बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश २ : १५ प्रतिशत धान रोपियो, मलको अभावले किसान चिन्तित

सोमबार, १५ असार २०७७, १७ : ३३
सोमबार, १५ असार २०७७

जनकपुर । ‘धान उत्पादनमा वृद्धि, आत्म निर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ धान दिवस मनाइँदैछ ।  १७ औँ धान दिवसको अवसरमा प्रदेश नम्बर २ का मन्त्रीहरुदेखि स्थानीय पालिकाका प्रमुखहरु समेत खेतमै पुगेर धान रोपेर रोपाई सुरु गरेका छन्  ।

नेपालमा हुुने कूल ४० प्रतिशत धान उत्पादन प्रदेश दुुईमा हुँदै आएको कृषि मन्त्रालयको तथ्यांक छ । पछिल्लो वर्ष यो प्रदेशमा १४ लाख २० हजार ४ सय ३६ टन धान उत्पादन भएको छ ।   प्रदेश दुईमा अहिलेसम्म १५.४ प्रतिशत धान रोपाई भएको प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेश दुईमा ४ लाख १ हजार ९ सय ६ हेक्टर खेतीयोग्य जग्गोमध्ये अहिलेसम्म ६१ हजार ९ सय २० हेक्टर जग्गामा धान रोपाई भएको मन्त्रालयका सूचना अधिकारी अविनाश झाले जानकारी दिए ।

कहाँ कति रोपाई ?

मन्त्रालयका अनुसार प्रदेश दुईको पर्सा जिल्लामा १३ हजार ८ सय हेक्टर जग्गामा धान रोपाई भएको छ । यो कूल खेतीयोग्य जग्गाको २९.६ प्रतिशत हो । त्यस्तै सप्तरीमा १३.४ प्रतिशतधान रोपाई भएको छ । सप्तरीमा कुल ५२ हजार २ सय ४१ हेक्टर खेतमध्ये ७ हजार हेक्टरमा धान रोपाई भएको हो ।

सिरहामा कुल ५० हजार १ सय ९७ हेक्टर खेतीयोग्य जमिनमध्ये ५ हजार अर्थात ८.५ प्रतिशत, धनुषामा कूल ६३ हजार १ सय १२ हेक्टर जग्गामध्ये ५ हजार ४ सय हेक्टर अर्थात ८.५ प्रतिशत, महोत्तरीमा कुूल ४० हजार १ सय २४ हेक्टर जग्गामध्ये ५ हजार ६ सय २० हेक्टर अर्थात १४ प्रतिशत धान रोपाई भएकोे मन्त्रालयले जनाएको छ ।

सर्लाही जिल्लामा कूल ४८ हजार ७ सय ६९ हेक्टर जग्गामध्ये ७ हजार २ सय अर्थात १४.७ प्रतिशत, रौतहटमा कुल ३९ हजार ५ सय १९ हेक्टर जग्गा मध्ये ७ हजार ७ सय अर्थात १९.५ प्रतिशत र बारा जिल्लामा कूल ६१ हजार २ सय ४७ हेक्टर जग्गा मध्ये ११ हजार २ सय अर्थात १८.३ प्रतिशत धान रोपाई भएको  छ ।

यसवर्ष समयमै पानी परेकोले किसानहरु खुसी हुनुका साथै धान उत्पादन पनि राम्रो हुनेमा आशावादी देखिएका छन् । मौसमले साथ दिएपनि मलको भने कही अभाव रहेको किसानहरुको भनाई छ । धनुषाको नगराईन नगरपालिका वडा नम्बर ५ गंगुलीका चन्दर महराले जसोतसो धान रोपेपनि मलको चिन्ता कायमै रहेको बताए । ‘मलका लागि कृषि सामग्री कम्पनी लिमिटेड सधैं धाउने गरेका छौँ तर प्रत्येक वर्ष रित्तै हात फर्किन्छौँ, यस पटक पनि त्यसो नहोला भन्न सकिन्न’ उनको भनाई छ । 

खेतमा धान रोपेलगत्तै डीएपी मल आवश्यक पर्ने भन्दै उनले डीएपी पाउने आशामा साल्ट्र ट्रेडिङ र कृषि सामग्रीमा धाउने गरेपनि नपाउने गरेको किसान उपेन्द्र साहको गुनासो छ ।  गत वर्ष पनि धानको सिजनमा डीएपी नपाएका उनीहरुले यस वर्ष पनि आवश्यक परेका बेला जिल्लामा मल पाउने वा भारतीय बजारबाटै ल्याउनुपर्ने हो भन्नेमा दोेधारमा छन् । यस वर्ष कोरोना संक्रमणको कारण नाकामा पनि कडाई छ । ‘प्रत्येक वर्ष ४ विघा धान उत्पादन गर्दै आएको छु, तर मलको लागि प्रत्येक वर्ष परेशान हुुनुपर्छ, यस वर्ष पनि भारतीय बजारको भर पर्नुपर्ने समस्या देखिएको छ’, किसान चन्दर महराको अनुमान छ । 

मल र खाद्यको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशनले गर्दै आएको छ । आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि किसानहरुलेभने सहजै कुनै वर्ष पनि मल नपाएको गुनासो घट्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप