असार १५ र किसान
झमझम पानी परिरहेको छ
प्रकृति जानकार छ
आज असार १५ हो ।
किसानले मानो खाएर मुरी फलाउने बेला हो ।
मङ्सिरमा लहलह धानक बाला झुल्ने खेतहरु,
आज हिलाम्मे छन्, टम्म पानी भरिएका छन् ।
कर्मवीर किसानलाई आज रोपाइँको चटारो छ
ब्याडबाट काढेको बीउलाई नयाँ जीवन दिने हतारो छ
हिजो पनि ऊ साँझसम्म खेतैमा थियोे ।
आज सबेरै ऊ खेतमै पुगेको छ ।
निद्राले उसलाई बेलैमा छोड्छ
उसका सपनाले उसलाई धेरै सुत्नै दिँदैन ।
ऊ कर्मवीर हो
ऊ झुटका पुलिन्दा जान्दैन
‘शक्ति’को पूजा गर्न, सत्ताको भजन गाउँन
केही केही जान्दैन, कि जानेर पनि मान्दैन !
ऊ जाँदैन जीडीपीमा उसको योगदान कति छ ?
प्रतिव्यक्ति आय उसको कति हो ?
उसको सम्बन्ध त प्रकृतिसँग पो छ
उसले त बरु पञ्चतत्व पो बुझेको छ
उसको साइनो यो माटोसँग छ ।
माटोलाई ऊ धर्तीमाता भन्दछ
पानीलाई ऊ प्राण मान्छ, खडेरी लागे ऊ धुमधामसँग शंसरे पूजा लगाउँछ !
भ्यागुताको बिहे रचिदिन्छ !
ऊ घामसँग जोडिएको छ ।
उसलाई थाहा छ,
शरीरको एकमुठ्ठी तातोमा घामको अंश छ ।
त्यसैले घाम उसका लागि आगोको डल्लो मात्रै होइन
जीवन दिने सूर्यदेव हो ।
उसले हेरेको छ, घामले सागरबाट पानी उचालेर
आकाशमा लगेको, गहकिला घना बादल पारेको !
ती हजारौँ टनका गह्रुँगो बादलहरुलाई हावाले बोकेर
उसमाथिका हिमालहरुमा ठोक्काएपछि
मेघ गर्जनसहित सागरको पानी उसका बारीहरुमा बर्सिएको
प्रकृतिको यो सुन्दर खेल उसले बुझेको छ ।
ऊ त्यही कर्मवीर हो,
जसले यो जगतका शक्तिशाली राष्ट्रवादी नेताहरुको,
धर्ती खरिद गर्नसक्ने धनाढ्यहरुको, विश्वले चिन्ने चर्चतहरुको,
दर्शन सिकाउने धगडान बुद्धिजीवीहरुको,
ढोङ्गी बाबा र साधुहरुको
सबैसबैको पेट भरेको छ, प्राण धानेको छ !
तर कर्मवीर किसान नै हो जो उपेक्षित छ
तिरस्कृत छ, अपमानित छ ।
निरन्तरको अथक मिहिनेतले ऊ पसिना गह्नाउने छ
दूध, दही, मही घिउको लगनमा
ऊ गोबर गह्नाउने भएको छ ।
उसको छोरो अङ्ग्रजी बोर्डिङमा
'My father is a farmer' भन्न भुतुक्क लजाउँछ
कारण,
धमण्डसँग 'My father is in Qatar, Dubai, Australia, America' भन्ने उसका सहपाठीहरु
उसको बाउ किसान भनेको सुनेर खिस्याउँछन् ।
आज कर्मवीर किसानलाई अलि झिँजो लाग्छ
ऊ झिसमिसेदेखि खेतीमा हुन्छ
ऊ हिलो माटो र दर्के पानीको मीठो सङ्गीतको लयमा हुन्छ ।
अनि दिउँसोखेर घरमा दही चिउरा, आँप, केरा बजाएर
आउँछन् उसको हिले गह्रामा
सुकिला मुकिला तन्नेरीहरु,
पित्तलभुँडे सर्वहारा नेताहरू,
कम्मर मर्काई मर्काई नाच्ने ‘सेलिब्रेटीहरु’,
कसैले चित्तबुझ्दो खामबन्दी खर्चको व्यवस्थासहित
आह्वान गरेपछि बान्की पारेर समाचार लेख्ने पत्रकारहरु
कोही क्यामेरा तेर्साएर, मुख चुच्चो पार्दै,
कोही बढो ढङ्गले पाइला सार्दै भलाद्मी पल्टेर
तन्नेरीहरु हिलो छ्यापाछ्याप गर्दै, लठारिइँदै, मडारिइँदै टिकटक बनाउन,फेसबुक स्टोरीमा हाल्न,
इन्स्टामा लाइक, कमेन्ट बढाउन, ट्विटरमा पाङ्दुरे बहस चलाउन, के के जाति गर्न
कहिलै खेतको हिलोमा पाइला नगाढेकाहरु
आज सबैसबै आउँछन् उसलाई अल्झाउन, अल्मलाउन
त्यसैले आजकल त उसलाई
त्यो किसान जसले जगतलाई खुवाउँछ,
दुनियाँ पाल्छ,
सबैलाई जिताउँछ,
त्यही दुनियाँले सब जाल बिच्छ्याएर
अनेक तिकडम गरेर उसलाई हराउँछ !
तर ऊ किसान हो ।
ऊ हार्दैन
ऊ मर्दैन
असङ्ख्य
चोटहरु सहेर पनि ऊ बाँचेको छ ।
किनकि उसले यो जगत बचाउनु छ !
अनि
आजकाल किसानलाई लाग्न थालेको छ
आ !
यो ‘असार १५’ नआए नि हुन्थ्यो !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल
-
राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय
-
चितवनबाट पुर्जी जारी भएका बैङ्किङ कसुरका प्रतिवादी पक्राउ
-
दुई वर्षको काम ६ महिनाभित्र गर्छ : अध्यक्ष डिसी
-
नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट
-
निर्धक्क भएर व्यवसायमा लगानी गर्न मुख्यमन्त्री आचार्यको आग्रह