शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तानसेनमा उजिरसिंह उद्यान निर्माण हुँदै

सोमबार, १५ असार २०७७, १४ : ३२
सोमबार, १५ असार २०७७

पाल्पा । तानसेन नगरपालिका–६, सतनचुलीमा उजिरसिंह उद्यान स्थापना हुने भएको छ । सो पार्कको आज शिलान्यास गरिएको छ । नेपाल अङ्ग्रेजबीच नुवाकोट जीतगढीमा भएको युद्धमा नेपाललाई विजय दिलाउने युद्धनायक कर्णेल उजिरसिंह थापाका नाममा सतनचुलीमा उद्यान बन्न लागेको हो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पाल्पा २ का सांसद सोमप्रसाद पाण्डेयको रु ५० लाख बजेट विनियोजनबाट पूर्वाधारका काम भइरहेको छ । आर्थिक वर्ष २०७६।०७७ बजेटबाट सो काम भइरहेको छ । असार मसान्तसम्म उद्यान निर्माण पूरा हुने तानसेन नगरपालिकालका इञ्जिनीयर रामप्रसाद श्रेष्ठले बताए । उद्यान निर्माणले पाल्पा आउने पर्यटकलाई टहलिन सहज हुने देखिएको छ ।

नेपालको भूगोल जोगाउने, राष्ट्रियताको रक्षा गर्ने र स्वाधीन नेपालका निम्ति आधुनिक हतियारले सुसज्जित अङ्ग्रेजलाई परास्त गर्ने नेपाली सेनाका कर्णेल थापाको योगदानको कदर गरेर उद्यान निर्माणमा प्राथमिकता दिइएको सांसद पाण्डेयले बताए ।

तत्कालीन संविधानसभा सदस्य नारायणी शर्मा र  जिल्ला समन्वय समिति पाल्पाका कार्यवाहक प्रमुख मीरा मरासिनीले पर्यटन विकासमा उद्यानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, नेकपाका धनेन्द्रराज घिमिरे, नेपाली काँग्रेसका विधान श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर कुँवर र राष्ट्रिय जनमोर्चाका  विशाल दर्लामीले बर्तुङमा उद्यान निर्माण हुनु सुखद् पक्ष भएको बताए । निर्माण समितिका अध्यक्ष दयाराम पाण्डेले उद्यानको विस्तृत गुरूयोजना निर्माण गरी राष्ट्रकै महत्वपूर्णस्थल बनाइने योजना रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप