शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घ, प्रदेश र स्थानीय तह सम्बन्धी विधेयक स्वीकृत

सोमबार, १५ असार २०७७, १५ : ४४
सोमबार, १५ असार २०७७

काठमाडौं ।  राष्ट्रियसभा बैठकले सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उक्त प्रस्ताव कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेकी थिइन् ।

बैठकले अर्थमन्त्री डा.युवराज खतिवडाले प्रस्तुत गर्नुभएको ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधि सभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा प्रतिवेदन पेश

यसैगरी बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले ‘राष्ट्रिय महत्वका दस्तावेज अभिलेख व्यवस्थापन सम्बन्धी प्रतिवेदन, २०७७’ सभा समक्ष पेश गरे । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७६, खेलकूद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७६ र रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही असार १७ दिउँसो १ बजे बस्नेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप