शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको ६ महिनामा सिउँदो पुछिएकी बुहारीको ससुराद्वारा यौनहिंसापछि विभत्स हत्या

मङ्गलबार, १६ असार २०७७, ०७ : ३४
मङ्गलबार, १६ असार २०७७

बुटवल । प्रदेश ५ को  कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्वर–८  वोर्डगाउँकी २४ वर्षीया सुस्मिता थापाको असार १ गते राति  मकवानपुरको हेटौडा नगरपालिका वडा–४ सूर्यचोकस्थित घरको भान्छा कोठा भित्र विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

विवाह भएको छ महिना नपुग्दै दुर्घटनामा श्रीमान्को मृत्यु भएर सिन्दुर पुछिएकी थापाको त्यसको तीन महिना नपुग्दैससुरा प्रकाश थापाले विभत्स हत्या गरेको खुलेको छ । घटनाको केहि दिनअघि ससुरा प्रकाश थापाले आफूमाथि यौनहिंसा गरेको नोट सुस्मिताले लेखेको र ह्वाटस् एपमार्फत अरुलाई समेत शेयर गरेको पाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ईन्द्रबहादुर रानाले सोमवार जानकारी दिए ।

यौनहिंसाको घटना बाहिर आउने डरले तथा मृतक छोराले काम गर्ने स्थानबाट ४० लाखभन्दा बढी विमा रकम आउने हुँदा बुहारीलाई परिवारका सबै सदस्य मिलेर विभत्स हत्या  गरेको पाइएको  डिएसपी रानाले बताए ।

 हत्यामा ससुरा, सासु तुलसा थापा, नन्द सीता थापा र अमाजु दुर्गा थापा संलग्न रहेको  सोमवार उनीहरुलाई सार्वाजानिक गर्दै मकवानपुरका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले बताए ।  सुस्मितका श्रीमान शिव भनिने रुपेन्द्र थापाको दुर्घटनामा मृत्यु हुँदा पाउने बीमा रकम  १० लाख ६३ हजार रुपैयाँ  ससुरा प्रकाश थापाले नै बुझेको समेत खुलेको प्रहरीले बताएको छ । 

असार १ गते राति भान्छा कोठामा थुनेर सिरानी लगायतको कपडाले मुख छोप्दै लठ्ठी र सिलाउटाको लोहराले कुटेर हत्या गरेर ढोका बन्दै गर्दै झ्यालबाट बाहिर निस्केका ससुरा प्रकाश थापा अर्को दिन बुहारीले कोठामा आत्माहत्या गरेको भन्दै प्रहरीलाई खबर गरिदिन गाउँवासीलाई भनेका थिए ।

सुस्मिताका बाबु कृष्ण केसीका अनुसार घटनास्थलमा सुस्मिताको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको  थियो । ‘छोरीको हत्याको खवरले विक्षिप्त बनेकी उनकी आमालाई मैले सम्हाल्न थाले र छोरीको शव हेर्न जान सकिनँ । तर, शव हेर्न जाने आफन्तहरु  भन्छन  टाउँकोमा चार ईन्च गहिरो चोट थियोे,’ सुस्मिताका बाबु कृष्ण केसीले भने ।

भव्य विवाह भएको  थियो

 सुस्मिताका बाबु कृष्ण केसी भारतिय सेनाका अवकास प्राप्त व्यक्ति हुन् । उनका छोरा पनि भारतीय सेनामा कार्यरत छन् । एक मात्र छोरी सुस्मिताको स्नातक सकेर विवाह गराउने रहर त्यो परिवारमा थियो । त्यही क्रममा  एक जना आफन्तजले गत वर्ष लगनको महिना बैशाखमा हेटौडाका रुपेन्द्र थापासँग सुस्मिताको विवाह गराउने प्रस्ताव बाबु संग राखे ।

छोरी सुस्मिता दिल्लीमा स्नातक गर्दै थिईन । सुस्मितालाई केटाको फोटा मगाएर हेर्न पठाइएको थियो  । बाबु केसी भन्छन्– ज्वाईं ईन्जिनियर हुनुहुन्थ्यो । आमासँग केटा त ठिकै छ तर टाढा भयो भन्ने जवाफ दिएकी थिइन् । त्यसपछि टाढा भएर केही गर्दैन भनेर मनाइयो । छोरीको २३ वर्षको उमेरमा २०७६ बैशाख १८ गते धुमधामका साथ विवाह भएको थियो ।’

विवाहको ६ महिना मै पुछियो सिन्दुर

सुस्मिताकी आमा गंगा केसी भन्छिन्, ‘दशैँमा ज्वाईं  टिका थाप्न आउनु भएको थियो । छोरी यतै थिइन् । पल्टनबाट छोरा पनि आएकोले छोरीको विवाहको पहिलो दशैँ सपरिवार बसेर मनाइएको थियोे । टिका थापेर मोटरसाइकलमा घर फर्किदै हुनुहुन्थ्यो  । असोज २३ गतेका दिन थियो, दाउन्ने पुग्दा ट्रिपरले उहाँको मोटरसाइकललाई ठक्कर दिएर ज्यान गएको थियो ।’

यसरी विवाहको छ महिना  नपुदै पति वियोगको पीडा सहेर बसेकी सुस्मिता दिल्लीमा मास्टर डिग्री गर्न जाँने अन्तिम तयारीमा थिइन् । त्यही बेलामा लकडाउन सुरु भयो ।

बाबु केसी भन्छन्, ‘मैले सम्धीलाई  बीचमा फोन गरेर पठाइदिनुप¥यो भनेको पनि हुँ । बीमा कम्पनीको कागज पत्रमा साइन गर्न छ भन्दै हुनुहुन्थ्यो ।  छोरीले पनि ती कागजपत्र मिलाएर आउँला भन्दै थिइन् । यता उनी दिल्ली हिँड्न तयार पारिएको लत्ताकपडा त्यत्ति कै छन् ।

 केसी दम्पत्ती भन्छन्, ‘ज्वाईंको सडक दुर्घटनामा मृत्यु हुँदा ५ लाख रुपैयाँ छोरीलाई मिलेको थियो । त्यो पैसा खोई भन्दै छोरीकी नन्द सीता थापा कराउने गरेको सुनिन्थ्यो ।  छोरीले खाता मै छ पैसा भनेर भन्ने गर्थिन् ।

त्योभन्दा ठूलो रकम ज्वाईंले काठमाडौँमा बीमा गराउनु भएको रहेछ दुबै जनाको । ४० लाख जति त ज्वाईंका दाजुले झिकिसके भन्ने पनि सुनिन्छ । त्यो भन्दा ठूलो रकम छोरीले पाउने हुँदा कुटेर विभत्स हत्या गरियो  । कारण पैसा नै हो भन्ने हाम्रो बुझाइ छ । ’

स्थानीयवासीका अनुसार दुर्घटनामा छोराको मृत्यु भए पछि बुहारी सुस्मितालाई ‘छोरो खाई’ भन्दै गाली गर्ने र पटक पटक तनाव दिने समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप