मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मनपरी औषधि सेवन गर्दा ज्यान जोखिममा

शनिबार, १३ असार २०७७, १३ : ०३
शनिबार, १३ असार २०७७

बाजुरा जिल्लाको बूढीगङ्गा नगरपालिका– ४ बानेगाँउ बस्ने दीपा लुवार स्थानीय मेडिकलको औषधि सेवन गर्दा जोखिमा परेकी छिन् । परामर्श नलिइकन निजी मेडिकलबाट गर्भपतनको औषधि खाएकाले उनको ज्यान जोखिममा परेको हो । हाल उहाँ अछामको बयलपाटा अस्पतालमा जीवन मरणको दोसाधमा छटपटाइहेकी छिन् ।

दीपाले बुधबार स्थानीय मेडिकलबाट गर्भ तुहाउने औषधि लिएर घरमै खाएकी थिइन् । खाएको केही समयमै उनको अत्यधिक रक्तश्राव भएको थियो । अवस्था गम्भीर हुँदै गएपछि उनी टाँटे स्वास्थ्यचौकीमा उपचार गराउन आएको र त्यो समयसम्म उनलाई अत्यधिक रक्तश्राव भएका कारणले त्यहाँ उपचार सम्भव नभएपछि अछामको बयालपाटा अस्पताल लगिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले जानकारी दिए ।

अहिले उनको अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् । उनलाई चार पिन्ट रगत दिइएको अस्पतालले जनाएको छ । औषधि सेवनपछि अत्यधिक रक्तश्राव भएका कारण उनमा अहिले रक्तअल्पता भएका कारण ज्यान निकै जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । 

गर्भपतन वा सुत्केरी महिलामा हेमोग्लोबिनको मात्रा घटेमा ज्यान जोखिम हुने स्वास्थ्यकर्मीको भनाइ छ । दीपाले औषधि किनेको टाँटे स्वास्थ्यचौकीसँगै जोडिएको एक मेडिकलबाट किनेर खाएको बुझिएको छ । तर, त्यही टाँटे स्वास्थ्यचौकी सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएको छ । उनलाई त्यो जानकारी हुँदाहुँदै पनि मेडिकलबाटै औषधि किनेर खाएको एक स्वास्थ्यकर्मीले बताएका छन् ।

दीपाजस्तै बाजुरामा धेरै महिला यसरी गैरकानूनी रुपमा गर्भपतन गरिरहेका छन् । सुरक्षित गर्भपतन गर्नका लागि सरकारले कानूनी व्यवस्था गरेको भए पनि बाजुरामा भने त्यसको खासै प्रयोग नभएको पाइएको छ । अनुमति नलिएका पसलबाट गर्भपतन गराउने धन्दा बढ्दै गएको छ । जसका कारण महिलाको स्वास्थ्य जोखिम बन्दै गएको सुरक्षित गर्भपतन सेवाका कार्यक्रम संयोजक सरिता थापाले बताइन् ।

गर्भपतन गराउन नर्स, डाक्टरले तालीम लिएको हुनुपर्छ । त्यसैगरी गर्भपतन गराउने स्वास्थ्य संस्था पनि सूचीकृत भएको हुनुपर्छ तर त्यो नभई मनोमानी रुपमा गर्भपतन भइरहेको जिल्ला अस्पताल बाजुराकी स्टाफ नर्स धर्मा रोकायाले बताइन् । कानुनमा १२ हप्तासम्मको मात्रै गर्भपतन गराउन पाइन्छ । 
‘सुरक्षित गर्भपतन सेवा विस्तार रणनीतिक तथा कार्य सञ्चालन सेवा निर्देशिका २०६६’ अनुसार स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाबाट गर्भपतन सेवा प्रदान गर्ने व्यक्ति र संस्था दुवैले प्रमाणपत्र लिएका हुनुपर्छ तर गाउँमा खोलिएका औषधि पसलबाट अदक्ष जनशक्तिका भरमा गर्भपतन गराउने काम भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप