए भने वरिष्ठताको आधारमा थापा र पाल गत फागुन १५ गते क्रमशः दोस्रो र तेस्रो नम्बरमा एआईजीमा बढुवा भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप