शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा बैठकको चौथो दिन : आफूलाई हटाउने प्रम ओलीको अभिव्यक्तिबारे होला त छलफल ?

मङ्गलबार, १६ असार २०७७, ०९ : २४
मङ्गलबार, १६ असार २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज चौथो दिन बस्दैछ । असार १० गतेबाट सुरु भएको बैठक बीचबचमा स्थगित हुदै आज चौथो दिन बस्न लागेको हो । गत तीन दिनका बैठकमा छलफलका लागि तय भएका सात एजण्डामध्ये सीमा समस्या समाधानमा केन्द्रीत रहेर नेताहरुले धारणा राखेका थिए । यो एजेण्डामा केही सचिवालय सदस्यबाहेक धेरैले धारणा राखिसकेका छन् । यसमा सरकारले अतिक्रमित नेपाली भूमी समेटेर नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै भूमि भोगचलनका लागि पहल गर्न सुझाव दिइसकेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ११ बजेपछि बस्ने बैठकमा आजबाट अर्को एजेण्डाकेन्द्रीत छलफल सुरु हुने छ । त्यो भनेको कोभिड–१९ रोकथाम रहको छ । यो एजेण्डा केन्द्रीत छलफलमा सदस्यहरुले आ–आफ्ना धारणा राख्नेछन् । यसक्रममा नेताहरुले कोभिड नियन्त्रणमा सरकारले गरेका कामकारवाही प्रभावकारी हुन नसकेको भन्दै थप प्रभावकारी बनाउन सुझाव दिनेछन् । साथै उनीहरुले औषधी उपकरण खरिदका क्रममा भएका अनियमितता र भ्रष्टाचारका विषय पनि उठाउने तयारी गरेका छन् । यसमा सरकारको आलोचना हुने निश्चित छ ।

कोभिड–१९ रोकथामपछि रहेको अर्को एजेण्डा समग्र सरकारका कामकारवाहीको समीक्षा गर्ने रहेको छ । सम्भवतः नेताहरुले यी दुवै विषयमा मंगलबारको बैठकमा धारणा राख्नेछन् ।

विगतदेखि नै सरकारका कामकारवाही र प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको कार्यशैलीप्रति नेकपाका नेताहरु असन्तुष्ट रहँदै आएका छन् । यो असन्तुष्टि उनीहरुले पार्टी बैठकमा समेत खुलेर पोख्नेछन् ।

‘विषय र एजेण्डाहरुमा खुलेर छलफल हुन्छ । उठेका प्रश्नहरुमा छलफल गर्नकै लागि बैठक बोलाइएको हो । त्यसैले हामी समग्र विषयमा छलफल गरेर अघि बढ्छौ’, स्थायी समिति सदस्य डा. बेदुराम भुषालले भने, ‘बैठकमा भएका छलफलले सकारात्मक निचोड निकाल्छ भन्ने अपेक्षा गर्न सकिन्छ ।’


नेताहरुमा देखिएको धु्रविकरण, सरकारको काम गर्ने शैली र प्रधानमन्त्रीले पछिल्लो पटक दिएका अभिवयक्तिले गर्दा पनि नेकपाको जारी बैठक थप पेचिलो बन्ने देखिएको छ ।

प्रधानमन्त्री केपी ओलीले सरकार तथा पार्टी सञ्चालनका लागि यसअघि भएका सहमति तोडेको आरोप लाग्दै आएको छ । बैठकको उद्घाटनका क्रमा अध्यक्षद्वयले दिएका अभिव्यक्तिले तरंग उत्पन्न भइरहेका बेला असार १४ गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी तथा संविधान संशोधन गरेपछि आफुलाई प्रधानमन्त्रीबाट हटाउन भारत लागेको अभिव्यक्ति दिएका थिए । भारतको उक्त प्रयासमा नेपालका नेताहरुले समेत साथ दिएको उनको आशय थियो । ओलीको त्यो आशयमा नेपालका कुनै नेताहरुको नाम नलिएपनि आफ्नै पार्टीका नेताहरु लक्षित गरेको भनेर धेरैले बुझेका छन् । प्रम ओलीको उक्त अभिव्यक्तिलाई पार्टीभित्रकै कतिपय नेताहरुले आफ्नो असफलता छोप्न राष्ट्रवादी कार्ड फालेको संकेतका रुपमा लिएका छन् ।

स्थायी समिति सदस्य देव गुरुङले बैठकका एजेण्डाहरु पहिल्यै तय भइसकेकाले त्यो बाहेकका एजेण्डामा छलफलको आवश्यकता ठानिएमात्रै छलफल हुन सक्ने बताए । उनले पार्टी र सरकारको बारेमा छलफलकै एजेण्डा तय भइसकेकाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको विषय पनि त्यसैभित्र पर्न सक्ने बताए । ‘पार्टीसँग जोडिएका विषयमा छलफल हुने नै भयो । तर पार्टीसँग नजोडिएका अन्य केही विषयहरुका विषयमा भने आवश्यक्ता अनुसार छलफल गर्ने नगर्ने बैठकमै कुरा होला’, गुरुङको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप