मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभा– विनियोजन विधेयकमाथिको छलफल जारी

मङ्गलबार, १६ असार २०७७, १७ : ४८
मङ्गलबार, १६ असार २०७७

कास्की । गण्डकी प्रदेशसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र प्रदेशसभा सचिवालयसँग सम्बन्धित विभिन्न शीर्षकमा छलफल भएको छ ।
    
बैठकमा प्रदेशसभा सदस्य दीपक कोइरालाले बजेटमा स्वास्थ्य बीमा, लक्षित वर्ग एवं समूहका लागि सहुलियत कार्ड वितरणलगायतका काम समेट्न खोजिनु स्वागतयोग्य भएको बताए । अर्का सदस्य कृष्णबहादुर थापाले बन्दाबन्दीका कारण समयमा कर तथा राजस्व बुझाउन नसकेका उद्योग तथा व्यवसायलाई छुट दिनेलगायतका विषय उल्लेख भएको बताए । 
    
सदस्य मनकुमारी गुरुङले विदेशबाट फर्केर आउने युवालाई कृषिमा आकर्षित गरी रोजगारी अभिवृद्धि गर्नुपर्ने सुझाव दिइए पनि त्यसतर्फ ध्यान दिइन् । सदस्य पियारी थापाले कोरोनासँग लड्नका लागि प्रदेश राजधानी बाहिर एउटा मात्रै आइसियु बेड रहेको पाइएको बताउँदै जिल्ला अस्पतालमा आइसियु, भेन्टिलेटरको व्यवस्था गर्न माग गरे ।
    
सदस्य धनमाया पोखरेल लामाले कृषिमा अनुदान वास्तविक कृषकले प्राप्त गर्न नसकेको बताउँदै अनुदानको कार्यविधि सामान्य जनतालाई चिन्न सक्ने हुनुपर्ने धारणा राखिन् । सदस्य मीना गुरुङले प्रदेशमा कृषिका धेरै सम्भावना रहेको बताइन् । 
    
सदस्य धनञ्जय दवाडीले सामाजिक विकास मन्त्रालयले कोरोनाका कारण स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको उल्लेख गर्दै पर्यटनको आम्दानी त्यही क्षेत्रमा नै लगानी गर्ने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरिन् ।

सदस्य ओमकला गौतमले कृषिमा आत्मनिर्भर गराउनका लागि पर्याप्त बजेट नभएको बताउँदै महिला हिंसा रोक्ने खालका कार्यक्रम आउन नसकेको गुनासो गरिन् । सदस्य रोशन गाहा मगरले किसानलाई समयमा नै बीउ, मल तथा कीटनाशक औषधि प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् । बैठकमा सदस्य सरिता गुरुङ, मनबहादुर गुरुङ, आशा कोइराला र विष्णुप्रसाद लामिछाने पनि बोलेका थिए । अर्को बैठक असार १७ गते दिनको १२ बजे बस्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप