बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

शेयर बजार खोल्न धितोपत्र बोर्डको निर्देशन, प्राविधिक विषयको निर्णय गर्ने जिम्मा नेप्सेलाई

आइतबार, १४ असार २०७७, १८ : ४१
आइतबार, १४ असार २०७७

काठमाडौं– प्राविधिक विषयको जिम्मा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई दिँदै नेपाल धितोपत्र बोर्डले बजार खोल्न निर्देशन दिएको छ । बोर्डले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनको आधारमा नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिको आइतबार बसेको बैठकले धितोपत्र बजार (नेपाल स्टक एक्सचेञ्ज) सञ्चालनका लागि आवश्यक पूर्वाधार पुगेको निष्कर्ष निकाल्दै बजार खुला गर्न निर्देशन दिएको हो । 

बोर्डले शेयर बजार बन्द भएको अवधिमा कारोबारको अटोमेसन तथा बजार सुधारका लागि विभिन्न कामहरु भएको समेत जनाएको छ ।

यो अवधिमा सीडीएससीले डेबिट इन्ट्रक्सन स्लिप (शेयर चेक) को भुक्तानी इलेक्ट्रोनिक माध्यमबाट गर्न सक्ने व्यवस्था गरेको, नेप्सेलाई पूर्ण स्वचालित अनलाइन सेवा दिन निर्देशन दिइएको, शेयर खरिद गरिएको रकम भुक्तानीका लागि विद्युतीय भुक्तानी असीमित रुपमा गर्नसक्ने व्यवस्था मिलाइएको, प्रयोगकर्तालाई अनलाइन कारोबारको लागि युजरनेम र पासवर्ड लिन कुनै शुल्क नलाग्ने व्यवस्था गरिएको तथा भारित औसत लगतको गणना समेत सिस्टमबाटै हुने व्यवस्था गरिएको जनाएको छ । यी प्रयासहरुका कारण पूर्ण स्वचालित अनलाइन कारोबारका लागि आधार बनेको बोर्डको दाबी छ । 

त्यसबाहेक बजार बन्द भएको यो अवधिमा अवधिमा प्रकृतिक व्यक्तिले गर्ने शेयर कारोबारमा हुने पुँजीगत लाभकरलाई अन्तिम लाभकरको रुपमा गणना गर्ने व्यवस्था गरिएको, स्टक डिलर स्थापना हुन लागेको, बुक बिल्डिङ तथा ब्रोकर कमिसन परिमार्जनका लागि कार्यविधि तयार भएको र सरोकारवालाहरुबाट सुझाव संकलनका लागि ७ दिनको समय दिइएको जनाइएको छ ।

बजार खोल्ने सम्बन्धमा कारोबार समय, सर्किट ब्रेक र मूल्य घटबढको सीमा लगायतका प्राविधिक निर्णयको जिम्मा नेप्सेलाइ दिइएको हो । त्यस्तै, ब्रोकर, मर्चेन्ट बैंकर र केन्द्रीय निक्षेप प्रणालीलाई पनि कोभिड–१९ को जोखिम नहुने गरी काम गर्न बोर्डले निर्देशन दिएको छ ।

निर्देशन अनुसार भोलिदेखि हुने शेयर कारोबारमा ब्रोकरले स्क्रिन रुप सञ्चालन गर्न पाउने छैनन् । यस्तो रुम सञ्चालन गरेमा र आवशयक सुरक्षा सतर्कता नअपनाएका कारबाही गरिने समेत बोर्डले जनाएको छ । बोर्डले लगानीकर्तालाई समेत सकभर घरमै बसेर शेयर कारोबार गर्न अनुरोध समेत गरेको छ । 

बोर्डको निर्देशनपछि नेप्सेले सोमबारदेखि नै बजार खुला गर्ने तयारी गरेको छ । कारोबार प्रणाली सामान्य अवस्थामा यसअघि भएको जस्तैगरी हुनेछ । सामान्य अवस्थामा नेप्से परिसूचक छ प्रतिशतसम्म घटबढ हुन सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप