शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव समूहले लियो वडाअध्यक्ष आक्रमणको जिम्मा

मङ्गलबार, १६ असार २०७७, २२ : ३२
मङ्गलबार, १६ असार २०७७

दाङ । दाङको शान्तिनगर गाउँपालिकाका–२ का वडाअध्यक्ष फर्साराम डाँगीमाथि कार्यकक्षमै मंगलबार भएको आक्रमणको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ ।  

नेकपाका शान्तिनगर गाउँपालिका सेक्रेटरी कमल सिंहले एक विज्ञप्ति जारी गर्दै आक्रमण घटनाको जिम्मा लिएको बताए । वडाअध्यक्ष डाँगीलाई विभिन्न सातवटा आरोप लगाउँदै जनताको मागअनुसार पहिलो चरणको सामाजिक कारवाही गरिएको सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विभिन्न व्यक्तिलाई कुटपीट गरेको, गुण्डागर्दी गरेर समाजमा सामाजिक विकृति फैलाएको, जुवातास खेल्ने खेलाउने गरेको, आस्थाका आधारमा जनतालाई सेवा दिएको, भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

अज्ञात समूहको आक्रमणबाट घाइते भएका वडाअध्यक्षलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । मंगलबार बिहान साढे ११ बजे वडाध्यक्ष डाँगीमाथि कार्यकक्षमै ५÷७ जनाको समूह आएर रड र लाठी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले वडाध्यक्ष डाँगीको टाउको र हातमा गहिरो चोट लागेको बताए । उनले वडाअध्यक्षलाई आक्रमण गर्नेहरुको खोजी तीव्र पारिएको बताए । 

प्रवक्ता खड्काले घटना स्थलमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाको पर्चा भेटिएकाले आक्रमण उनीहरुबाट भएको हुनसक्ने बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप