शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतले सरकार ढाल्न खोज्यो भन्ने ओलीसँग प्रचण्डसहित शीर्ष ४ नेताले मागे प्रमाण

मङ्गलबार, १६ असार २०७७, १५ : ०७
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चौथो दिनको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे चर्को बहस भएको छ । बैठकमा शीर्ष नेताहरुले नै ओलीको अभिव्यक्तिबारे प्रमाण माग गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य बामदेव गौतमले भारतले सरकार ढाल्न लागेको भन्ने ओलीको अभिव्यक्तिप्रति प्रश्न गरेका हुन् । 

उनीहरुले भारतले सरकार ढाल्न लागेको भन्ने प्रमाण के छ भन्दै ओलीसँग प्रश्न गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । बैठक केहीबेर चियाखाजाका लागि ब्रेक हुँदा रातोपाटीसँग कुरागर्दै ती स्थायी समिति सदस्यले बोल्ने प्रचण्डसहितका शीर्ष नेताहरुले ओलीले आधारहीन टिप्पणी गरेको आशयसहित प्रमाण खोजेको जानकारी दिए । 

उनीहरुले बिनाआधारमा टिकाटिप्पणी गर्दा गलत सन्देश जान सक्ने भन्दै यसप्रति सचेक हुन जरुरी रहेको समेत धारणा राखेका थिए । 

बैठकमा बोल्दै शीर्ष नेताहरुले ‘सरकार ढलाउन दूतावास सक्रिय भएको हो या अरु कोही ?’ भन्ने प्रश्न समेत ओलीसमक्ष राखेका थिए । चार नेताले बोल्दा ओली बैठकमा सहभागी रहेका थिए भने चिया ब्रेकपछि सुरु भएको बैठकमा भने ओली सहभागी नरहेको बताइएको छ । नेताहरुले प्रश्न उठाएपछि ओलीले पार्टी बैठकमा भएका कुरा र दिल्लीका मिडियामा आएका कुरा कसरी हुबहु मिले ? भन्दै उल्टै प्रतिप्रश्न गरेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएसँगै नेपालको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएकै बेला स्थायी समिति बैठकमा पनि यस विषयले प्रवेश पाएको हो । 

प्रधानमन्त्री ओलीले आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भारतले आफ्नो सरकार ढाल्ने प्रयास गरिरहेको आरोप लगाएका थिए । 

आफू राष्ट्रियताको पक्षमा दृढ भएकै कारण प्रधानमन्त्रीबाट आफूलाई हटाउन देशी विदेशी शक्तिले चलखेल गरिरहेको उनको भनाइ थियो । खासगरी कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गरेको र सोही नक्सालाई संविधानमा समेत समेटिएका कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको आरोप उनले लगाएका थिए ।

‘नेपालको राष्ट्रियता यति कमजोर छैन । नक्सा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्रम अहिले पाल्नु पर्दैन,’ उनको भनाइ थियो, ‘‘प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन, तर यतिबेला म हट्ने हो भने फेरिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि, आफ्नालागि होइन देशका लागि.. ।’

प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर फर्केपछि आफ्नो नेतृत्वको सरकार ढलेको स्मरण गराएका थिए । त्यतिबेला आफूसँग पूर्ण बहुमत नभएकाले सरकार ढलेको जिकिर गर्दै उनले अहिले बहुमत रहेका कारण सरकार नढल्ने दावी गरे ।

‘दिल्लीका सञ्चारमाध्यमहरु सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइराख्या छ, यहाँका होटलहरुमा भइराख्या गतिविधिहरु, त्यसले पनि बताइराख्या छ, एम्बेसीको सक्रियता, त्यसले पनि बताइराख्या छ,’ उनले भनेका थिए, ‘तर म तपाइँहरुलाई यति भन्दिन्छु, नेपालको राष्ट्रियता यति कमजोर छैन–नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन ।’

असार १० गतेबाट सुरु भएको बैठक बीचबचमा स्थगित हुदै आज चौथो दिन बसेको हो । 

 गत तीन दिनका बैठकमा छलफलका लागि तय भएका सात एजण्डामध्ये सीमा समस्या समाधानमा केन्द्रीत रहेर नेताहरुले धारणा राखेका थिए । यो एजेण्डामा केही सचिवालय सदस्यबाहेक धेरैले धारणा राखिसकेका छन् ।

यसमा सरकारले अतिक्रमित नेपाली भूमी समेटेर नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै भूमि भोगचलनका लागि पहल गर्न सुझाव दिइसकेका छन् । आजको बैठकमा भने शीर्ष नेताले ओलीलाई प्रश्न तेस्र्याउँदै आन्तरिक मामिलामा बाह्य शक्तिलाई मुछिएको प्रति प्रश्न गरेक हुन् । 

नेताहरुमा देखिएको ध्रुवीकरण, सरकारको काम गर्ने शैली र प्रधानमन्त्रीले पछिल्लो पटक दिएका अभिव्यक्तिले गर्दा नेकपाको जारी बैठक थप पेचिलो बन्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप