बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज –पेलेको उदय र ब्राजिललाई पहिलो विश्वकप उपाधि

सोमबार, १५ असार २०७७, ०६ : ५९
सोमबार, १५ असार २०७७

२९ जुन, सन् १९५८ मा ब्राजिलले आयोजक स्विडेनलाई ५–२ ले हराएर पहिलोपटक विश्वकप उपाधि जित्यो । यस प्रतियोगितामार्फत फुटबल खेलका सर्वाधिक उत्कृष्ट प्रतिभा एड्सन आरान्तेस डो नासिमेन्तो अर्थात् पेले उदाए ।

डोडिन्हो नामका व्यवसाहिक फुटबलरका छोरा पेलेलाई सानोमा उनकी आमाले फुटबल खेल्न कहिल्यै प्रोत्साहन गरिनन् किनकी उनी आफ्ना श्रीमान्ले पैसा कमाउन गर्नुपरेको संघर्षको साक्षी थिइन् । तर, पेलेको लगाव यही खेलमा देखियो । १४ वर्षको छँदा स्थानीय स्तरको प्रतियोगितामा पेलेले देखाएको उत्कृष्ट खेल कौशलले ब्राजिलकै पूर्व खेलाडी डि ब्रिटोको ध्यान खिच्यो । यसपछि सान्तोष क्लबमा उनले ट्रायलको अवसर जुटाइदिए, क्लबबाट उत्कृष्ट खेलेपछि पेले स्विडेन विश्वकपका लागि राष्ट्रिय टिममा छनोट भए । विश्वकपका सुरुका दुई खेलमा उनलाई मैदानमा उतारिएन, तर  सोभियत युनियनविरुद्धको आफ्नो डेब्यु खेलमा १७ वर्षका पेलेले भाभाका लागि गोलको अवसर सिर्जना गरिदिए । त्यसपछि वेल्सविरुद्ध क्वाटरफाइनलमा उनले निर्णायक गोल गरे । पेलेको वास्तविक जादु सेमिफाइनलमा देखियो, उनले फ्रान्सविरुद्ध उत्कृष्ट खेल खेल्दैं ह्याट्रिक गरे । उनले फाइनलमा पनि दुई गोल गरे । यस प्रतियोगितामा ब्राजिलका डिडी, गारिन्चा, भाभालगायतको खेल पनि उच्चस्तरको थियो । डिडीले गोल्डेन बल जित्दा पेले प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी बने ।

ब्राजिलले यसपछि सन् १९६२ र १९७० मा पनि विश्वकप जित्यो । यी दुबै टोलीमा पनि पेले सहभागी थिए । उनी तीनपटक विश्वकप जित्ने एकमात्रै फुटबलर हुन् । सन् १९९४ र २००२ मा समेत च्याम्पियन बनेको ब्राजिल विश्वकप फुटबल इतिहासमा सर्वाधिक पाँचपटक उपाधि जित्ने एकमात्रै टोली हो । ब्राजिलबाहेक जर्मनी र इटलीले चारपटक, उरुग्वे, अर्जेन्टिना, र फ्रान्सले दुईपटक तथा इङल्यान्ड र स्पेनले एक पटक उपाधि जितेका छन् ।

अन्य घटनाक्रम

सन् १४४४– सिकन्दर वेगद्वारा अट्टोमन साम्राज्यका सेना परास्त ।

सन् १८६४– क्यानेडामा रेलवे दुर्घटनामा ९० मानिस मारिए ।

सन् १८९३– भारतीय वैज्ञानिक प्रशान्त चन्द्र महालनोविसको जन्म ।

सन् २००७– एप्पलको पहिलो स्मार्टफोन आईफोन बजारमा आयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप