शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीका मोटरसाइकल कारोबारी १२ जना पक्राउ, यातायात कार्यालयकै कर्मचारीको मिलेमतोमा नक्कली बिलबुक

सोमबार, १५ असार २०७७, १३ : ११
सोमबार, १५ असार २०७७

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले मोटरसाइकल चोरी गरी नक्कली कागजात बनाएर किनबेच गर्दै आएको गिरोहलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उक्त गिरोहमा सामेल १२ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । उनीहरुको साथबाट विभिन्न कम्पनीका मोटरसाइकल र नक्कली बिलबुकहरुसमेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

कञ्चनपुरका जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीका अनुसार लालझाडी गाउँपालिका–७ का बहादुर राना, बेदकोट नगरपालिका–६ का राजकुमार राना, हरेन्द्र राना, सुवेश रानालाई पक्राउ गरिएको हो । यस्तै लालझाडी गाउँपालिका–१ का रामनिवास राना, शुक्लाफाँटा नगरपालिका–१२ घर भई धनगढी उपमहानगरपालिका–३, मिलन चोक बस्ने श्याम राना, बेदकोट नगरपालिका–६ का राम लाल, बेदकोट–५ का प्रदीप राना, लक्ष्मी रानालाई पनि पक्राउ गरिएको उनले बताए । 

यसैगरी लालझाडी गाउँपालिका–४ का रामदयाल राना, यातायात व्यवस्था कार्यालय धनगढीमा कार्यरत कर्मचारीद्वय जितेन्द्र राना र गणेश भट्टराईलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरी तथा विक्रीमा संलग्न व्यक्तिहरु पक्राउ परेपछि सोधपुछका क्रममा यातायात कार्यालयका कर्मचारीद्वयमार्फत नक्कली बिलबुक बनाउने गरेको तथ्य खुलेको प्रहरीको भनाइ छ ।
पक्राउ परेहरुको साथबाट ८ थान मोटरसाइकल बरामद भएको प्रहरीको भनाइ छ । 

‘सुरुवाती अनुसन्धान तथा अप्रेसनका क्रममा हामीले उनीहरुलाई पक्राउ गरेका हौं,’ एसपी मरासिनीले भने, ‘यसबारे थप अनुसन्धान भइरहेको छ, गिरोहका अरु सदस्यबारे पनि खोजी तथा अनुसन्धान भइरहेको छ ।’  

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप