शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई सातामै अर्थमन्त्रीको बोली फेरियो, अर्थतन्त्रको सबै क्षेत्र सकारात्मक भएको दाबी

सोमबार, १५ असार २०७७, १३ : ४९
सोमबार, १५ असार २०७७

काठमाडौं । अर्थतन्त्रको वर्तमान अवस्थाबारे अर्थमन्त्री डा. युवराज खतिवडाको बोली फेरिएको छ । अर्थतन्त्र ज्यादै नाजुक अवस्थामा पुगेको, १५ अर्ब राजश्व उठाएर ४० अर्ब खर्च गर्नुपर्ने अवस्था रहेको भन्दै दुई साताअघि संसदमा दिएको मन्तव्यबाट आलोचना खेपेका अर्थमन्त्री खतिवडाले अहिले अर्थतन्त्रका सबै पक्षहरु सकारात्मक र उत्साहजनक रहेको बताएका हुन् ।
 उनले अबको समस्या आर्थिक वृद्धिको लक्ष्य हासिल कसरी गर्ने भन्नेमात्रै रहेको समेत दाबी गरे । 

नेपाल उद्योग परिसंघको १७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले लकडाउनको सुरुमा २० प्रतिशतमा झरेको अन्तराष्ट्रिय व्यापार ८० प्रतिशत पुगेको, औसतभन्दा बढी रेमिट्यान्स भित्रिएको, इतिहासकै बढी विदेशी मुद्राको सञ्चिति रहेको, बैंकिङ क्षेत्रमा कर्जाको ब्याजदर घट्दै गएको भन्दै अर्थतन्त्रका गतिविधिहरु सामान्य अवस्थामा फर्किएको दाबी गरेका हुन् । 

‘हाम्रो संरचना बिग्रेको छैन, गतिविधि रोकिएको मात्रै हो । अवस्था सामान्य बनेपछि हाम्रो गतिविधि पनि सुचारु हुन्छन्,’ खतिवडाले भने, ‘हामीले कलडाउनकै बीचमा पनि निर्माण व्यवसायीलाई काम नरोक्नुस् भन्यौं, श्रमिक सबै आउन नसकेकोकोले केही समस्या भयो होला तर यो पनि विस्तारै समाधान हुन्छ, हामी अर्को वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिको बाटोमा हिँड्छौं ।’ उनले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिले कर्जाको पुनर्तालिकीकरण गर्ने वा पुँजीकरण गर्ने व्यवस्था गर्ने आश्वासन समेत दिए । 

खतिवडाले श्रमको उपयोग र सीप विकास तथा रोजगारी अभिवृद्धिमा सहयोग गर्नेगरी स्कीम ल्याउन समेत आग्रह गरे । सरकारले श्रम क्षेत्रमा इतिहासमै सबैभन्दा धेरै बजेट छुट्याएको भन्दै यसबाट सीप विकास गरेर विदेशी कामदारको प्रतिस्थापन गर्ने आवश्यकता रहेको समेत औंल्याए । 

उनले कोभिडको महामारी कम भएसँगै विदेशी लगानी पनि भित्रने दाबी गरे । ‘हामीले एउटै मिटिङबाट २ अर्बको लगानी स्वीकृत गर्यौ, उद्योग विभागबाट ३०÷४० अर्बको लगानी स्वीकृत भएको छ । कोभिडको कारण केही ढिला होला, तर लगानी आउँछ’ खतिवडाले भने । 
बजेटले निजी क्षेत्रलाई विद्युत्मा १२ देखि १३ अर्बसहित ७० अर्बको राहत प्याकेज दिएको भन्दै सर्भाइभको क्रममा थप सहयोग गर्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे । 

उनले श्रम सम्बन्धलाई ध्यान दिन निजी क्षेत्रलाई आग्रह गरे । 

उनले अख्तियारसम्बन्धी कानून अन्तराष्ट्रिय कानूनलाई मिलाउने सम्बन्धमा आएको भन्दै निजी क्षेत्रलाई अप्ठ्यारोमा पार्नेगरी अघि बढ्ने मनसाय सरकारको नभएको समेत बताए । खतिवडाले भने, ‘तपाइँहरुको मागमा हाम्रो सैद्धान्तिक सहमति छ, निजी क्षेत्रलाई अप्ठ्यारोमा पार्नेगरी सरकार अघि बढ्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप