बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बोइङ ७३७ म्याक्सको उडान परीक्षण शुरु

मङ्गलबार, १६ असार २०७७, १३ : ५५
मङ्गलबार, १६ असार २०७७

सानफ्रान्सिस्को । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले बोइङ ७३७ म्याक्स शृंखलाका बिमानहरु पुनः उडानका लागि परीक्षण गर्न सोमबार अनुमति दिएको छ । एकपछि अर्को बिमान दुर्घटनाग्रस्त हुन थालेपछि एफएएले म्याक्स शृंखलाका विमान उडाउन प्रतिबन्ध लगाएको थियो ।

एफएएद्वारा जारी वक्तव्यमा बोइङ ७३७ म्याक्स बिमान सोमबार सियाटलको बोइङ फिल्डबाट पहिलो चरणको परीक्षणका लागि उडान भरेको उल्लेख छ । संघीय प्रशासन र बोइङ कम्पनीबीच विमानको स्वचालित फ्लाइट कन्ट्रोल सिस्टम परीक्षण गर्न यस साता परीक्षण उडानहरु गर्न सहमति भएको थियो ।

अधिकारीहरुका अनुसार संघीय प्रशासनले तोकेका कार्यविधि पूरा भए नभएको बारेमा जाँच गर्न परीक्षण उडानको अनुमति दिइएको हो । तर यी उडानको सफलतापछि पनि तत्कालै विमानलाई आमजनताको सेवाका लागि प्रयोगमा ल्याइने छैन । अरु केही प्राविधिक परीक्षण पनि गर्नुपर्ने एफएएको भनाई छ ।

एफएएले सम्पूर्ण प्राविधिक जाँच सम्पन्न भएर सन्तोषजनक नतिजा प्राप्त भएपछि मात्र उडान अनुमति दिइने जनाएको छ ।  बोइङको ७३७ म्याक्स जेटहरु गत वर्ष मार्चदेखि नै विश्वभर उडान प्रतिबन्धित छन् र जहाजहरु विमानस्थलहरुमा थन्किएका छन् । एक वर्षभित्रै दुई वटा विमान दुर्घटना भएपछि विश्वका विभिन्न देशले यो जहाजको उडानमा प्रतिबन्ध लगाएका थिए । अनुसन्धाताहरुले बिमानको फ्लाइट कन्ट्रोल सफ्टवेयरमा समस्या आएका कारण विमान दुर्घटना हुने गरेको अनुमान गरेका छन् । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप