बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ मा ३४ प्रतिशत रोपाइँ : मौसमको साथ पाएका किसान ‘सलह’ बाट त्रसित

सोमबार, १५ असार २०७७, १७ : १४
सोमबार, १५ असार २०७७

रुपन्देही । बुटवल उपमहानगर वडानम्बर १५ रानीगन्जका ६३ बर्षीय जीतबहादुर रानासमयमै धान रोप्न पाएकोमा दङ्ग छन् । १ विघा १० कट्ठा खेत भएका रानाले यो वर्ष समयमै पानी परेको,मल विउको समस्या नभएकाले राम्रो उव्जनी हुने आशासहित आफ्नो खेतमा धान पनि रोपे । ‘एक विघा जमिनमा रोपे अव अझै १० कठ्ठामा बाँकी छ’, उनले बेली विस्तार लगाए । 

उनी जस्तै समयमा पानी परेपछि धानखेती राम्रो हुने आसमा छिमेकी नरेस भण्डारी पनि छन् । भण्डारीले भने ‘ट्याक्टर ,खेताला सवै पाएको छु । धान रोप्दैछु । रामै होला भन्ने आशा थियो । तरर भर्खर छिरेको सहलले खेती नष्ट गर्ला कि भन्ने त्रास छ ।’ उनले मौसमले साथ दिएपनि सलहले नोक्सा गर्ला कि भन्ने चिन्ता लागेको रातोपाटीलाई बताए ।

उनको जस्तै चिन्ता प्रदेश ५ का सबै किसानलाई छ । बिगत वर्षमा भन्दा अहिले समयमै धान खेती गर्न पाएका किसानहरुलाई सहल आएपछि चिन्ता बढेको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता एवं बरिष्ठ कृषि अधिकृत विनोद घिमिरेले जनाए ।  उनले किसाले धानको व्याड जोगाउनुपर्ने चुनौती थपिएको बताए । 

‘ब्याड जोगाएमा अरु ठुलो समस्या नआउला, व्याड जोगाउन सकिएन भने भविव्यमा खाद्य सुरक्षामा असर पर्छ’, अधिकृत घिमिरेको भनाई छ ।   प्रदेश ५ कृषि विकास निर्देशनलायका सूचना अधिकृत हेमनाथ शर्माकाअनुसार  प्रदेश ५ मा यो वर्ष ३४ दशमलव ८ प्रतिशत रोपाई सकिएको छ ।

निर्देशनालयले हालै लिएको तथ्याङ्कअनुसार तराईका जिल्लाहरुमा करिब ५० प्रतिशत रोपाई भएको छ भने पहाडी जिल्लाहरुमा १५ प्रतिशतको हाराहारीमा रोपाई भएको छ ।  पहाडी जिल्लाका अधिकांश ठाउँहरुमा सिञ्चाई अभावमा आकासे पानीको भरमा रोपाई हँुदै आएको छ ।

पहाडको तुलनामा सिञ्चाई सुविधा भएकाले रोपाइ पनि तराईमा बढी भएको हो ।

८ देखि ५५ प्रतिशत रोपाई 

निर्देशनालयकाअनुसार यो वर्ष रुपन्देहीमा ५४ प्रतिशत, नवलपरासीमा ४५, कपिलवस्तुमा ५५, दाङमा ४५, बाँकेमा ५२ तथा बर्दियामा ४६ प्रतिशत रोपाई सकिएको छ ।  यसैगरी पहाडी जिल्ला पाल्पामा ५४, अर्घाखाँचीमा ८ दशमलव ८, गुल्मीमा ३ दशमलव ५, प्यूठानमा ४७, रुकुममा १० तथा रोल्पामा ९ दशमलव ५ प्रतिशत रोपाई भएको छ । 

प्रदेश ५ मा गतवर्ष ३ लाख ३० हजार ८ सय ८१ हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो भने यो वर्ष थप बढ्न सक्ने अनुमान छ । सरकारले ५ वर्षभित्र कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्यका साथ १५ जिल्लामा बृहत धान उत्पादन कार्यक्रम सञ्चालन गरेको छ । 

प्रदेश ५ का तराईका ६ जिल्ला धान उत्पादनमा  राम्रो मानिन्छन् । प्रवक्ता घिमिरले भने– ‘अहिले मनसुन समयै भएको र रोपाई पनि समयमै भएकाले उत्पादन बढ्छ तर यति प्रतिशत भन्ने आकडा निकाल्न पुरै रोपाई सकिनुपर्छ ।’ उत्साहका साथ रोपाई गरेका किसानहरुलाई सहलले चिन्ता बढाएको छ ।

 सोमबारसम्म रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, पाल्पा अर्घाखाँची र गुल्मीसम्म सलह पुगेको छ ।  किसानहरुले पानी परेका कारण सलहले ठुलो क्षति नगरेपनि पछि के गर्छ भन्ने निश्चित नभएको बताएका छन् ।   अब पहाडतिरको मकैमा बाली नष्ट गर्ने अनुमान गरिएको छ । मन्त्रालयले सलह समातेर ल्याए २० रुपैयाँ प्रतिकिलो नगद दिने घोषणा गरेको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप