बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

डेढ अर्ब खर्चेर तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गरिँदै

मङ्गलबार, १६ असार २०७७, १४ : १८
मङ्गलबार, १६ असार २०७७

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वडा–३२ को तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जानकारी दिएको छ । 

‘तत्कालिन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रह गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको हो । तर, अहिलेसम्म पूरा हुन सकेको छैन,’ काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले भने, ‘तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्दा यो योजना अलपत्र परेको छ । यस पटक सबै विवादको अन्त्य गरेर योजना अघि बढाउने तयारीका साथ  हामी अघि बढेका छौँ ।’ 
प्रमुख शाक्यले तीनकुनेको मुआब्जा विवाद सुल्झाउन काठमाडौँ महानगरपपालिकाले प्रारम्भिक अधिकारी नै तोकेको र प्रतिवेदन समेत सम्वन्धित निकाएमा पठाइसकेको जानकारी दिए । 

केही जग्गाधनीले चलनचल्तीको मुल्यअनुसार मुआब्जा पाउनुपर्नेलगायतका माग गरेपछि विवाद अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन । धेरै जग्गाधनीले पहिले नै मुआब्जा पाइसकेका छन् ।  ‘हामीले करीब ५० रोपनी भन्दा बढी क्षेत्रफलमा फैलिएको  तीनकुनेमा बुद्धपार्क निर्माणका लागि डिजाइन तयार पारिसकेका छौँ,’ काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना श्रेष्ठ शाक्यले भनिन्, ‘हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरी निर्माण हुने उक्त पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका साथै ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’ (म बुद्धको शरणमा जान्छु, म धर्मको शरणमा जान्छु, म संघको शरणमा जान्छु)लाई आधार मानेर डिजाइन तयार गरिएको छ ।’ 

शाक्यका अनुसार अण्डरग्राउन पार्किङ, पहिलो तलामा क्युरिओका सामानहरु बेच्ने पसल, सार्वजनिक सौचालय, प्रदर्शनी कक्षहरु रहने छन् । 

पार्कमा अपाङ्गमैत्री, बालबालिकाका लागि खेल्ने ठाउँ, जेष्ठ नागरिकका लागि आराम गर्ने, स्थान, साइकल ट्याकलगायत पनि रहने गरी डिजाइन तयार पारिएको छ ।

डिजाइन अनुसार माथिल्लो तलामा २ सय जति अटाउने ध्यानकेन्द्र रहने छ । ध्यानकेन्द्रमा विभिन्न आध्यात्मिक कार्यक्रमका लागि उपयोग गरिने छ । 

त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने वित्तिकै पुगिने ठाउँ भएकाले पनि तीनकुनेमा निर्माण हुने बुद्धपार्कले पर्यटकलाई आकर्षित गर्ने र सहरको सौदर्य बढाउन उपयुक्त स्थान हुने उनको भनाई छ । उनका अनुसार डिजाइनमा वाटर फाउण्टेन पनि राखिएको छ । जहाँ पानीको रंगिन छहरसँगै प्राकृतिक ध्वनी उत्पन्न हुनेछ र त्यसले सबैलाई आनन्दित बनाउने छ ।   

शंख अर्थात प्रशिद्धि, दिर्घायू, सवृद्धि र आत्मा–शान्तिका साथै चक्र अर्थात शुद्ध चेतनालाई समेत आधार मानेर डिजाइन तयार गरिएको उनले जानकारी दिइन् ।

डिजाइन अनुसार तीनकुनेको बीचमा १३ मिटर अग्लो र ९६ मिटर व्यासका गुम्बज आकारको संरचना रहने छ । त्यहि गुम्बज आकारमा करीब १६ मिटर अग्लो बुद्धको मुर्ति रहने छ । मुर्तिको बेस १२ मिटर व्यासको रहने छ । बुद्धमुर्तिको तल ६ मिटर चौडाईको धर्म–परिक्रमाचक्र रहने छ । उनका अनुसार तीनकुनेको तीन ओटा कुनामा शंख आकारको पार्क रहने छ । 

तीन जिल्लाको संगममा रहेको तीन कुनेको तीन कुना भित्रको केन्द्रलाई शुन्यताको आधार मानेर डिजाइन तयार पारिएको उक्त पार्क रिस, राग, मोह जस्ता नकरात्मक विचारलाई मस्तिष्कबाट त्यागेर शुन्य अर्थात शान्त बनाउने स्थलका रुपमा समेत विकास गर्न सकिने शाक्यको भनाइ छ । 

मुर्तिबाहेक करीब डेढ अर्बको लगानीमा निर्माण हुने बुद्धपार्कमा बुद्धमुर्ति भएको ठाउँसम्म पुग्न १२ वटा प्रवेशद्वार राखेर डिजाइन तयार पारिएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप