बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहरबीच यसरी मनाइदैछ धान दिवस तथा रोपाइँ महोत्सव

सोमबार, १५ असार २०७७, ०९ : ४१
सोमबार, १५ असार २०७७

काठमाडौँ । आज असार १५ अर्थात दही, च्युरा खाने दिन । असार १५ नेपाली किसानका लागि महत्वपूर्ण पर्व हो । यो दिन धान दिवस मनाउनुको साथै रोपाइँ महोत्सव मनाउने गरिन्छ । यसपटक ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भररता र समृद्धि’ मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०७७ मनाइदैछ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमातहतका विभिन्न निकाय तथा निजी क्षेत्रका सरोकारवाला संघ संस्थाले आज देशैभरि धान दिवस मनाइ रहेका छन् ।

कृषि मन्त्री घनश्याम भुसाल धान दिवस तथा रोपाइँँ महोत्सव मनाउनका लागि उदयपुरको त्रियुगा नगरपालिका पुगेका छन् भने कृषि विभाग र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले काठमाडौंमा संयुक्त रुपमा महोत्सव मनाउने भएको छ । नार्कको अनुसन्धान केन्द्र खुमलटारमा संयुक्त रुपमा सो कार्यक्रम मनाइने छ ।

यसै अवसरमा धान रोपाइँ गर्नका लागि कृषि विभागले प्रोटकल निर्धारण गरेको छ । धान महोत्सवका साथै अन्य समयमा पनि कोरानाभाइरसका कारण सतर्कता अपनाउँदै कृषि कर्म गर्न विभागले आग्रह गरेको छ ।  कोभिड १९ रोग विश्वव्यापी महामारीको रुपमा फैलिएको तथा नेपालमा पनि यस महामारीको प्रकोप बढ्दै गएको छ । कोभिड १९ रोगको जोखिम अवस्थामा समेत कृषि कर्मलाई नियमित नराखे निकट भविष्यमा खाद्य तथा पोषण असुरक्षाको अवस्था आउनसक्ने सम्भावना भएकोले कृषिसम्बन्धी गतिविधीहरु आवश्यक सतर्कता अपनाई नियमित गर्न आवश्यक रहेको विभागले जनाएको छ । १७ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने सन्दर्भमा कोभिड १९ रोगको संक्रमणबाट बच्न सावधानी अपनाउने विभागले आग्रह गरेको छ ।

सरकारको निर्णय बमोजिम बढीमा २५ जनासम्म मात्र भेला भएर १७ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने विभागले आफ्ना मातहतका सबैतिर सर्कुलर गरेको छ । । यदि २५ जना भन्दा बढी भएमा न्यूनतम सामाजिक दुरी (६ फिट) कायम हुने गरी ससाना उपसमूहमा रहेर रोपाइँ महोत्सव मनाउने आग्रह गरेको छ ।

विभागले कार्यक्रम स्थलमा उपयोग हुने फर्निचर तथा अन्य सामग्री निसंक्रमण गर्ने तथा सो को व्यवस्थापन गर्दा कम्तिमा ६ फिटको दूरी कायम राख्ने बताएको छ । प्रदेश तथा स्थानीय स्तरमा १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउदा यथासक्य संयुक्त आयोजनामा सरकारी फार्म केन्द्रमा मनाउन पनि आग्रह गरेको छ ।

रोपाइँ महोत्सव प्रवेश स्थलमा सम्भव भएसम्म तापक्रम तथा लक्षण पहिचानको व्यवस्था गर्न पनि भनेको छ । परीक्षण गर्दा शंका लागेमा प्रवेशमा रोक लगाउने पनि विभागले भनेको छ ।

रोपाइँ महोत्सव प्रवेश स्थलमा सावुन पानीले हात धुने व्यवस्था, गुणस्तरीय स्यानिटाइजर र मास्क अनिवार्य प्रयोग गर्ने व्यवस्था मिलाउनुको साथै रोपाइँ गर्दा खेतमा व्यक्तिहरुबीच पर्याप्त सामाजिक दुरी (कम्तिमा ६ फिट) कायम गर्न ससाना क्षेत्र निर्धारण गरी रोपाइँ गर्न आग्रह गरेको छ ।

रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा  मनोरन्जनात्मक हिलो छ्याप्ने जस्ता गतिविधि नगर्ने पनि आग्रह गरेको छ ।

रोपाइँ गर्दा, खाजा वा चिया खाने बेला, आवत जावत गर्दा कम्तिमा ६ फिटको दूरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने, रोपाइँ महोत्सवमा खाजा व्यवस्थापनमा सुरक्षात्मक उपायहरुको अवलम्बन गर्ने र संभव भएसम्म सामूहिक खाजालाई निरुत्साहित गर्ने विभागले आग्रह गरेको छ ।

रोपाइँ महोत्सवमा संभव भएसम्म कम श्रम लाग्ने प्रविधि तथा मेशिनहरूको प्रयोग गर्ने, सकेसम्म थोरै मानिसहरू संलग्न हुने, कृषि  मेसिनरीहरुको  प्रयोग  अघि  र पछि  साबुन पानीले  हात धुने तथा निसंक्रमणमा पर्याप्त ध्यान दिने आग्रह गर्दै विभागले रोपाइँ हुने क्षेत्रमा रोपाइँ पश्चात सावुन पानीले हात धुने व्यवस्था एवं गुणस्तरीय स्यानिटाइजरको व्यवस्था मिलाउन भनेको छ ।

धान उत्पादनमा वृद्धि हुने दावी

कृषि मन्त्रालयले यसपाली धान उत्पादनमा वृद्धि हुने दावी गरेको छ । समयमा मनसुन शुरु भई धान रोपाइँ भएको र मल खादको अभाव नभएको हुँदा धान उत्पादनमा वृद्धि हुने दावी गरेको छ ।

गत वर्षको तुलनामा यसवर्ष धान रोपाइँमा उल्लेख्य वृद्धि भएको छ । असार १० गतेसम्म २०.०५ प्रतिशत धान रोपाइँ भएको छ । जब गतवर्ष यतिबेला ११.६४ प्रतिशत मात्र धान रोपाइँ भएको थियो । कृषि मन्त्रालयका अनुसार सबभन्दा बढी २६.०७ प्रतिशत धान रोपाइँ उच्च पहाडी क्षेत्रमा भएको छ । त्यस्तै मध्य पहाडी क्षेत्रमा २०.०७ र तराई क्षेत्रमा १९.७५ प्रतिशत मात्र रोपाइँ भइसकेको छ ।

प्रदेश १ मा १०.४१, प्रदेश २ मा १५.५३, वागमती प्रदेशमा १८.६८, गण्डकी प्रदेशमा १३.७२, प्रदेश ५ मा ३६.२६, कर्णाली प्रदेश २०.११ र सुदुरपश्चिममा २१.४६ प्रतिशत धान रोपाइँ भइसकेको कृषि मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले बताए ।

कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले विगतको तुलनामा यसपटक धान उत्पादनमा वृद्धि हुने दावी गरे । आ.व. २०७६/०७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलबाट  ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमशः २.२० प्रतिशत र १.०५ प्रतिशत कमी भए पनि अघिल्लो वर्षको तुलनामा उत्पादकत्व १.२ प्रतिशतले बृद्धि भएको देखिन्छ ।

नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । त्यसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढी रहेको छ । अन्नबाली उत्पादनको कूल क्षेत्रफलको करीब ४३  प्रतिशतमा धान खेती हुने गरेको र कूल अन्नबाली उत्पादनमा ५३ प्रतिशत धानको हिस्सा रहेको छ । नेपालमा बार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको धान तथा यसका उप–उत्पादनहरु प्राप्त हुने गर्दछ ।

मुलुकको कूल गार्हस्थ्य उत्पादनमा २६.५० प्रतिशत अंश कृषिको रहेकोमा धानको कृषिक्षेत्रको ग्राहस्थ्य उत्पादनमा १५.३५ प्रतिशत योगदान रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप