शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा बैठकमा वामदेवको प्रस्ताव : कालापानीबाट भारतीय सेना फिर्ता पठाऊ, महाकाली सन्धी गल्ती भनेर निर्णय गरौँ

शनिबार, १३ असार २०७७, १९ : ३७
शनिबार, १३ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा भरतसँगको सीमा विवाद समाधान गर्न औपचारिक अनौपचारिक दुवै उपायहरु अवलम्बन गर्नुपर्नेमा नेताहरुले जोड दिएका छन् । भारतले यस विषयमा वार्ता गर्न नै चासो नदेखाएको निश्कर्ष निकाल्दै बैठकमा सहभागी नेताहरुले अतिक्रमित भूमि समेटेर नक्सा निकालिसकेको अवस्थामा त्यसको भोगचलन गर्ने वातावरण बनाउन कुटनीतिक र राजनीतिकसहितका विकल्पबाट अघि बढ्नुपर्ने बताएका हुन् । 

त्यसका लागि थप पहल जरुरी रहेकाले त्यसतर्फ अघि बढ्न सिंगो राष्ट्र एक भएर अघि बढ्नुपर्नेमा नेताहरु एकमत रहेका छ । त्यसका लाग आफूसँग यथेस्ट प्रमाण तयारी अवस्थामा राख्ने, ती प्रमाणहरुबारे संयुक्त राष्ट्रसंघ लागायतका निकायलाई विज्ञहरुमार्फत जानकारी गराउने, इस्ट इण्डिया कम्पनीसँग भएको सम्झौताको खोजी गर्ने तथा नेपालले हालै जारी गरेको नेपालको नक्सा संयुक्त राष्ट्रसंघमा पुर्याउनु पर्नेमा नेताहरुले जोड दिएको स्थायी समिति सदस्य देवेन्द्र पौडेलले जानकारी दिए । 

भारतीय सेना फिर्ता पठाउन बामदेवको जोड

बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतमले सरकारले नक्सा अद्यावधिक गरेकोमा धन्यवाद दिँदै सीमाको विषय देशको साझा विषय भएकाले कसैले यताउता गर्न नहुने धारणा राखेका थिए । ‘कालापानी नेपालकै हो । नेपालको पश्चिमी सीमा पनि महाकाली नदी नै हो । त्यसकारण त्यो जमिन नेपालकै भएकाले कालापानीबाट भारतीय सेना फिर्ता गर्नतर्फ हामी लाग्नुपर्छ’, गौतमले भनेका थिए । 

‘कालापानीबाट भारतीय सेना कसरी फिर्ता गर्ने भन्नेमा नै हामी लाग्नुपर्छ’, गौतमको जोड थियो । 

उनले तत्कालीन एमालेमा हुँदा आफूले यहीँ अडान राख्दा पार्टी नै फुटेको स्मरण गर्दै उसवेला आफूले भनेको कुरा अहिले सत्य सावित भएको स्मरण गराएका थिए । उनले महाकाली सन्धी गल्ती थियो भनेर स्थायी समिति बैठकबाट निर्णय गराउन माग समेत गरेका छन् ।

त्यस्तै गौतमले भारतीय करेन्सीको मूल्य थपघट हुुनसक्ने र भौतिक बस्तु आदान प्रदानमा समस्या आउन सक्नेतर्फ सचेत रहुनपर्ने बताएका थिए । गौतमपछि बोलेका पूर्वअर्थमन्त्री समेत रहेका नेता सुरेन्द्र पाण्डेले त्यस्तो हुन दिनु नहुने र त्यसका लागि सचेत र सर्तक हुनुपर्ने जनाएका थिए । 

पाण्डेले सिमानामा तारवार लाउने भन्ने कुराले समस्या समाधान नुहेने भन्दै एउटै विषय भारतले अतिक्रमण गरेको जमिन कसरी प्रयोग गर्ने र त्यसका लागि कसरी बातावरण बनाउनुपर्ने भन्नेमा ध्यान दिनुपर्ने बताएका थिए । 

बैठकमा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पनि तारवार लगाउने वा अन्तराष्ट्रिय अदालत जाने अवस्था अहिले नै नभएको बताएका थिए । ‘अनौपचारिक रुपमा सवैतिर विज्ञहरु खटाएर लविग गरौ, संयुक्त राष्ट संघ, संयुक्त राष्ट संघको वडापत्र,अन्तराष्टिय महासन्धीहरु, चीन र भारतसँग भएको १९६१ र ६२ मा भएको सम्झौता खोजी गर्नुका साथै वार्ताका लागि भारतसँगको पहल जारी राख्नुपर्छ’,बैठकमा आफूले राखेको धराणाबारे पौडेलले रातोपाटीलाई बताए ।

शनिबारको बैठकमा २१ जना सदस्यहरुले सीमा समस्याबारे आआफ्नो धारणा राखेका थिए । बुधबारबाट सुरु भएको बैठकमा सचिवालयका नेताहरुमध्ये शुक्रबार प्रवक्ता नारायणकाजी श्रेष्ठले बोलेका थिए भने शनिबार उपाध्यक्ष गौतम र सदस्य ईश्वर पोखरेलले धारणा राखेका थिए ।

अर्को बैठक १६ गते बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए । नेकपा बैठकमा छलफलका लागि सातवटा एजेण्डा तय गरिएका छन् । 

अतिक्रमित भुमिबारे परराष्ट्रमन्त्रीको थप प्रस्टीकरण

शनिबार अतिक्रमित भुमि फिर्ता र त्यसक्रममा सरकारले अहिलेसम्म गरेका कामहरुबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले थप प्रस्ट पारेका थिए । उनले सरकार सुतेर नबसेको भन्दै गर्नुपर्ने पहल जारी राखेको जनाएका थिए । त्यसक्रममा उनले केही डाटा समेत पेश गरेका थिए । 

‘यो आरोप प्रत्यारोप गर्ने विषय होइन, साझा विषयमा सरकारले आफ्नोतर्फबाट गर्ने काम गरिरहेको छ । केही पनि गरेन भन्ने होइन, राष्टियताको विषय टुंग्याउन पाए हुन्थ्यो साच्चै भन्ने हो भने निद्रा नै लागेको छैन । सरकार सुतेर बसेको छैन,’मन्त्री ज्ञवालीले बैठकमा भनेका थिए, 'हामी सुतेका छैनौ, अधिकतम पहल भइरहेको छ, सरकारले केही गरेन भनेर आलोचना र खुइल्याएर पनि हुदैन ।'

मन्त्री ज्ञवालीसँग नेकपाका नेताहरुले भारतका मिडियाले जसरी राष्ट्रियताको सवालमा नेपालका मिडियाले भूमिका खेल्न नसकेको सन्दर्भमा पनि प्रश्न उठाएका थिए । उनीहरुको तर्फबाट जस्तो भूमिका खेलेका छन् नेपालका मिडियाले त्यति भूमिका खेल्न नसक्दा भारतलाई प्रेसर कम भएकोबारे बैठकमा छलफल भएको थियो ।

‘भारतीय मिडियाले जसरी भूमिका खेलका छन् । हाम्रोमा पनि त्यसरी भुमिका बढाउन सके भारत दवावमा पर्न बाध्य हुन्छ  । यो कुनै पार्टीको विषय नभएकाले मिडियाले पनि राष्ट्रको विषयमा त्यस्तो भूमिका खेलिदिए सहयोग पुग्ने,’ नेताहरुको भनाइ थियो ।

सलहबारे कुरै उठेन 

सत्तारुढ दल नेकपाको बैठक चलिरहेका बेला वाली नष्ट गर्ने कीरा सलह नेपाल प्रवेश गरेपनि त्यसबारे प्रसंग नै उठेन । स्थायी समिति सदस्य बेदुराम भुषालले सलहबारे कुनै छलफल नभएको रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप