केन्द्रीय संस्करण

सङ्कटको भूमरीमा नेपाली समाज

person explore access_timeअसार १३, २०७७ chat_bubble_outline0

विगत छ महिनादेखि मानव समाजलाई चुनौती दिने अर्थात् कोरोना भाइरसका कारण सिङ्गो विश्व अस्तव्यस्त अवस्थामा पुगेको छ । विश्वका झण्डै पाँच लाख मान्छेको मृत्युको कारण बनेको यस रोगबाट लगभग एक करोड  मान्छे सङ्क्रमित भइसकेका छन् ।

बाँकी सबै मान्छे सङ्क्रमणको त्रासदीमा जीवन व्यतित गर्न बाध्य भएका छन् । झन्डै आधा विश्व लकडाउनका कारण करिब बन्द अवस्थामा छ भने खुलेको बाँकी विश्व पनि निर्धक्क भएर आफ्ना गतिविधि गर्न सक्ने अवस्थामा छैन । विश्वमा देखापरेको यो महाविपत्तिबाट मुक्त हुने कुनै निश्चित समयावधि वा रोगको औषधि हालसम्म फेला परिसकेको छैन । यसले पनि मनोवैज्ञानिक रूपमा सिङ्गो विश्वलाई अत्यन्त ठूलो तनाव सिर्जना भएको छ । 

 उच्च सतर्कतासहित युरोपमा दर्शकबिनै रङ्गशालामा सञ्चालन गरिएको फुटबल बाहेक संसारभर सबैखाले खेलकुद तथा मनोरञ्जनका कार्यक्रम बन्द अवस्थामा छन् । मान्छेको जमघट भएर गरिने सबै खालका कार्यक्रमहरू ठप्प भएका छन् । उद्योगधन्दा कलकारखाना बन्द भएका छन् । पर्यटन क्षेत्रमा हुने गतिविधिहरू पूर्णतया रोकिएका छन् । विश्वविद्यालय र विद्यालयहरू करिब बन्द नै भएका छन् । संसारभर हुने विभिन्न किसिमका राजनीतिक गतिविधिहरू प्रायः बन्द अवस्थामा छन् । ठूला धार्मिक गतिविधिहरू समेत सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सीमित गरिएको छ । विभिन्न चाडपर्व र मेलामा हुने परम्परागत जमघट पनि अत्यन्त सीमित गरिएको छ । मानवीय गतिविधि र सामाजिक परम्परा महामारीको कारण सम्पूर्ण हिसाबले बदलिएको छ । 

यो महामारी र विपत्तिको सामना गर्न विभिन्न देश, समाज र व्यक्तिले आआफ्ना तरिका अवलम्बन गरिरहेका छन् । सबैभन्दा पहिले सङ्क्रमण देखापरेको चीनले आफ्ना सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर रोगलाई करिब करिब नियन्त्रण गरिसकेको छ । आम जनताको सक्रिय सहभागिता, सचेतता र अनुशासनको उचित संयोजन गरेर चीनले उक्त सफलता हासिल गरेको हो । शक्तिशाली चिनियाँ कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वकर्ता राष्ट्रपति सी चिनफिङले यो विश्व सङ्कटमा आफ्नो सफलतालाई राम्रोसँग पुष्टि गरेका छन् । यो सामान्य परिघटना होइन । सही विचार, दृष्टिकोण र नेतृत्वको समायोजन नभई यस किसिमको सफलता हासिल गर्न असम्भव हुन्छ । आज संसारभर चीनको यो सफलताले निकै चर्चा पाइरहेको छ । 

यो सङ्क्रमणलाई सुरुवातमा नजरअन्दाज गर्ने पश्चिमा शक्तिहरू आज निकै सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । पुँजीको विकास र समृद्धिको जतिसुकै शिखर चढे पनि उपयुक्त राजनीतिक प्रणाली र सक्षम नेतृत्व भएन भने त्यो देश र समाजले इतिहासका सङ्कटपूर्ण घडीमा ठूलो मूल्य चुकाउनुपर्ने परिस्थितिको विकास हुन्छ । आज उनीहरूलाई त्यही भइरहेको छ । विशेषगरी अमेरिकाको हकमा यो महामारी आन्तरिक र बाह्य दुवै दृष्टिले निकै ठूलो मूल्य चुकाउनुपर्ने स्थिति देखापरेको छ । महामारी नियन्त्रणमा अमेरिकी सरकारले लिएको नीति निष्प्रभावी भइरहेको छ । सँगसँगै आन्तरिक रूपमा जनतामाथि थोपरिएको विभेदविरुद्ध लाखौँ मान्छे आन्दोलित भएर उठिरहेका छन् । बाह्य रूपमा विश्व स्वास्थ्य सङ्गठनमा रहेको उसको प्रभाव करिब अन्तिम अवस्थामा पुगेको छ । 

सङ्क्रमण र मृत्युदरको अवस्था हेर्दा युरोपमा पनि निकै समस्या देखिन्छ । आर्थिक र सामाजिक हिसाबले बलिया र सम्पन्न भए पनि रोग नियन्त्रणमा गरिएका पहलकदमी हेर्दा युरोप पनि सङ्कटपूर्ण अवस्थामा पुगेको देखिन्छ । त्यही सङ्कटको कारण आज युरोपियन युनियन माथिसमेत गम्भीर रूपमा प्रश्नचिन्ह खडा भएको छ । बरु दक्षिण अमेरिकी मुलुकहरू तुलनात्मक रूपमा रोग नियन्त्रण गर्न र आफ्ना नागरिकलाई सुरक्षित राख्न सफल जस्तो देखिन्छ । जे होस् विकसित देशहरूमा समस्या भनेको महामारी र त्यसबाट नागरिकहरूलाई कसरी बचाउने भन्ने नै हो । त्यसले सामाजिक जीवनका धेरै पाटामा खासै ठूलो सङ्कट ल्याउने देखिँदैन । आर्थिक मन्दी र बेरोजगारीको समस्या केही समय ती देशहरूमा पनि देखिन सक्छ । तर पनि अन्य रोगहरूको उपचार र भोकमरी जस्ता समस्याको सामना गर्न भने ती देशहरू अझै सक्षम छन् ।

यता दक्षिण एसियामा जुन किसिमको सङ्क्रमणको अवस्था देखिएको छ त्यसबाट हालसम्म त्यति ठूलो भयावह स्थिति सिर्जना भइसकेको छैन । भूगोल र जनसङ्ख्याको हिसाबले ठूलो भारतमा नै अलि बढी समस्या देखिएको छ । ठूला उद्योगधन्दा बन्द भएका छन् । विकास निर्माणका काम रोकिएका छन् । ठूलो सङ्ख्यामा नागरिकहरूको रोजगारी गुमेको छ । यति हुँदाहुँदै पनि रोग नियन्त्रणका प्रयत्न निरन्तर जारी राखेको छ । सरकारले जनतालाई दिने राहत प्याकेज सार्वजनिक भइरहेका छन् । बीस करोडभन्दा बढी गरिब भएको देशमा महामारीका कारण उत्पन्न हुने समस्या अनुमान गर्न सुरु गरिएको छ । भारतमा आन्तरिक समस्या त छँदैछ त्योभन्दा बढी उसको छिमेकी राष्ट्रहरूसँगको सम्बन्धका कारण समस्या जटिल हुने देखिन्छ । पाकिस्तानसँगको तनाव त छँदै थियो माहामारीपश्चात नेपाल र चीनसँग सीमा विवादका कारण उत्पन्न समस्याले भारतलाई चुनौती अझै बढी थपिएको छ ।

 चीनमा सङ्क्रमण देखिने बित्तिकै जुन गम्भीरताका साथ सजगता अपनाउनुपथ्र्याे, त्यो कुरामा कमी रह्यो । उहानबाट विद्यार्थीहरूलाई उद्धार गर्दा सरकारले जुन गम्भीरता र जिम्मेवारीबोध प्रस्तुत गरेको थियो त्यो सम्पूर्ण क्षेत्रमा देखा परेको भए उपयुक्त हुने थियो । जुन समयमा लकडाउन घोषणा गरियो त्यसबेला नेपालमा सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानमार्फत सङ्क्रमितहरू प्रवेश गरेका थिए । त्यसलाई मात्रै नियन्त्रण गरेर पछि आउने नागरिकलाई व्यवस्थित तरिकाले ल्याएको भए समस्या यति विकराल हुने थिएन । लकडाउन गरेको तीन महिनापश्चात एकातिर खोल्नुपर्ने अवस्था छ भने अर्काेतिर सङ्क्रमण व्यापक रूपमा देखापरेको छ । यसले गर्दा सरकारलाई के गर्ने भन्ने अन्योल अवस्थामा पुर्याएको देखिन्छ । 

सङ्क्रमण र यसको विश्वव्यापी प्रभाव अनुमान गरेर सुरुमा जुन किसिमको तयारी गर्नुपथ्र्याे त्यसमा सरकार चुकेको देखिन्छ । लकडाउन बाहेकका बाँकी तयारीका कामहरू पनि गम्भीरतापूर्वक गरेको देखिएन । देशका विभिन्न ठाउँबाट आफ्नो घर जान हिँडेका मजदुरहरूले भोगेका अथाह दुस्ख,कष्ट र पीडा कम गर्न सकिन्थ्यो । त्यतातिर खासै राज्यको ध्यान गएन । नेपाली किसानहरूले उत्पादन गरेका फलफूल तथा तरकारी बारीमै सड्ने स्थिति आयो । लाखौँ श्रमिकको रोजगारी गुम्यो । व्यापार, व्यवसाय सञ्चालन गरेका र त्यसमा आश्रित लाखौँ मानिस बन्दका कारण चरम आर्थिक सङ्कट झेलिरहेका छन् । झण्डै तीन महिनासम्मको लकडाउनपश्चात आम नागरिकलाई रोगको भन्दा पनि अनिश्चित भविष्यको चिन्ताले निकै ठूलो पीडा दिइरहेको छ ।

रोजगारीको सिलसिलामा विदेशमा भएका लाखौँ नेपाली घर फर्किने समयको पर्खाइमा छन् । उनीहरूलाई स्वदेश फिर्ता गर्ने जुन किसिमको तत्परता देखिनुपथ्र्याे त्यो अझै देखिएको छैन । उता रोजगारी गुमाउनुको दुःख त छँदैछ यता विपत्तिको घडीमा आफ्ना परिवारको साथमा नहुनु पनि कम पीडाको विषय होइन । भारतबाट आएका श्रमिकहरूलाई अव्यवस्थित क्वारेन्टाइनमा राखेर जुन किसिमको दुःख भयो र त्योभन्दा बढी समयमै परीक्षण नहुँदा रोगको सङ्क्रमण फैलिएर कष्टदायी भयो । आज पनि देशका विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा स्वास्थ्य सामग्री उपलब्ध हुन सकेका छैनन् । निजी अस्पतालहरूले देखाएको गैरजिम्मेवारीपना र सरकारी तयारीको स्थिति हेर्दा कोरोना मात्र होइन अन्य रोग लागेका बिरामीले समेत उपचार पाउन गाह्रो भइरहेको छ ।

महामारी अन्त्य हुने कुनै लक्षण देखा परेको छैन । यो अनिश्चित भविष्यको यात्रामा आफ्ना बालबालिकाहरूको पठनपाठन कहिलेदेखि सुचारु हुने निश्चित छैन । सरकारले भर्खरै दूरशिक्षाको कार्यक्रम सञ्चालन गर्न खोजिरहेको छ । तर ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश विद्यार्थी र अभिभावकको सञ्चार माध्यममा पहुँच छैन । सहरतिरका अधिकांश अभिभावकलाई निजी शैक्षिक संस्थाले विपतको यो घडीमा शुल्क तिर्नका लागि दबाब सिर्जना गरिरहेका छन् । बैङ्क तथा वित्तीय संस्थाले ब्याजका लागि ताकेता गरिरहेका छन् । सरकारले पनि कर तिर्नका लागि बारम्बार दबाब सिर्जना गरिरहेको छ । यस्तो बेला आफ्ना दैनिक आवश्यकता पूर्ति गर्ने चुनौती त छँदैछन् थपिएका यस्ता समस्याले जनजीवन थप कष्टकर बनाइरहेका छन् । यसरी नेपाली समाज महामारी भन्दा पनि अन्य समस्याले दिनप्रतिदिन सङ्कटग्रस्त हुँदै गइरहेको छ । 

मानवीय सङ्कटको यो जटिल अवस्थामा सरकारले जनताप्रतिको जिम्मेवारी थप गम्भीरताका साथ निर्वाह गर्नुपर्दछ । तर तीनै तहका सरकारको भूमिका हेर्दा त्यो कुराको अनुभूति जनताले गर्न सकेको स्थिति छैन । स्वास्थ्य सामग्री खरिदमा भएका अनियमितताबारे समाचार आइरहेका छन् । आइसोलेसन र क्वारेन्टाइन निर्माणमा भएका अनियमितताका घटनाहरू पनि देखिरहेका छन् । केही राम्रा काम नभएका भने होइनन् तर समग्रमा हेर्दा जनताप्रति सरकारी व्यवहार र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धताको खिल्ली उड्ने गरी देखापरेका यस्ताखाले गतिविधिले समाजलाई मात्रै होइन देशलाई नै सङ्कटको भुमरीमा धकेल्ने निश्चित छ । 

हालै नेपालको भूमि कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरियो । उक्त नक्सा जारी गर्ने क्रममा देखापरेको राष्ट्रिय एकताले केही हदसम्म सकारात्मक सन्देश प्रवाह गर्याे । लगत्तै नागरिकतासम्बन्धी विवाद पनि बहुमतद्वारा किनारा लगाइयो । लकडाउनको अवधिमा पनि विकास निर्माणका कामहरू छिटफुट रूपमा अघि बढे । स्वास्थ्य सामग्रीहरू पनि विस्तारै आपूर्ति हुँदै गइरहेका छन् । तर समस्या यति धेरै जटिल र विशाल छन् कि सामान्य सरकारी पहलबाट समाधान हुने कुनै सम्भावना देखिँदैन । तत्काल देखापर्ने भोकमरी, बेरोजगारी र स्वास्थ्य समस्याको समाधान निकाल्नका लागि जिम्मेवार सरकारी पहल हुन जरुरी छ । त्यसैले सरकार नागरिकप्रति जिम्मेवार र जवाफदेही भन्ने पर्दछ । अन्यथा नेपाली समाज सङ्कटको भुमरीमा त पर्ने नै छ त्यसले सरकारको विकल्प पनि खोज्ने निश्चित छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.