बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फेरिँदै प्रहरीको नेतृत्व, चार वर्षपछि एआईजीबाटै आईजीपी छनोट

बुधबार, १७ असार २०७७, १० : ०१
बुधबार, १७ असार २०७७

अबको सात दिनमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुँदैछ । प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर ज्ञवालीले असार २४ पछि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकास पाउनेछन् । हाल नेपाल प्रहरीमा तारिणी लम्साल, शैलेश थापा क्षत्री र हरिबहादुर पाल अतिरिक्त महानिरीक्षक (एआईजी) छन् ।

यी तीनमध्ये लम्साल आईजिपी ज्ञवालीकै ब्याचका भएकाले उनले पनि सेवा हदका कारण असार २४ मा अनिवार्य अवकास पाउँदैछन् । त्यसैले क्षत्री र पालमध्येबाट एक जनाले उक्त अवधिपछि प्रहरीको नेतृत्व गर्नेछन् ।

चार वर्ष यता प्रहरी नायव महानिरीक्षक (डिआइजी)बाट एकै पटक आईजीपीमा बढुवा गरिँदै आएकोमा बल्ल एआईजीबाट आईजीपीमा बढुवा हुने अवसर प्राप्त भएको हो । यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र वर्तमान आईजीपी ज्ञवालीले एआइजीको अनुभव हासिल गर्न पाएनन् । आईजीपीसँगै एआईजी पदसमेत रिक्त हुँदा यी तीनै जनाले डिआईजीबाट एआईजी नभइ एकैपटक आइजीपी हुने अवसर पाएका हुन् ।

२०७० मंसिरमा आईजीपी बनेका उपेन्द्रकान्त अर्यालले १४ दिनमात्रै एआईजीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि प्रहरीको २५ औं महानिरीक्षक बनेका प्रकाश अर्याल डिआईजीबाट सिधै आईजीपी बनेका हुन् । आईजीपी हुनुअगाडि अर्यालले करिब ४ वर्ष ४ महिनासम्म डिआईजीको जिम्मेवारी सम्हालेका थिए ।

विगतका दिनमा शक्ति केन्द्र्रको आशिर्वाद पाएका प्रहरी अधिकृतले संगठनको कमाण्ड पाउँथे । राजनीतिक पहुँच नभएकै कारण अवसरबाट वञ्चित तुल्याइएपछि वरिष्ठता र क्षमता भएका काविल प्रहरी अधिकृतहरुले राजीनामा समेत दिनुपरेको थियो ।

०००००

घटना नम्बर १

आईजीपीमा प्रतिस्पर्धाको लागि पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवाल र जयबहादुर चन्दको कडा टक्कर भयो । सरकारले चन्दलाई आईजीपी नियुक्ती सिफारिस गरेसँगै सिलवाल अदालतको ढोका ढक्ढक्याउन पुगे । अदालतले चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय प्रक्रियामा त्रुटि देखाइदियो, त्यसको फाइदा उठाउँदै प्रकाश अर्याल आईजीपी बने ।

घटना नम्बर २

त्यस्तै २६ औँ महानिरीक्षक बन्नका लागि तत्कालीन डिआइजीद्वय सर्वेन्द्र खनाल र रमेश खरेलबीच कडा टक्कर थियो । तर डिआईजीमा आफूभन्दा कनिष्ट रहेका खनाललाई सरकारले आईजिपी बनाएपछि खरेलले राजीनामा दिए ।

०००००

प्रहरी नियमावलीमा प्रहरी महानिरीक्षकमा एआईजीबाट वा एआईजी नभएको अवस्थामा डीआईजीबाट बढुवा गर्न सकिने उल्लेख छ । आईजीपी पद रिक्त रहँदा संगठनको दोस्रो दर्जामा दुई वरिष्ठ अधिकृत कायमै रहनेछन् । त्यसैले एआईजीद्वय क्षत्री र पालमध्ये एक जनाले प्रहरी संगठनको नेतृत्व सम्हाल्न पाउनेछन् ।

नयाँ आईजीपीबारे यतिबेला न चलखेल छ, न त हल्लीखल्ली नै । विगतमा जस्तो एक अर्काप्रति हिलो छ्याप्ने प्रवृत्ति पनि यसपाली देखिएको छैन । न त वर्तमान आईजीपी ज्ञवाली नै आफ्नो पदावधि लम्ब्याउने चलखेलमा लागेका छन् ।

थापा र पालमध्ये एक जनाले १८ वैशाख २०७९ सम्म प्रहरीको कमाण्ड सम्हाल्नेछन् । पहिलेको जस्तो आईजीपीको लागि यसपटक दौडधुप नभएको गृह मन्त्रालयका एक अधिकारीले बताए । आईजीपी हुन विगतमा जस्तो एकअर्काविरुद्ध दोषारोपण समेत थापा र पालले गरेका छैनन् ।

हाल थापाले मानवश्रोत एवम् प्रशासन विभाग र पालले कार्य एवम् अपराध अनुसन्धान विभागको नेतृत्व सम्हालेका छन् । थापा योजना बनाउन सिपालु मानिन्छन् भने पाल ‘एक्सन’मा दरिला छन् ।

प्रहरी संगठन ‘एक्सन ओरियन्टेड इन्ष्टिच्यूसन’ भएकाले ‘क्वीक डिसिजन’ दिनसक्ने नेतृत्व वर्तमान संकटकालीन अवस्थाको आवश्यकता हो भन्ने प्रहरी संगठनका सदस्यहरु बताउँछन् । दुईमध्ये जो आईजीपी भए पनि एकले अर्कोलाई सघाउने र आईजीपी नियुक्ति प्रकरणमा एकले अर्कालाई आक्षेप नलगाउने उनीहरुबीच सहमति नै भएको छ ।

थापाको विगत

शालिन र व्यावसायिक छवि भएका प्रहरी अधिकृतको रुपमा थापा प्रहरी वृतमा परिचित छन् । भक्तपुर स्थायी घर भएका थापालाई नेकपाका नेता महेश बस्नेतको निकटतम मानिन्छ । बस्नेत प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् ।

डीआईजी हुँदा थापाले महानगरीय प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व सम्हाले । थापाको व्यावसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् ।

इन्स्पेक्टर हुँदा उनले सल्यान, सिन्धुपाल्चोकमा काम गरेका छन् । त्यस्तै डीएसपी हुँदा थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको कमाण्ड सम्हाले भने एसपी हुँदा कास्की र झापाको कमाण्ड सम्हाले ।

एसपी हुँदै उनी प्रहरी एकडेमी, विशेष ब्युरो र सचिवालयमा पनि बसे । एसएसपी भएपछि प्रहरी प्रधान कार्यालयको प्रवक्ता भए । त्यस्तै डीआईजीमा पनि थापा प्रहरी प्रधान कार्यालयको प्रवक्ता भएका थिए ।

पालको विगत

डीआईजी हुँदा पालले २ नम्बर प्रदेशको कमाण्डर सम्हाले । २ नम्बर प्रदेशको जिम्मेवारी कुशलतापूर्वक निभाएपछि पाललाई विशेष ब्यूरोको जिम्मेवारी दिइयो । ब्यूरोको प्रमुख रहँदा पालले प्रतिबन्धित विप्लव समूहका नेकपाका हजारौं नेता÷कार्यकर्तालाई पक्राउ गरे ।

जागिरे जीवनको अधिकांश समय फिल्डमा खटिएका पालले इन्स्पेक्टर हुँदा वडा प्रहरी कार्यालय, धनगढी र बौद्धको नेतृत्व सम्हालेका छन् । त्यस्तै द्वन्द्वकालमा विशेष अपरेशनका लागि रोल्पामा समेत खटिएका थिए पाल ।

डीएसपी भएपछि डडेल्धुरा, काठमाडौँ प्रहरीको मुद्दा शाखा र जिल्ला प्रहरी कार्यालय, नुवाकोटलगायतमा उनले काम गरेका छन् । एसपी भएपछि जिल्ला प्रहरी कार्यालय कास्की, धनुषा र रुपन्देहीको नेतृत्व सम्हालेका छन् ।

पाल अपराध महाशाखा र प्रहरी महानिरीक्षकको सचिवालयमा पनि बसेर काम गरेका छन् ।  एसएसपीमा पाल संघीय प्रहरी इकाइ कोसीमा पनि रहे । अधिकांश समय फिल्डमा खटिएका पाल अपरेसन र कमाण्ड कन्ट्रोलमा बलिया अफिसरका रुपमा चिनिन्छन् ।

ओली र प्रचण्डको मन जित्ने नै आईजीपी !

२८ औँ आईजीपीका लागि प्रधामन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई रिझाउनुपर्ने जानकारहरु बताउँछन् । त्यसैले बाहिर दौडधुप नदेखिए पनि भित्र–भित्र थापा र पालले नेकपाका नेताहरुसँग आफ्नो भेटघाट बाक्लो बनाएको स्रोतको दावी छ ।

‘प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको मन जित्ने व्यक्ति नै स्वतः भावी आईजीपीको दावेदार हो,’ गृहका एक अधिकारीले रातोपाटीसँग भने, ‘थापा र पालमध्ये ओली र प्रचण्डको मन जित्ने व्यक्ति नै २८ औं आईजीपी बन्ने निश्चित छ ।’

आईजीपीको बढुवाका लागि गृहमन्त्रालयले मन्त्रिपरिषदमा ज्येष्ठता, कार्यदक्षता, कार्यसम्पादन मूल्याङ्कनलाई आधार मानेर आईजीपी बनाउनका लागि योग्य उम्मेदवारको नाम सिफारिस गर्छ । मन्त्रिपरिषदको निर्णयले प्रहरी महानिरीक्षक तोक्ने कानूनी प्रावधान छ ।

३० वर्षे सेवा अवधिले संगठन नै बिरामी

नेपाल प्रहरीमा सेवाका हिसावले प्रमुख तीन तह छन् । निरीक्षक (इन्सपेक्टरदेखि) उपरीक्षक (एसपी)सम्म एउटा तह, बरिष्ठ उपरीक्षक (एसएसपी)देखि नायब उपरीक्षक (डीआईजी)सम्म दोस्रो तह र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)देखि महानिरीक्षक (आईजी)सम्मलाई तेस्रो तह मानिन्छ ।

कामका हिसावले इन्सपेक्टरदेखि एसपीसम्मको तहलाई फिल्ड तह मानिन्छ । यस्तै एसएसपीदेखि डीआईजीसम्मको तहलाई व्यवस्थापकीय तह मानिन्छ भने एआईजीदेखि आईजीसम्मको तहलाई नीतिगत तह मानिन्छ ।

एआईजी र आईजीलाई प्रहरीमा नेतृत्व तह मानिन्छ । संगठनको नेतृत्व आईजीमा केन्द्रित हुने देखिए पनि महत्वपूर्ण निर्णयका सवालमा भने एआईजीहरुको पनि भूमिका हुन्छ । जसका कारण एआईजीहरुले नेतृत्व तहको अनुभव पनि हासिल गर्न पाउँछन् । तर पछिल्लो समय प्रहरीमा नेतृत्वको अनुभव नै नभएका व्यक्ति नेतृत्वकर्ता तहमा पुगेका कारण पनि संगठन छवि चम्किलो हुन नसकेको हो कि भन्नेहरु प्रशस्त छन् ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी ३० वर्षे सेवा अवधिकै कारण प्रहरी संगठनमा समस्या आएको बताउँछन् । ‘अहिले त समस्या के भइदियो भने डीआईजीमा पनि पदावधि पूरा नभएको व्यक्ति एआईजी नै नभई सिधै आईजी हुने अवस्था आउन पुग्यो,’ मल्ल भन्छन्, ‘यदि अझै लामो समयसम्म यो ३० वर्षे कायम भइरह्यो भने भोलिको दिन एसएसपी तथा एसपीबाट आईजी बनाउनुपर्ने अवस्था आउन सक्छ ।’

प्रहरी नियमावली २०७१ को दफा (१२७) को उपदफा (१) को (घ) मा ३० वर्ष सेवा अवधि पूरा भएको प्रहरी कर्मचारीले अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको छ । सोही व्यवस्थाका कारण अबका वर्षमा पनि डीआईजीबाटै आईजीपी छान्नुपर्ने अवस्था आउने देखिन्छ ।

कस्तो रह्यो आईजीपी ज्ञवालीको कार्यकाल ?

गत माघ २८ गते ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षकमा नियुक्त भएका थिए । प्रतिस्पर्धा र विवादरहित आईजीपी भएका ज्ञवालीले ५ महिनामात्र नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने मौका पाए । औसतमा ज्ञवालीको कार्यकाल ठिकै रह्यो ।

इमान्दर अधिकृतको छवि बनाएका ज्ञवालीको कार्यकाल औसतभन्दा माथि उठ्न सकेन । ज्ञवालीले अपराध अनुसन्धान तथा नियन्त्रण, सुशासन, मानव अधिकारको संरक्षण, आर्थिक पारदर्शितामा रहेर काम गर्न सकेनन् ।

आईजीपीको पदभार सम्हालेलगत्तै ज्ञवालीले निर्मला पन्तका हत्यारा पत्ता लगाउने दावी गरेका थिए । तर, यो पाँच महिनामा ज्ञवालीले त्यता ध्यान नै दिएनन् । ज्ञवाली केन्द्रीय अनुसन्धान ब्युरोमा एसएसपी रहँदा नै उक्त घटनाबारे छानबिनमा संलग्न थिए । त्यसैले पनि उनका पालामा अनुसन्धानले गति लिने अपेक्षा गरिएको थियो । कञ्चनपुरकी निर्मलाको बलात्कार र हत्या भएको दुई वर्ष पुग्न लाग्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउने सकेको छैन । यसले प्रहरी संगठनकै छविमा समेत धक्का लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप