मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न पाइएनः मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा आएदेखि भूमि समस्या बाहेकका विषयमा छलफल गर्न नपाएको गुनासो गरेकी छिन् ।
संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा भूमिको समस्या बाहेकका विषयमा एकदिन पनि छलफल गर्न नपाएको गुनासो मन्त्री अर्यालले गरिन् । उनले भूमिको सन्दर्भमा अहिले सम्म धेरै नै बिगारिएको र बेथिति ल्याइएको भन्दै त्यसलाई सुधार्न आफु लागिपरेको बताइन् । उनले भनिन्– ‘सरकारी सार्वजनिक जग्गाको हाल त्यस्तै छ । मालपोत नापीसित जोडिएका कुराहरु त्यस्तै छ । म त एकदम समस्यै समस्याको चाङमा बेथितिको भूमरीमा कति सुधार्न सकिन्छ, सुधार्ने कोसिसमा छु । समस्या बाहेक कहिल्यै छलफल गर्नै पाइन । जतिखेर पनि समस्या बाहेक कुनै दिन हेर्ने हो भने आज त यसो गर्यौं नि भन्ने कुरै छैन । त्यस्ता खालका असजिलो नआउन । धेरै बिगारिसकेको, धेरै बेथिति आइसकेको ठाउँ रहेछ ।’
मन्त्री अर्यालले गुठी जग्गाको सन्दर्भमा पनि धेरै नै विवादहरु रहेको र त्यसलाई कानून निर्माण नगरिकन व्यवस्थित गर्न नसकिने स्पस्ट पारिन् । सरकारले एकीकृत कानून निर्माणका लागि समिति गठन गरेर अध्ययन गरिराखेको र गुठियारहरुको भावनालाई समेटेर नै कानून आउने उनले स्पस्ट पारिन् । उनले सरकारी सार्वजनिक जग्गामा जस्तै गुठीका जग्गामा सरकारले हस्तक्षेप नगर्ने तर अतिक्रमित जग्गाको संरक्षण गर्ने बताइन् । अतिक्रमणमा परेका गुठीका जग्गालाई फिर्ता गर्ने कामको सुरुवात मन्त्रालयले गरेको जानकारी समेत मन्त्री अर्यालले दिइन् । उनले गुठीका जग्गासँग जोडिएका मोही र किसानहरुको स्वामित्व स्थापित गर्ने गरी गुठी ऐन ल्याइएको तर अगाडि बढाउन नसकिएको समेत बताइन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र गुठी संस्थानबीच पनि विवाद हुने गरेको मन्त्री अर्यालले बताइन् । उनले मन्त्रालयले गुठी संस्थानको स्वीकृति बिना नै जग्गाको प्रयोग गर्दा विवाद उत्पन्न भएको जानकारी दिइन् । कतिपय विवादमा मन्त्रीहरु नै बसेर छलफल गरी विवाद टुङ्ग्याउनु परेको अवस्था रहेको समेत उनले बताइन् । बैठकमा सांसदहरुले विभिन्न गुठीका जग्गाको अतिक्रमण भएको र ती जग्गालाई फिर्ता ल्याउन मन्त्रालयले गरेको कामकारबाहीको विषयमा जानकारी मागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण