शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको ७ सयौँ गोल, तर बराबरीमा रोकियो बार्सिलोना

बुधबार, १७ असार २०७७, ०६ : ५०
बुधबार, १७ असार २०७७

पेनाल्टीमार्फत लियोनेल मेस्सीले करियरको ७ सयौँ गोल पुरा गर्दा बार्सिलोना स्पेनिस ला लिगामा एथ्लेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ । मंगलबार भएको खेल २–२ को बराबरीमा टुंगिएको हो ।

क्लबका लागि मेस्सीको ७२४ खेलमा यो ६३० औँ गोल हो । १४ महिनाअघि मात्र करियरको ६ सयौँ गोल पुरा गरेका मेस्सी ७ सयौँ गोलको कोशेढुंगा पार गर्ने सातौँ खेलाडी हुन् । उनीभन्दा अघि चेक–अस्ट्रियन जोसेफ बिकान (८०५ गोल), ब्राजिलका रोमारियो (७७२ गोल), ब्राजिलकै पेले (७६७ गोल), हंगेरीका फ्रेरेंक पुस्कास (७४६ गोल), जर्मनीका गर्ड मुलर (७३५ गोल) र क्रिस्टियानो रोनाल्डो (७२६ गोल) रहेका छन् ।

बराबरी पछि बार्सिलोना लिगको दोस्रो स्थानमा कायम रहेको छ । शीर्ष स्थानमा रहेको रियलभन्दा बार्सिलोना एक अंकले पछि रहेको छ । तर, रियलले एक खेल कम खेलेको छ ।

अर्जेन्टिनी स्टारले बार्सिलोनाको पहिलो गोलमा पनि भूमिका खेलेका थिए । उनले कर्नरबाट गरेको प्रहार डिएगो कोस्टालाई लाग्दै आत्मघाती गोलमा परिणत भएको थियो ।

चेल्सीको पूर्व स्ट्राइकरले आफ्नो गल्ती सच्याउने मौका तुरुन्तै पाए जब यानिक कारास्कोलाई फल गरेबापत एथ्लेटिकोले पेनाल्टी पायो । तर, उनको प्रहारलाई मार्क आन्द्रे टे स्टेगनले बचाए । यद्यपि, बार्सिलोनाका गोलकिपर लाइनभन्दा अघि आएको कारण फेरि पेनाल्टी हान्न लगाइयो जसलाई साउल निग्वेजले गोलमा परिणत गरे ।

दोस्रो हाफको सुरुवातमा नै मेस्सीले ‘पानेका’ पेनाल्टी मार्फत आफ्नो कोशेढुंगा पार गर्दै बार्सिलोनालाई अग्रता दिलाए । तर, साउलले अर्को पेनाल्टीमार्फत खेल बराबरी गरे ।

योसँगै बार्सिलोनाको उपाधि होडमा ठूलो धक्का लागेको छ । रियलले आगामी खेल जिते शीर्ष स्थानमा चार अंकको अग्रता बनाउन सफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप