मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथरको याङवरक गाउँपालिकाले सार्वजनिक गर्‍यो प्रगति विवरण

आइतबार, १४ असार २०७७, १३ : २६
आइतबार, १४ असार २०७७

–रवीन्द्र काफ्ले
फिदिम । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पूरा हुँदै गर्दा पाँचथरको याङवरक गाउँपालिकाले आफ्ना उपलब्धिहरु सार्वजनिक गरेको छ ।  गाउँपालिकाको सातौँ गाउँसभामा उपाध्यक्ष कमलकुमारी योङहाङले तीन आर्थिक वर्षका प्रगति सार्वजनिक गरेकी हुन् । उनले गाउँपालिकाले भौतिक पूर्वाधार, सेवा प्रवाहका क्षेत्र, कृषि, सिँचाइ, खेलकूद, संस्थागत विकास, वन वातावरण तथा पर्यटन, आवश्यक ऐन निर्माणको अवस्थालगायत विषयका प्रगति प्रतिवेदन सार्वजनिक गरेकी छिन् ।

प्रतिवेदनका अनुसार भौतिक पूर्वाधारतर्फ गाउँपालिकाको प्रशासकीय तथा वडा नं २ र ५ को वडा कार्यालय भवन निर्माण सुरु , वडा नं ३ मा बर्थिङ सेन्टर, वडा नं ५ मा आधारभूत स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएको तथा छवटा खोप केन्द्रका भवन निर्माण भई सञ्चालनमा आएका छन् । 

यस्तै वडा नं ४ थर्पू बजारमा सामुदायिक भवन निर्माणाधीन, वडा नं ६ मा ज्येष्ठ नागरिक दिवा आश्रम, विभिन्न वडामा तीनवटा कृषि उपज सङ्कलन केन्द्रका भवन निर्माण भएका छन् । विगत तीन वर्षमा गाउँपालिकाले १० वटा विद्यालयमा नयाँ भवन तथा ब्लक निर्माण गरेको छ ।  सीमा नाका चिवाभञ्ज्याङमा घरबास निर्माण सम्पन्न, थर्पू बजार आसपासको क्षेत्रका लागि चिण्डेअसिने बृहत् खानेपानी आयोजना सुरु तथा अन्य २२ वटा साना तथा ठूला खानेपानी योजनाको मर्मत गरिएको प्रतिवेदनमा उल्लेख छ । 

गाउँपालिकाले वडा नं ६ मा एउटा बृहत् सिँचाइ तथा विभिन्न वडामा १३ वटा सिँचाइ आयोजनाको मर्मत सम्पन्न भएका, छवटा लघुजलविद्युत्को मर्मत, गाउँपालिकास्तरीय खेलमैदान निर्माणका लागि वडा नं ६ बोझेधारामा डिपिआर सम्पन्न गरी निर्माण थालिएको र  अन्य साना र ठूला गरी आठवटा खेलमैदान निर्माण गरिएको जनाएको छ । 

गाउँपालिकाले ५३ किलोमिटर सडकको नयाँ ट्र्याक खालिएको, ६५ किलोमिटर सडक स्तरोन्नति,  ८० किलोमिटर सडकको डिपिआर तयार र ११ किलोमिटर गोरेटो बाटो निर्माण तथा मर्मत, पर्यटकीय क्षेत्रहरुको पहिचान गरी सूचीकृत ५२ मौलो निशानधाममा पर्यटकीय पूर्वाधार निर्माण गुरुयोजना तयार पारिएको, गाउँपालिकाले धार्मिक स्थलहरु, मठमन्दिरहरुमा पूर्वाधार निर्माण गरेको जनाएको छ । गाउँपालिकालाई नेपालकै सातौँ स्थानीय तहका रुपमा पूर्ण अनलाइन व्यक्तिगत घटना दर्ता गाउँपालिका घोषणा गरिएको छ । यहाँ सबै वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, छवटा मावि र १५ वटा आधारभूत विद्यालयमा शिक्षक र कर्मचारीको विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ । 

डिजिटल सूचना पाटी, डिजिटल नागरिक वडापत्र , गाउँपालिकाका सेवाहरुलाई प्रभावकारी बनाउन विद्युतीय प्रणालीको व्यवस्था ,घरधुरी सर्वेक्षण गरी वस्तुगत विवरण तयार तथा एकीकृत आवधिक योजनासमेत कार्यान्वयनमा ल्याइएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले सबै स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको स्थापना, दुईवटा स्वास्थ्यचौकीमा प्रयोगशाला सेवा सुरु, स्थानीय स्वास्थ्यचौकीहरुमा घुम्ती भिडियो एक्स–रे, जिल्लामा पहिलोपटक भौगोलिक विकटता र कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जान नसक्ने विद्यार्थीहरुका लागि च्याङथापूमा आवासीय विद्यालय सञ्चालनमा ल्याएको छ । 

यस्तै लैङ्गिक हिंसामा परेका महिलाहरुलाई सुरक्षित राख्न गाउँपालिकाका दुई स्थानमा सुरक्षित आवासको व्यवस्था गरिएको छ । किशोरीहरुलाई आत्मरक्षा तालीम दिइएको छ भने वडा नं ४ लाई बालमैत्री वडा घोषणा गरिएको छ ।  गाउँपालिका भित्रका १४६ जना व्यक्तिलाई अपाङ्गता पहिचान गरी परिचयपत्र वितरण गरिएको छ ।

गाउँपालिकाले निकट भविष्यमा कुष्ठरोगविहीन गाउँपालिका निर्माण गर्ने उद्देश्यसहित कार्य अघि बढाइरहेको उक्त विवरणमा उल्लेख छ । गाउँपालिकाले सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरी आवश्यक सामग्रीको प्रबन्ध गरेको छ भने मेलमिलाप कार्यका लागि ३५ जना मेलमिलापकर्ताहरुलाई ४८ घण्टे तालीम दिइएको छ । 

गाउँपालिकाले नर्सरी निर्माण गर्नाका साथै नर्सरीमा उत्पादित बिरुवा ५० प्रतिशत छुटमा वितरण थालेको छ । बेमौसमी तरकारी खेतीका लागि टनेल वितरण, कृषक पाठशाला सञ्चालन, अलैँचीमा लागेका रोग कीरा नियन्त्रणमा लगानी गरिएको छ । गाउँपालिकाले पशुहरुको कृत्रिम गर्भाधान सेवा, प्राविधिक सेवा विस्तार, गोठ सुधार कार्यक्रम सञ्चालन, व्यावसायिक फर्महरु विस्तार, मासु पसल सुधार, पशुनस्ल सुधारका कार्यक्रमसमेत सञ्चालन गरिएको जनाएको छ । 

याङवरक गाउँपालिकाले ५२ मौलो कालिकाधाममा पार्किङस्थल निर्माण, पोखरी सरसफाइ तथा घेराबारा निर्माण, निशान नचाई मार हान्ने स्थान निर्माण गरेको छ । याङवरक–१ स्थित लामपोखरीमा पर्यटकीय आवासगृह निर्माण र सडक निर्माण, तिम्बुपोखरी जाने सडक निर्माणको शुरुआत गरिएको छ । 

गाउँपालिकाभित्र सहकारीहरुको क्षमता अभिवृद्धि, लेखा व्यवस्थापन तालीम, सहकारी व्यवस्थापनमा सहयोग तथा नियमित अनुगमन गर्ने प्रणालीको विकास गरिएको छ । गाउँपालिकाले विपत् व्यवस्थापन कोष निर्माण गरी राहतको प्रबन्ध गर्ने गरेको छ । गाउँपालिकाले आवश्यक पर्ने ऐन तथा कार्यविधिहरु निर्माण गर्दै आएको जनाएको छ । गाउँपालिकाको सातौँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु ३४ करोड बजेटसहितको नीति तथा कार्यक्रम पारित गरेको प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप