

–प्रकाश आचार्य
हिर्काऊ बेतोडले मेरो टाउकोमा
र खल्बल्याइदेऊ मस्तिष्क
बरु बसुँला बौलाउँदै
हिर्काऊ बेस्सरी शरीरमा
र बनाइदेऊ रक्तमुछेल
सहुँला दुखाइ चुपचाप ।
झिकिदेऊ आँखाहरु
र बनाइदेऊ दृष्टिविहीन
नहेरुँला यो ब्रह्माण्ड
झिकिदेऊ आधा फोक्सो
र बनाइदेऊ दीर्घरोगी
फेरुँला आधै श्वास ।
काटिदेऊ हात–खुट्टाहरु
र बनाइदेऊ अपाहिज
नटेकुँला धर्ती
नछोउँला माटो ।
तर खबरदार !
समाजले अछुत भनेकै निहुँमा
(म) लाई अल्पआयुमै मार्न नखोज
किनकि–
विक्षिप्त
दृष्टिविहीन
रोगी
अपाहिज
अनि घाइते नै बने पनि
या तिमीले भनेझैँ दलित नै भए पनि
तिमी जस्तै नागरिकको हैसियतमा
बाँँच्ने अधिकार मेरो पनि छ यो देशमा
र त भनिरहेछु (म) लाई बाँच्न देऊ
म मेरो पूरा आयु बाँच्न चाहन्छु ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ