मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओली नेतृत्वको सरकारको जग भारतले हल्लाएकै हो त ?

सोमबार, १५ असार २०७७, १६ : ०२
सोमबार, १५ असार २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएसँगै नेपालको राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । 

प्रधानमन्त्री ओलीले आइतबार जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सरकार ढाल्ने प्रयास भइरहेको आरोप लगाएका हुन् ।

आफू राष्ट्रियताको पक्षमा दृढ भएकै कारण प्रधानमन्त्रीबाट आफूलाई हटाउन देशी विदेशी शक्तिले चलखेल गरिरहेको उनको भनाइ थियो । खासगरी कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटेर नेपालको नयाँ नक्सा जारी गरेको र सोही नक्सालाई संविधानमा समेत समेटिएका कारण आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजिएको आरोप उनले लगाए ।

‘नेपालको राष्ट्रियता यति कमजोर छैन । नक्शा छापेका कारण सरकार परिवर्तन हुन्छ भन्ने हिजोको भ्रम अहिले पाल्नु पर्दैन,’ उनले भने । सरकार परिवर्तन हुने भ्रम नपाल्न उनले आग्रह गरे पनि उनी आफैं यो सरकार टिकिरहन्छ भन्नेमा पूर्ण विश्वस्त भने देखिएनन् । उनले अगाडि भने, ‘प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन, तर यतिबेला म हट्ने हो भने फेरिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन किनभने भोलिपल्ट बर्खास्त हुन्छ । त्यसकारण मैले आजका लागि होइन, भोलिका लागि, आफ्नालागि होइन देशका लागि.. ।’

प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेर फर्केपछि आफ्नो नेतृत्वको सरकार ढलेको स्मरण गराए । त्यतिबेला आफूसँग पूर्ण बहुमत नभएकाले सरकार ढलेको जिकिर गर्दै उनले अहिले बहुमत रहेका कारण सरकार नढल्ने दावी गरे ।

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारलाई हटाउन भारतले प्रयास गरिरहेकोतर्फ पनि संकेत गरे । ‘दिल्लीका सञ्चारमाध्यमहरु सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइराख्या छ, यहाँका होटलहरुमा भइराख्या गतिविधिहरु, त्यसले पनि बताइराख्या छ, एम्बेसीको सक्रियता, त्यसले पनि बताइराख्या छ,’ उनले भने, ‘तर म तपाइँहरुलाई यति भन्दिन्छु, नेपालको राष्ट्रियता यति कमजोर छैन–नक्सा छापेबापत, संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने कसैले सपना देख्या छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन ।’

कूटनीतिज्ञ डा. दिनेशचन्द्र भट्टराई प्रधानमन्त्री ओलीले यस्ता अभिव्यक्ति दिनु ‘अनावश्यक’ रहेको बताउँछन् । ‘कुटनीतिको मूल्य, मान्यता, सीमा, समय हुन्छ, त्यसको आफ्नै शैली पनि हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीले पार्टीकै फोरममा ती कुरा बोलेको भए एउटा प्रेसरमा बोल्नुभयो होला भनेर बुझ्न सकिन्थ्यो तर त्यसो पनि होइन, अर्कै कार्यक्रममा उहाँले कुटनीतिक सम्बन्धका कुरा गर्नुभयो, त्यस्ता फोरममा यस्तो विषय उठाउनु हुँदैन ।’

प्रमुख कार्यकारीका हैसियतमा प्रधानमन्त्री भनेको देशको नेता, नेपाल र नेपालीको मुख्य संस्था हुने प्रष्ट पार्दै उनले भने, ‘उहाँको बोलीमा त्यो प्रतिबिम्बित हुन्छ र हुनुपर्छ ।’ 

प्रधानमन्त्रीले आइतबार दिएका अभिव्यक्ति कति सत्य हुन् भन्ने विषय आफ्नै ठाउँमा छाड्ने हो भने पनि आफूले पाएको सूचनाबारे झट्ट सार्वजनिक रुपमा बोल्न नहुने उनको भनाइ छ । ‘प्रधानमन्त्रीले त्यस प्रकारको सूचना नै पाउनु भएको हो भने पनि त्यो कति सही हो भन्नेबारे राज्य संयन्त्रबाट अध्ययन, अनुसन्धान गराउनुपर्ने, सत्य नै हो भने कूटनीतिक च्यानलबाट दूतावासका त्यस्ता कर्मचारीलाई बोलाएर सोध्ने गर्नुपर्ने हो,’ उनले भने ।
यस्ता कुरा बाहिर ल्याउनै पर्ने अवस्था रहेको हो भने पनि प्रधानमन्त्री आफैले नभएर आफ्ना सहयोगी, सल्लाहकारमार्फत बाहिर ल्याउनु उचित हुने उनको भनाइ छ । 

आफ्नो नेतृत्वको सरकार ढाल्नका लागि प्रधानमन्त्री ओलीले भारतको संयन्त्र तोकेरै अचम्मले सक्रिय भएको भनेर अभिव्यक्ति दिएको सन्दर्भ जोड्दै कुटनीतिज्ञ डा. भट्टराई प्रश्न गर्छन्, ‘यत्रो बहुमतको सरकार, अर्काको मुलुकको संयन्त्र सक्रिय हुँदा हल्लिने कस्तो कमजोर हो ? प्रधानमन्त्रीकै नेतृत्वको राज्य संयन्त्र कहाँ छ ? के गरिरहेको छ त ? उहाँको नेतृत्वको राज्य संयन्त्र किन सक्रिय भएन ?’

भूगोलले हामीलाई भारत र चीनसँगै बस्न भनेको कारण हामीले दुवै देशसँग मिलेर बस्नुको विकल्प नरहेको उनले बताए । ‘भारतको रिसले नेपाललाई अन्तै सारेर लान त मिल्दैन नि !,’ उनले भने, ‘भारत र चीन दुवै छिमेकी मुलुक आपसमा मिले भने हामीलाई भोलि अप्ठ्यारो त पर्दैन भनेर नै अमेरिका, युरोपेली मुलुकलगायतसँग पनि हामीले सम्बन्ध बढाउँदै जानुपर्छ ।’

राजनीतिक विश्लेषक हरि रोका प्रधानमन्त्री ओलीका यी अभिव्यक्तिले न ओलीलाई, न त देशलाई नै राम्रो गर्ने बताउँछन् । आफ्ना असफलतालाई विषयान्तर गरेर जनताको ध्यान अन्यत्र मोड्न प्रधानमन्त्री ओलीले यस्ता प्रसङ्ग निकालेको उनले बताए ।

‘प्रधानमन्त्रीको कुर्सीमा बसेर उहाँले त्यसो भन्ने नै होइन,’ विश्लेषक रोका भन्छन्, ‘एउटा स्वतन्त्र मुलुकको सार्वभौम संसदबाट चुनिएको प्रधानमन्त्रीले त्यो कुर्सीमा बसिरहेको अवस्थामा यस्तो गैरजिम्मेवार कुरा गर्नु हुँदैन ।’
प्रधानमन्त्रीका ती अभिव्यक्तिका तीन अर्थ लाग्ने उनको भनाइ छ । पहिलो त, हाम्रो संसद भारतले बनाइदिएको भनेर प्रधानमन्त्रीले भन्न खोजेको हो भने त्यो सार्वभौम संसदकै अपमान हुने उनको भनाइ छ ।

 प्रधानमन्त्री ओलीलाई आफू संसदबाट निर्वाचित भएको र बहुमत प्राप्त आफ्नै पार्टीको संसदीय दलको नेता भएका कारण प्रधानमन्त्री बन्न सफल भएको वास्तविकता, संवैधानिक व्यवस्था नभूल्न पनि उनले सुझाव दिए । त्यस्तो प्रधानमन्त्री कस्तो अवस्थामा पदमुक्त हुन्छ भन्ने विषय संविधानमै प्रष्ट भएकाले काल्पनिक विषयमा आरोप लगाउनुको अर्थ नरहने उनले प्रष्ट पारे ।

प्रधानमन्त्रीका भनाइको दोस्रो अर्थ, भारतले नेपालको बहालवाला प्रधानमन्त्रीलाई हटाउन खोज्दैछ भनेर प्रधानमन्त्री ओली आफैले आफ्नो अधिकार, दायित्वलाई बिर्सिएको विश्लेषक रोका बताउँछन् । ‘प्रधानमन्त्रीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर यस्ता कुरा गर्नु शोभनीय हुँदैन,’ उनले भने, होटलमा भेला गरेर चलखेल भएको हो भने राजदूतलाई बोलाएर सचेत गराउन सकिन्छ, त्यति गर्दा पनि मानेनन् भने चेतावनी दिन सकिन्छ र फेरि पनि मानेनन् भने फिर्ता पठाउन सकिन्छ, सरकारको अधिकारभित्रको कुरा हो यो ।’

यस्ता कुटनीतिक प्रक्रियामा जान छाडेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा त्यसरी अभिव्यक्ति दिनु कुटनीतिक मर्यादाविपरीतको काम भएको उनले बताए । आफ्नो नेतृत्वको सरकारविरुद्ध चलखेल भएकै हो भन्ने यथेष्ट प्रमाण छ भने परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित मुलुकमा कुरा राख्न सक्ने उनको भनाइ छ ।

प्रधानमन्त्रीका अभिव्यक्तिको तेस्रो अर्थ भनेको सरकार चौतर्फी असफलताबाट घेरिएपछि आलोचनाहरुबाट जोगिनका लागि यस्ता ढाल प्रयोग गरेको हुन सक्ने रोका बताउँछन् । ‘सबै मोर्चामा सरकार असफल भइसकेको छ,’ उनले भने, ‘यसलाई ढाकछोप गर्नका लागि केही त गर्नै प¥यो, त्यही भएर यस्ता कुरा आएका हुन सक्छन् ।’

कूटनीतिक रुपमा वर्तमान सरकार दुई छिमेकीसँगको सम्बन्ध सुधारमा असफल देखिएको रोका बताउँछन् । ‘भारतलाई त उहाँ (प्रधानमन्त्री) ले आफ्नै नेतृत्वको सरकार ढाल्न खोजेको आरोप लगाइहाल्नु भयो,’ उनले भने, ‘चीनतिर पनि विश्वासको वातावरण बनाउन सक्नुभएको छैन, उहाँ प्रधानमन्त्री हुनुअघि नै नेपाल चीनको महत्वाकांक्षी परियोजना बीआरआईको सदस्य बनिसकेको अवस्थामा समेत अहिलेसम्म बीआरआई अन्तर्गतका योजना तर्जुमा गर्न नसक्नु पनि ठूलो असफलता नै हो ।’

अर्कोतिर एमसीसी परियोजनाका कारण पनि सरकार संकटमा परेको उनको भनाइ छ । ‘यसलाई स्वीकार गर्दा पनि नराम्रो, अस्वीकार गर्दा पनि नराम्रो हुने अवस्थामा सरकार पुगेको छ, यो अवस्था आउनुमा अरु कोही होइन, स्वयं सरकार नै जिम्मेवार छ,’ उनले भने ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका सवालमा गरिएको खर्च विवरण, स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता, लकडाउनका कारण मारमा परेका किसान, साना व्यवसायी, उद्यमी लगायतका बारेमा सरकारले देखाएको उदासिनता लगायतका विषयले मात्र होइन, विदेशमा काम गरेर मुलुकमा रेमिट्यान्सको योगदान गर्ने युवालाई अहिलेको संकटमा उद्धार गरेर स्वदेश ल्याउने सवालमा पनि सरकार उदासिन देखिएका कारण यो सरकारलाई अहिले कसैले पनि काँध हाल्न सक्ने अवस्था नरहेको रोकाले प्रष्ट पारे । यिनै कारण पार्टीभित्र पनि प्रधानमन्त्री ओलीको आलोचना हुन थालेको अवस्थामा नेता–कार्यकर्तामात्र नभई जनताको ध्यान अन्यत्र मोड्नका लागि प्रधानमन्त्रीले मनगढन्ते कुरा गरेको उनले बताए ।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले त प्रधानमन्त्रीको अभिव्यक्तिप्रति व्यंग्य नै गरेका छन् । उनले आइतबार नै ट्वीट गर्दै लेखेका छन्, ‘बहुमतप्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीले बाहेक अरुले हटाउन सक्ने अवस्था हाम्रो संविधानमा छैन तर अहिले हटाए नक्सा छापेको कारणले हुने, भोलि सलहले दुःख दिएको बेला हुने, पछि बाढीपहिरो आएको बेला हुने, अलिपछि दशैंतिहारको बेला हुने अनि जाडोको बेला हुने ! उचित बेला चैं कैले रच हँ ?’

परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन ओली स्वयं लागिपरेको दावी गर्छन् । जायज कुरामा जनता र दलहरुले सधैँ सरकारलाई साथ दिइरहेको उल्लेख गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ नक्साको बारेमा तपाईको पार्टी तथा आम नेपाली जनताले तपाईलाई साथ दिएका छन्, विचार गर्नुस् । कुनै विदेशीको मुख हेरेको भए यो एकता सम्भव हुने थिएन र संसदबाट सीमाना सम्बन्धी प्रस्ताव निर्विरोध पारित हुने थिएन ।’ यो देख्दा देख्दै पनि अरुलाई विदेशीबाट सञ्चालित भन्नु आफूबाहेक कोही पनि नेपालमा देशभक्त छैनन् भन्नु नै हो भन्ने उनको जिकिर छ ।

प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै उनले लेखेका छन्, ‘यो भनाइले तपाई सबै नेपाली जनताको अपमान गर्दै हुनुहुन्छ, आफूबाहेक अरु सबैलाई विदेशीबाट सञ्चालित छन् भन्ने दृष्टिकोण तपाईको कमजोर र हतास मनस्थितिको परिचायक हो ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुदर्शन आचार्य
सुदर्शन आचार्य
लेखकबाट थप