शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मेलम्चीको पानी उपत्यकामा झार्न पथान्तरणको तयारी

सोमबार, १५ असार २०७७, १८ : २२
सोमबार, १५ असार २०७७

-सञ्चिता घिमिरे 
काठमाडौं । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा झार्नका लागि पथान्तरणको तयारी गरिएको छ । राष्ट्रिय गौरबको सो आयोजनामा सुरुङको निर्माणको काम झण्डै सकिएकाले पानी सुरुङमा पठाउन लागिएको हो । 

सुरुङ निर्माणको काम सकिएर अहिले अन्तिम काम भइरहेको छ । बन्दाबन्दीले सो आयोजना निर्माणमा केही ढिलाइ भएपनि निर्धारित समय असार मसान्तमा नै पानी पठाउन तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । 

सुरुङमा पठाइए पनि पानी काठमाडौँ उपत्यकावासीको घरघरमा पुग्न अझै केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । उनका अनुसार सुरुङको परीक्षणकै लागि केही समय लाग्नेछ । पहिले सुरुङमा पानी भरिने र भरिएपछि त्यसमा कुनै चुहावट छैन भनी परीक्षण गरिने उनले बताए । उनले भने– ‘पानी भरिसकेपछि कुनै चुुहावट नभएपछि मात्रै उपत्यकामा पानी झार्न सकिन्छ, चुहावट भएमा त्यसको मर्मत गरिन्छ ।’

सुरुङभित्र अहिले तीन मुख्य र अर्को एउटा गरी चार गेटहरुको अन्तिम काम भइरहेको छ । सो आयोजनाअन्तर्गत नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । एउटा केन्द्रको निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एशियाली विकास बैंकको सहयोगमा निर्माण भएको हो । 

उपत्यकामा पानी झारेपछि पनि यहाँ जडान भएका पाइपहरुको परीक्षण हुने प्रवक्ता शाक्यले बताए । आयोजना कार्यान्वयन निर्देशनालयले पानी वितरणका लागि आवश्यक पर्ने पानी ट्याङ्की नौ ठाउँमा र पहिलो चरणमा वितरण हुने अधिकांश स्थानमा पाइप जडान गरिसकेको छ । अहिले पाइपको बाग्मती नदीको पानीले परीक्षण भइरहेको छ । ठूलो परिणाममा पानी पठाउनुपर्ने भएकाले पूर्णरुपमा भने मेलम्चीको पानी आएपछि नै परीक्षण गर्न सकिने उनले बताए । उनले भने– ‘नयाँ बनेका प्रणाली परीक्षण हुँदा केयुकेएलको पुरानो प्रणलीबाटै पानी वितरण हुनेछ ।’

अहिले उपत्यकामा पानीको चुहावट झण्डै ३० देखि ४० प्रतिशत रहेको अनुमान गरिएको छ । पानीको मात्रा बढ्दा चुहावट पनि बढ्ने उनले बताए । परीक्षणका क्रममा नयाँ प्रणालीमा रहेका चुहावट मर्मत गरेर त्यसमा पानी पठाउनका लागि तयार गरिनेछ । सुख्खा मौसममा दैनिक १७ करोड लिटर भनिएपनि वर्षामा मेलम्चीबाट दैनिक २२ करोड लिटरसम्म पानी आउनेछ । उपत्यकाभित्रै रहेका स्रोतबाट पनि दैनिक २० करोड लिटर पानी हुँदा त्यसको व्यवस्थापनका लागि योजना बनाइएको उन्को भनाइ छ । उन्ले भने– ‘मन्त्रालय, केयुकेएल, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलगायतका संस्थाका प्रतिनिधिसम्मिलित समिति व्यवस्थापनको तयारी गरिरहेको छ ।’

आयोजनाको उद्घाटन भने कुन दिनमा गर्ने भनी टुङ्गो लगाइएको छैन । सुरुङमार्गमा पानी पठाइएको दिनमा गर्ने वा सुन्दरीजलमा पानी पठाएको दिन गर्ने भनी छलफल भइरहेको मन्त्रालयले जनाएको छ । सुरुङमार्गको निर्माण सकिएर पानी पथान्तरणको तयारी भइरहँदा ‘हेडबक्स’ निर्माण भने सकिएको छैन । पानी पथान्तररण भइरहँदा हेडबक्स निर्माणको काम भइरहने आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । हेडबक्समा झण्डै दुई महिनाको काम बाँकी रहेको उनले बताए । ‘हेडबक्स’ निर्माणमा कङ्क्रिटिङ बाँकी रहेको छ । त्यो सकिएपछि स्वचालित उपकरण जडानको काम हुनेछ । उनले भने– ‘अहिले पनि काम त्यहाँ  भइरहेको छ ।’

झण्डै दुई दशक पहिले शुरु भएको आयोजना विभिन्न कारणले समयमा सम्पन्न हुन सकेको थिएन । यसअघि काम गरेको इटालियन कम्पनी सिएमसीले निर्माणस्थलमा धेरै काम अघि बढाएको थियो । सो कम्पनीले निर्माण नसकिँदै फर्किएपछि सरकारले बाँकी काम सक्ने गरी चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई बाँकी काम सम्पन्न गर्ने जिम्मेवारी दिएको थियो ।

आयोजनाले बन्दाबन्दीको कारण सामान्य अवस्थामा जसरी काम गर्न सकेको थिएन । बन्दाबन्दी हुनासाथ यहाँ कार्यरत अधिकांस नेपाली मजदूर निर्माणस्थल छाडेका थिए । सरकारले माथिल्लो तामाकोशीसँगै यो आयोजनाको निर्माण निरन्तरता दिने निर्णयसँगै कतिपय कामदार थपिएका छन् । प्रशासनले पास उपलब्ध गराएपनि समयसमयमा हेलम्बु गाउँपालिकाले पनि सङ्क्रमण फैलने भन्दै आयोजनामा ओहोरदोहोर रोकेको थियो । 

मन्त्रालयले भने असारमै सुरुङमा पानी पठाउन सकिने बताउँदै आएको छ । आगामी आवमा खानेपानी मन्त्रालयअन्तर्गत विनियोजित बजेटका विषयमा सङ्घीय संसद् प्रतिनिधिसभाका सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बीना मगरले मेलम्ची आयोजनाको भौतिक प्रगति अन्तिम चरणमा पुगेको बताएका थिए । आगामी आवको शुरुमै मेलम्चीको पानी सुरुङमा परीक्षण गरी उपत्यकामा वितरण गरिने उनको भनाइ थियो ।

बन्दाबन्दीको कारण आयोजनाको काम प्रभावित बनेको छ । आयोजना निर्माणको काम झण्डै डेढदेखि दुई महिना प्रभावित बनेको आयोजनाले जनाएको छ । बन्दाबन्दीको अवधिमा जनशक्ति अभाव र निर्माण सामग्रीको अभावका कारण अपेक्षा गरेअनुसार काम हुन सकेन । यो अवधिमा एक तिहाई मात्रै निर्माण भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप