शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिओपीले मात्र सीमा सुरक्षा हुँदैन, जनतालाई जोडनुपर्छ : जनार्दन शर्मा

आइतबार, १४ असार २०७७, १५ : ५०
आइतबार, १४ असार २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले नेपाल–भारत सीमा सुरक्षाका लागि सीमा क्षेत्रमा बिओपी राखेरमात्रै नहुने भन्दै जनतालाई समेत जोड्नुपर्ने बताएका छन् । 

पार्टीको जारी स्थायी कमिटी बैठकमा शनिबार सीमा समस्याबारे आफ्नो धारणा राख्दै पूर्वगृहमन्त्री समेत रहेका शर्माले नेपालले अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि सिंगो देश राष्ट्रिय स्वाधीनताको लडाइँमा होमिएको बताए । 

राष्ट्रिय स्वाधीनताको लडाइँका दुईवटा पक्ष भएको भन्दै उनले जनतालाई सुसंगठित र एकताबद्ध परिचालन गर्दै  कुटनैतिक,राजनैतिक,जनदबाबको एकीकृत योजना बनाउनु पर्नेमा जोड दिए । 

‘मुख्य कुरा वार्ताबाटै समस्याको समाधान खोज्ने हो । सीमा रक्षाका लागि मुलत सिमानाका जनता नै हाम्रा मुल आधार (पिलर) हुन् । ती जनताको दैनिक जीवन सञ्चालनको सुविधा र सुरक्षाको ग्यारेन्टी हुनेगरी सरकारले नीति तथा योजना बनाउनुपर्छ’, शर्माले भने, ‘बिओपीले मात्र सीमा रक्षा हुँदैन जनतालाई पनि जोड्नु पर्छ ।’

उनले सीमामा पर्खाल नै लगाउने भएपनि डिजिटल पर्खाल लगाउनु उपयुक्त हुने बताए । ‘जसले दुबै देशको सुरक्षा संवेदनशीलतालाई समेत सम्बोधन गर्छ । दुई देशका जनता बीचको सम्बन्ध,आवश्यकता र व्यवहारलाई पनि विश्लेषण गर्नुपर्छ । जनताबीचको सम्बन्धलाई सुदृढ गर्दै सरकारको गलत रबैया र हर्कतको विरोध गर्नुपर्छ’, शर्माको सुझाव छ । 

त्यस्तै उनले आर्थिक आत्मनिर्भरता, समृद्धिको बाटोका लागि उदार समाजवादी सिद्धान्तका आधारमा योजनाबद्ध ढंगले उत्पादक शक्तिको विकास गर्दै उत्पादनका साधनमाथि सामूदायिक र सामाजिक स्वामित्व स्थापना गर्ने बाटो अपनाउनुपर्ने धारणा राखे । 

‘हाम्रा स्रोत साधनहरु नेपाली जनताले स्वतन्त्रतापूर्वक उपयोग र समृद्धिका लागि प्रयोग गर्न सक्ने अवस्था बनाउनुपर्छ । नकि कुनै शक्ति केन्द्रको योजनामा निजीकरण गर्ने,जनताले उपयोग गर्न नपाउने हुनुहुँदैन’, उनको भनाइ छ । योजनाबद्ध ढंगले पाइला चालेमात्र आत्मनिर्भर र स्वाधीन राष्ट्र निर्माणको आवश्यकता पूरा गर्न सकिने शर्माको भनाई छ ।

उनले कालापानी क्षेत्रमा पूर्ण स्वामित्व कायम गर्न राजनैतिक र कुटनैतिक संवादका साथै राष्ट्रिय एकता र जनतामा आएको उत्साहलाई कायम राख्न केही सर्तहरू भएको भन्दै त्यो पार्टीको आन्तरिक एकता भएको बताए । 

‘त्यो एकताका लागि हामीले आ–आफ्नो अहम् छाडेर  रुपान्तरित हुन जरुरी छ । कमीकमजोरी स्वीकार्न, आफैलाई सच्याउने, छलफल बहस गर्दै नयाँ निष्कर्षमा पुग्ने कुरामा रुचिपूर्वक लाग्नुपर्छ’, शर्माको भनाइ छ । उनले राष्ट्रको भविष्य रुपान्तरणका लागि पार्टीभित्र बहस, छलफल,आत्मआलोचना र संघर्ष हुनुपर्ने भएपनि कुर्सी फेरेर पार नलाग्ने दावी गरे ।

‘चिन्तन बदल्नु पर्दछ । वस्तुगत परिस्थिति अनुरुप जनता र देशको आवाज अनुसार आफैलाइ फेर्नुपर्छ । मुख्य गरी नेतृत्वले त्यसमा पनि प्रमुख नेतृत्वले सही ढङ्गले सोच्नु  पर्छ र व्यवहार गर्नुपर्छ’, शर्माले आफ्नै नेतृत्वलाई लक्षित गर्दै भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप