शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना अपडेट : काठमाडौंका ६ सहित ४७६ जना संक्रमित थपिए

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुग्यो
सोमबार, १५ असार २०७७, १६ : २७
सोमबार, १५ असार २०७७

बितेको २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ६ जनासहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । 

संक्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको गौतमले जानकारी दिए । 

बितेको २४ घण्टामा १३ महिला र १०८ पुरुष गरी १२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ हजार १३४ पुगेको छ । 

कोरोना संक्रमणबाट थप एकको मृत्यु
यसैगरी कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार स्टार अस्पतालमा उपचाररत रौतहटका ३० वर्षिय पुरुषको कारोनाका कारण मृत्यु भएको हो । 

ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा उपचाररत ती युवकको शनिबार मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । आइसीयुमा उपचाररत उनको १३ गते स्वाव संकलन गरी पाटन अस्पतालमा कोरोना परीक्षणका लागि पठाइएको थियो । १३ गते बेलुकी नै उनको निधन भएको थियो । उनको हिजोमात्रै कोरोनाको पोजेटिभ रिपोर्ट आएको थियो ।

तीन महिनादेखि फोक्सोमा समस्या आएका कारण विभिनन अस्पतालमा उनी उपचारका लागि गएको प्रवक्ता डा. गौतमले बताए । उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

परीक्षणको दायरा बढेन
सरकारले आफ्नो लक्ष्य अनुसार परीक्षणको दायरा बढाउन सकेको छैन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट हरेक दिन १० हजारको पीसीआर परीक्षण गर्ने सार्वजनिक अभिव्यक्ति दिएपनि सो परिणाममा परीक्षणको संख्या बढ्न नसकेको हो । 

सोमबार ७ हजार ७ सय ९१ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट २ लाख २३ हजार ६ सय ३० जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ हजार ८ सय २२ जनाको गरी आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ५७ हजार ३ सय ६८ जना रहेका छन् ।

देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा १० हजार ८५ जना संक्रमित उपचाररत रहेका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप