बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दीमा ‘अपराध’को दागः एक महिनामा चार प्रहरी निरीक्षक निलम्बित

सशस्त्र र सेनाको पनि उस्तै हाल
आइतबार, १४ असार २०७७, ११ : ३९
आइतबार, १४ असार २०७७

जेठ २३ गते – सेवाग्राहीसँग घुस लिँदै गर्दा रुपन्देहीको इलाका प्रहरी कार्यालय रन्यौरामा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) केशवबहादुर बस्नेत १५ हजार घुस रकमसहित रंगेहात पक्राउ परे ।

असार ६ गतेः इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक राय ठेकेदार दुर्गा लामासँग १२ हजार घुस लिँदै गर्दा प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले रंगेहात पक्राउ गर्यो ।

असार १० गतेः हुण्डी कारोबारको १० लाख रूपैयाँ लुटेको आरोपमा महानगरीय अपराध महाशाखाले प्रहरी हवल्दार धिरेन विष्ट र जवान विक्रम चन्दलाई पक्राउ गर्यो । विष्ट काठमाडौँ प्रहरी प्रमुख एसएसपीको घुमुवा रहेको खुल्न आएको छ ।

असार ११ गतेः प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध कारोबारीसँग कनेक्सन देखिएको भन्दै ललितपुर परिसरमा कार्यरत प्रहरी निरीक्षक रुद्र शाहीलाई पक्राउ गर्यो । शाहीले जिल्ला अप्रेशन हेर्थे ।

असार १२ गतेः जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट ५० हजार घुस रकमसहित रंगेहात पक्राउ परे ।

असार १२ गतेः कर्तव्य र मर्यादा विपरित काम गरेको भन्दै २ नम्बर प्रदेश प्रहरी कार्यालयले २ प्रहरी सहायक निरीक्षक र १ प्रहरी जवानलाई निलम्बन नै गर्यो । हुण्डी कारोबारमा संलग्न रहेका व्यक्तिको आर्थिक प्रलोभनमा परि सघाएको प्रमाणित भएपछि निलम्बन गरिएको प्रहरीको भनाइ छ ।

यी प्रतिनिधिमुलक घटना मात्र हुन् । पछिल्लो समय कानुनको पालना गराउने प्रहरी नै अपराधमा संलग्न हुन थालेका छन् । एक महिनाको अन्तरालमा नै नेपाल प्रहरीका चारजना इन्सपेक्टर निलम्बन भएका छन् ।

राज्य कोषबाट लाखौं रुपैयाँ खर्च गरेर सर्वसाधारणको सुरक्षार्थ खटाइएका अधिकृत आफैं अपराधमा संलग्न हुने क्रम बढ्दो छ । यो समस्या राज्यका चार वटै सुरक्षा निकायमा देखिएको छ । लागूऔषध कारोबार, वन्यजन्तु तथा सुन तस्करी, अपहरण र फिरौती असूली, चोरीडकैतीसहित अन्य सामाजिक, आर्थिक र संगठित अपराधमा बर्दीधारीको दादागिरी बढ्दो छ ।

नेपाल प्रहरीले बर्दीको आडमा कुनै पनि प्रकारका अपराध स्वीकार्य नभएको स्पष्ट पारेको छ । नागरिकको जनधनको सुरक्षा र कानुन कार्यान्वयनमा समेत कसैसँग कुनै प्रकारको सम्झौता नहुने पनि प्रहरीको दावी छ । बर्दीको आडमा अपराध गरेका प्रहरी निलम्बनमा परेको खबर पनि आइरहेको छ । अपराध गर्न खोज्ने प्रहरीहरु हिरासत पुगेकै छन् । तर, यस्ता घटना वृद्धि भएसँगै संगठनको बद्नाम पनि उत्तिकै भइरहेको छ ।

सस्तो लोकप्रियताको लागि बर्दीको आडमा ‘हिरो बन्ने’ प्रवृत्ति संगठनमा मौलाएको एक पूर्वआईजीपी बताउँछन् । ‘राजनीतिक प्रभावमा र प्रतिशोधको भावनाले बर्दीको आडमा ‘फेक इन्काउन्टर’ गर्न पनि प्रहरी पछि हटको छैन,’ ती पूर्वआईजीपीको भनाइ थियो ।

बर्दीको धाक देखाउन पाउँदैन : अधिवक्ता त्रिपाठी

केही प्रहरीले इन्काउन्टरलाई बर्दीको धाक देखाउने माध्यम बनाएको अधिवक्ता दिनेश त्रिपाठीको बुझाइ छ । ‘प्रहरीले इन्काउन्टरका नाममा बर्दीको ढडास देखाउन पाउँदैन । तर, नेपालमा भएका इन्काउन्टरका घटना हेर्दा प्रहरीले बर्दीको ढडास देखाउन खोजेको जस्तो लाग्छ,’ त्रिपाठीले भने ।

पछिल्लो समय प्रहरीसँग कुनै पनि घटनाको प्रभावकारी अनुसन्धान गर्ने क्षमता घट्दै गएको सुरक्षाविज्ञको निष्कर्ष छ । अनुसन्धान गर्ने भन्दा पनि ‘ठोक्दिऊँ, सिध्याइदिऊँ’ भन्ने संस्कार प्रहरीमा हुर्किएको छ ।

कानुन कार्यान्वयनका क्रममा प्रहरीबाट समेत त्रुटी र कमीकमजोरी भएका र त्यसलाई सुधार गरेर अघि बढ्ने प्रहरी प्रवक्ता निरजबहादुर शाहीले बताए । ‘कानुन कार्यान्वयन गर्ने क्रममा हामीबाट पनि कमीकमजोरी भएका छन्, त्यसलाई सुधार गरेर अघि बढ्छौँ,’ प्रवक्ता शाहीले भने, ‘तर गम्भीर अपराधमा संलग्न सुरक्षाकर्मी वा सर्वसाधारण जोकोही पनि कानुनी दायरामा ल्याउँछौं ।’

तर, केही प्रहरी कर्मचारीका कारण सिंगो प्रहरी संगठनलाई नै बदनाम गरिनु नहुने शाहीको बुझाइ छ ।

किन गर्छन् प्रहरीले अपराध ?

अपराधिलाई कानुनको दायरामा ल्याउने नेपाल प्रहरीका कर्मचारी नै अपराधमा किन लागिरहन्छन ? सबैलाई चासोको विषय बनेको छ । एक लाख फौज रहेको प्रहरी संगठनभित्र केही प्रहरी कर्मचारीहरु व्यक्तिगत लोभलालच, महत्वकांक्षाका कारण आपराधिक क्रियाकलापमा लाग्ने गरेका हुन्छन् । प्रहरी संगठनभित्र विकृति बढ्नुको मुख्य कारण प्रहरी कर्मचारी लामो समयदेखि एकै ठाउँमा कार्यरत रहनु पनि एक रहेको सुरक्षा विज्ञहरु बताउँछन् ।

सेना पनि अछुतो छैन

२०७६ साउन २५ गतेः

कैलालीको धनगढी घर भइ नेपाली सेनाको पूर्वी पृतना इटहरीमा कार्यरत सेनानी अजितप्रताप सिंहलाई प्रहरीले ब्राउन सुगरसहित इटहरी–२ बाट पक्राउ गर्यो ।

२०७६ माघ १ गतेः

सेनाको सैनिक आवासीय महाविद्यालयमा प्रमुख हुँदा जवानहरुले खाने रासनमा अनियमितता गरेको आरोपमा महासेनानी भुपालमान अधिकारी पक्राउ परे ।

२०७७ जेठ १० गतेः

भ्रष्टाचारको आरोपमा सैनिक कल्याणकारी निर्देशनालयका प्रमुख सहायक रथी प्रयोगजंग राणा र सोही निर्देशनालयका महासेनानी नवीन सिलवाल पक्राउ परे ।

पछिल्ला दिनमा स्वास्थ्य सामग्रीमा सेनाले ठूलो भ्रष्टाचार गरेको समाचार लगातार आइरहेको छ । सेनाभित्रको आर्थिक अनुशासनमा पहिलो पटक प्रश्न उठेको होइन, विगतमा पनि सेनाको नेतृत्वमाथि पटक–पटक प्रश्न उठ्कै थिए ।

सशस्त्रमा कुटपिट

सशस्त्र प्रहरी बल, नेपालमा कमान्डरविरुद्ध मातहतका प्रहरी कर्मचारीले कुटपिट गर्ने क्रम बढ्न थालेको छ । लकडाउनको अवधिमा मात्रै कमान्डरमाथि दुई कार्यालयमा कुटपिट भयो । गत ८ वैशाखमा कपिलवस्तुको भैरहवामा सशस्त्र प्रहरीका डीएसपी मानबहादुर शाहीलाई मातहतका दुई सशस्त्र प्रहरी निरीक्षक दयाराम पौडेल र केशवराज भट्टराईले कुटपिट गरेका थिए ।

त्यस्तै २७ जेठमा भने कैलालीस्थित भुइयाफाँट बिओपी (बोर्डर आउट पोस्ट)का कमान्डर सशस्त्र प्रहरीका सई रामबहादुर टेरलाई सशस्त्र प्रहरी जवान जितेन्द्र भट्ट र दीपक बोगटीले कुटेका थिए ।

सशस्त्रमा प्रायः रासनको निहुँमा कुटपिट हुने गरेको पाइएको छ । यी माथिका दुवै घटनामा रासनको निहुँमा मादक पदार्थ सेवनपछि प्रहरी कर्मचारीले कमान्डरमाथि कुटपिट गरेका हुन् । कडा अनुशासन हुने र चेन अफ कमान्डमा चल्ने सुरक्षा निकायमा हुने यस्ता घटना संवेदनशील मानिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप