शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एक्लोपन, आर्थिक समस्यालगायतका कारण आत्महत्या बढेको अध्ययनको निष्कर्ष

मङ्गलबार, १६ असार २०७७, २० : ०६
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । विपदको समयमा निराशापन बढ्नु, एक्लोपना र आर्थिक समस्यालगायतका कारण आत्महत्याका घटना बढेको स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाएको छ । 

कोभिड—१९ को संक्रमण जोखिम न्यूनिकरणका लागि जारी भएको बन्दाबन्दीका समयमा सामाजिक सम्पर्क हुन नसक्दा एक्लोपना हुनु, आर्थिक समस्या, परीक्षण स्थगित हुनु जस्ता कारण आत्महत्याका घटनाहरु बढेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले विपदको समयमा हुने चिन्ता, आइसोलेसन र क्वारेन्टिनमा सामाजिक सम्पर्क नहुने भएकाले एक्लोपन महशुस भएर, परीक्षा स्थगित भएका कारण, आर्थिक समस्या र ब्यापार घाटा लगायतका कारण घटनाहरु बढेको अध्ययनले देखाएको बताए । 
संसदको महिला तथा सामाजिक समितिको मंगलबारको बैठकमा उनले सो जानकारी दिएका हुन् । 
बैठकमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले विगत वर्षको तुलनामा घटनाहरु कम भएको बताए । कुनै महिनामा कम र कुनै महिना बढी घटना घटेका कारण अनुपातमा संख्या बढेको मात्रै देखिएको तर समग्रमा विगतभन्दा कम घटना घटेको उनले बताए । आर्थिक वर्ष २०७३÷०७४ मा ५ हजार १२४, आर्थिक वर्ष ०७४÷०७५ मा ५ हजार ३१७ र आर्थिक वर्ष ०७५÷०७६ मा ५ हजार ७५४ वटा आत्महत्याका घटना घटेपनि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४ हजार ५८६ वटा मात्रै घटेको बताए । 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले क्वारेन्टिनमा महिलाहरुका लागि छुट्टै व्यवस्था भए हिंसाका घटनामा कमि आउने बताइन् । सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहहरुमा महिलाहरुका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न आग्रह गरिएको पनि उनले बताइन् ।

समितिले मानसिक स्वास्थ्यलाई पहुँचयोग्य बनाउन सरकारलाई निर्देशन दिएको छ । आत्महत्या जोखिमयुक्त वर्गको पहिचान गरी मनोसामाजिक परामर्श प्रदान गर्ने खालका कार्यक्रम सञ्चालन गर्न र स्वास्थ्य विाम लगायतका सामाजिक सुरक्षाको दायरा बढाउन पनि समितिले निर्देशन दिएको छ । 
मनोसामाजिक परामर्शका लागि प्रदेशगत रूपमा निःशुल्क हटलाइनको व्यवस्था गर्नुपर्ने र भएकालाई प्रभावकारी सञ्चालन गर्न समितिले गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सो निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप